बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बामदेव खासमा किन सांसद बन्न चाहन्छन् ?

मङ्गलबार, १२ भदौ २०७५, ११ : ५६
मङ्गलबार, १२ भदौ २०७५

काठमाडौँ– सचिवालय सदस्य बामदेव गौतमलाई उपचुनाव लडाएर संसद प्रवेश गराउने विषयमा नेपाल कम्युष्टि पार्टी (नेकपा) भित्र आन्तरिक संवाद सुरु भएको छ । नेता गौतमलाई डोल्पाबाट चुनाव लडाउने विषयले नेकपाको सचिवालयमा प्रवेश पाएको छ तर औपचारिक निर्णय हुन चाहिँ बाँकी छ । गौतम बामगठबन्धन र एमाले–माओवादी सूत्रधारमध्येका एक नेता हुन् । नेकपाको उच्च स्रोतका अनुसार बामदेव दुई कारणले चुनाव लड्न चाहन्छन् । 

कारण १– पार्टीलाई नै जवाफ
तत्कालीन बामगठबन्धनको तर्फबाट साझा उम्मेदवारका रूपमा बर्दिया–१ बाट चुनाव लडेका गौतम काँग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका थिए । नेकपाका सचिवालयमा गौतम र नारायणकाजी श्रेष्ठ मात्रै सांसद छैनन् । श्रेष्ठ गोरखा–२ मा बाबुराम भट्टराईसँग पराजित भएका थिए ।   

त्यसपछि नेता गौतमले अन्तर्घातका कारण आफूले चुनाव हार्नुपरेको बताएका थिए । नेता गौतमले यस्तो बताएपछि तत्कालीन एमालेले छानविन समिति पनि बनाएको थियो । तर उक्त समितिको विस्तृत प्रतिवेदन भने बाहिर आएन । 

नेता गौतम अन्तर्घात गरेर आफूलाई हराउने नेता–कार्यकर्तालाई चुनाव जितेरै देखाउन चाहन्छन् । ‘उहाँ (बामदेव) मा चुनाव जितेरै सांसद हुने मन छ । यो अन्तर्घात गर्नेलाई जवाफ पनि हुन्छ भन्ने उहाँको बुझाइ छ ।’ नेकपा सचिवालयका एक सदस्यले रातोपाटीसँग भने । 

कारण २– प्रधानमन्त्री बन्ने इच्छा
नेकपाका उच्च स्रोतले बताएअनुसार गौतम प्रतिनिधिसभाकै सदस्य बन्नका लागि इच्छुक हुनुमा उनमा प्रधानमन्त्री बन्ने अपेक्षाले पनि काम गरेको छ । मन्त्री हुन राष्ट्रियसभाको सदस्य भए पनि हुन्छ तर प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभाकै सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । ‘भविष्यमा प्रधानमन्त्रीको सम्भावना हुन आफू पनि दौडमा रहन सकियोस् भनेर उहाँले प्रत्यक्ष चुनाव लडेर संसदमा प्रवेश गर्ने मन बनाउनु भएको छ ।’ बामदेव निकट मानिने तत्कालीन एमालेका एक नेताले बताए । 

तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले एक पटक संसदमै तत्कालीन एमालेभित्र आफूले धेरै नेतालाई प्रधानमन्त्री बनाएको, अब शीर्ष नेतामध्ये एक जना रहेको र उनी पनि भविष्यमा प्रधानमन्त्री बन्न सक्ने बताएका थिए । त्यसपछि एक पत्रिकालाई दिएको अन्तरवार्तामा नेता गौतमले पनि आफू भविष्यमा प्रधानमन्त्री बन्न सक्ने बताएका छन् । 

पार्टीभित्र के–के छलफल भएको छ ?
नेकपाका सचिवालयका एक सदस्यका अनुसार बामदेवलाई चुनाव लडाउने विषयमा पार्टीको सचिवालयमा छलफल सुरु भइसकेको छ । सचिवालय बैठकमा चुनाव लड्दा जितको सुनिश्चताको विषयमा पनि छलफल भएको ती नेताले बताए । सचिवालयको बैठकमा डोल्पा नै किन ? भन्ने विषयमा पनि छलफल भएको थियो । ‘उमेर, स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै डोल्पा कठिन हुन सक्छ । अलि सहरी क्षेत्रबाट चुनावमा उठ्दा सहज होला भन्ने दोस्रो विकल्पको सुझाव पनि दिएका छौँ, ती नेताले भने ‘तर उहाँको चाहना डोल्पा नै छ ।’

यसबाहेक प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री धनबहादुर बुढासँग एक्लाएक्लै भेट गरेर बामदेवलाई चुनाव लडाउने विषयमा छलफलसमेत गरिसकेका छन् । यस्तो भेटमा बुढाले आफूले पार्टीको निर्णय स्वीकार गर्ने बताएका छन् । 

बामदेवको चाहना के ?
बामदेवको इच्छा र बुढाले पार्टी निर्णय स्वीकार गर्ने बताए पनि नेकपाभित्र भने यसबारमा निर्णय हुन बाँकी छ । नेता गौतम पार्टीले चाँडै निर्णय गरे चुनावी तयारीमा जुट्न सकिने विश्वासमा छन् । सकेसम्म कात्तिकभित्रै चुनाव भए चुनावी प्रचारमा मौसमले साथ दिने र त्यसभन्दा ढिला भए उच्च हिमाली भेगमा रहेको डोल्पामा चिसोले चुनावी कार्यक्रम प्रभावित हुने गौतमको भनाइ रहेको ती नेताले बताए । ‘चाँडो निर्णय होस् भन्ने उहाँको चाहना छ ।’ ती नेताले भने । डोल्पा भूगोलको हिसाबले सबैभन्दा ठूलो जिल्ला हो । यद्यपि नेता गौतम मौन छन् । औपचारिक निर्णय नहुँदासम्म उनी बोल्न चाहेनन् । 

बुढालाई मन्त्री बनाउँदाका शर्त
डोल्पाबाट निर्वाचित सांसद बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री छन् । तत्कालीन एमाले निकट स्रोतका अनुसार बुढालाई नेता गौतमको चाहनामा राज्य मन्त्री बनाइएको हो । त्यसअघि बुढाले गौतमकै चाहनामा डोल्पाबाट चुनाव लड्ने अवसर पाएका थिए । ‘बुढाजीलाई सिट खाली गर्ने शर्तमा राज्य मन्त्री बनाइएको रहेछ । त्यसैअनुसार उहाँले पार्टी निर्णय मान्नु भन्नुभएको छ ।’ नेकपाको उच्च स्रोतले भन्यो । संसद सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री पदमा बस्न पाइने संवैधानिक व्यवस्था छ । गौतमका छोरा र मन्त्री बुढा व्यावसायिक साझेदार पनि रहेको बताइएको छ । 

तर कतै विरोधको स्वर पनि छ
बुढालाई हटाएर वामदेव गौतमलाई चुनाव लडाउन थालिएको भन्दै कतिपय वृत्तमा यसको विरोध पनि सुरु भएको छ । गत साउन १८ गते डोल्पाका केही युवाले आफ्ना सांसद बुढालाई पदबाट राजीनामा गराउने खेल भइरहेको भन्दै आपत्ति जनाएका थिए । उनीपरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी सांसद बुढाले डोल्पाली जनताको विश्वास जितेको र उनलाई पाँच वर्षसम्म काम गर्न दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतृत्वको ध्यानाकर्षण पनि गराएका थिए । नेता गौमतले भने यस्तो विरोधमा पार्टीभित्रैकै आफू विरोधी नेताहरूको हात रहेको आशङ्का गरेका छन् । 

बुढाले २०७४ को प्रतिनिधिसभाको चुनावमा फराकिले मतले काँग्रेस उम्मेदवारलाई पराजित गरेका थिए । बुढाको पक्षमा ११ हजार सात ६१ मत आउँदा काँग्रेस उम्मेदवार अङ्गदकुमार बुढाले तीन हजार एक सय ६६ मत मात्रै पाएका थिए । बुढा २०७० को दोस्रो संविधानसभामा पनि डोल्पाबाट निर्वाचित भएका थिए । 

तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन आफ्नो हातमा लिएपछि बुढा तत्कालीन डोल्पा जिल्ला विकास समितिको सभापतिमा मनोनित भएका थिए । पछि २०७० मा उनी एमाले प्रवेश गरेका थिए । बुढाको आर्थिक पृष्ठभूमि भने बलियो मानिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप