शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार घटनाका पीडितलाई राहत उपलब्ध गराउनुपर्छ

सोमबार, ११ भदौ २०७५, २१ : ४२
सोमबार, ११ भदौ २०७५

धनगढी । प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकको विशेष समयमा बोल्ने अधिकांश सदस्यले कैलाली र कञ्चनपुरमा बलात्कारपछि भएका हत्याको घटनाका पीडित पक्षलाई राहत एवं क्षतिपूर्ति उपलब्ध गराउन सभा र सरकारको ध्यानाकर्षण गराएका छन् । 

उनीहरुले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने दोषीलाई कारबाही गर्न माग गर्दै गरिएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सनी खुनाको मृत्यु भएको घटना दुःखद् भएको बताए । बलात्कार र हत्या घटना भएको झण्डै एक महिनासम्म पनि दोषीलाई पक्राउ गर्न नसक्नुमा सरकारको कमजोरी रहेको आरोप पनि उनीहरुले लगाए । 

उनीहरुले समाजमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्न नसकिए सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै जनताले प्रश्न उठाउन सक्नेतर्फ सरकार सचेत हुनुपर्नेमा जोड दिए । 

यसरी जोड दिइनेमा सदस्य कृष्णबहादुर चौधरी, डा रणबहादुर रावल र महेशदत्त जोशी छन् । 

बैठकको विशेष समय र शून्य समयमा उठाइएका प्रश्नको जवाफ दिदैं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले अपराधीलाई दण्डित गर्न, पीडितलाई राहत दिन र शान्ति सुव्यवस्था कायम राख्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । 

मन्त्री शाहले कञ्चनपुरकी निर्मला पन्त र सनी खुना तथा गएको असारमा बलात्कारपछि हत्या गरिएकी कैलाली गौरीगङ्गा नगरपालिकाकी–२१ वर्षीया माया विकको परिवारलाई जनही रु पाँच लाख राहत दिने निर्णय प्रदेश सरकारले गरिसकेको जानकारी दिए । 

प्रदेशको कर तथा गैर कर लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठायोस् भनी आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले राखेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । 

यसैगरी मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई सम्बन्धित समितिमा छलफलका लागि पठाइयोस् भनी मन्त्री बोहराले प्रस्तुत गरेको प्रस्तावलाई पनि बैठकले स्वीकृत गरेको छ । प्रदेशसभाको अर्को बैठक सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप