'बिमस्टेकलाई सार्कको विकल्प बनाइनुहुन्न'
काठमाडौँ । यहि भदौ १४ र १५ गते नेपालमा प्राविधिक र आर्थिक सहयोगको लागि बङ्गालको खाडीको प्रयास (विमस्टेक) सम्मेलन हुँदैछ । सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको सरकारले जनाएको छ । बिमस्टेकको अध्यक्षता अहिले नेपालले नै गरिरहेको छ । कतिपयले बिमस्टेकलाई सार्कको विकल्पको रुपमा उदाएको भन्दै टिप्पणी गरिरहेका छन् भने कतिपयले भारतले पाकिस्तानलाई एक्ल्याउने प्रयास स्वरुप सार्कलाई खासै महत्व नदिइ दक्षिण पुर्वी एसियाको संगठनलाई बढी सक्रिय बनाउन खोजेको आरोप लगाएका छन् । सार्कले प्रभावकारी रुपमा काम गर्न नसक्दा त्यसको विकल्पको रुपमा पनि बिमस्टेक सक्रिय हुन थालेको टिप्पणी विभिन्न ठाउँबाट हुन थालेको छ । बिमस्टेकबाट नेपाललाई चाहि फाइदा के छ ? यसमा नेपाल कस्तो रुपमा प्रस्तुत हुनुपर्छ भनेर अर्थविद तथा परराष्ट्रविदसँग कुराकानी गरिएको छ । प्रस्तुत छ उनीहरुसँग गरिएको कुराकानीको अंश :
बिमस्टेक देशको लगानी नेपाल भित्र्याएर फाइदा लिन सकिन्छ ः डा. शंकर शर्मा, अर्थविद
नेपालले बिमस्टेक राष्ट्रसँग उर्जा, व्यापार लगानी लगायतका क्षेत्रबाट फाइदा लिने प्रशस्तै आधारहरु छन् । तर, यसमा नेपाल कसरी प्रस्तुत हुन्छ, लगानी भित्र्याउन बिमस्टेकका अरु ६ राष्ट्रलाई कसरी प्रतिबद्ध बनाउछ भन्ने विषयले महत्व राख्छ । अहिलेको जल्दोबल्दो विषय भनेको बिमस्टेकमा हुने भनिएको सम्झौता उर्जा विकासको लागि ग्रिड सम्झौता हो । सम्झौता मात्र भएर हुँदैन उर्जाको व्यापारको विषयमा पनि कुरा उठाउनु पर्छ । अबको दुई वर्षमा नेपालको उर्जा बचतमा जान्छ । यसकारण यसको व्यापार कसरी गर्ने भन्ने विषयमा नेपालको ठोस नीति हुनु आवश्यक छ । ग्रिड कनेक्सन कहिलेसम्म गर्ने भनेर समय नै तोकेर त्यही अनुसार बिमस्टेक राष्ट्रहरुलाई प्रतिबद्ध बनाउनुपर्छ । यो अवधिभित्र हामीले जसरी पनि काम सक्नुपर्छ भन्ने अवगत गराउनुपर्छ ।
अहिले नेपालले तत्काल फाइदा लिने क्षेत्र भनेको बुद्धिस्ट सर्किट हो । यसका पनि एक्सन प्लान बनाएर नेपालले लिड गर्नुपर्छ । बिमस्टेक राष्ट्रबाट नेपालले के फाइदा लिनसक्छ भन्ने विषय नेपालकै हातमा छ । ऊ कसरी प्रस्तुत हुन्छ सोही अनुसार फाइदा–बेफाइदाहरु उब्जन्छन् ।
यस्तै नेपालले अरु राष्ट्रसँग व्यापार गर्न सक्तैन तर ती देशबाट लगानी भित्र्याउन भने सक्छ । थाइल्याण्डकै कुरा गर्नुहुन्छ भने सो ठाउँबाट ११ अर्बको आयात भएको छ भने नेपालबाट ४ करोडको मात्र निर्यात भएको छ । यसकारण व्यापारमा धेरै मेहनत गर्नुपर्छ । तत्काल फाइदा लिने ठाउँ भने ती देशबाट लगानी भित्र्याएर हो । उनीहरुलाई कन्भिन्स गराएर सक्दो लाभ लिन सकिन्छ । भारत, श्रीलंका विभिन्न देशमा लगानी गर्ने राष्ट्र हुन् । थाइल्याण्डसँग पुरानै हवाई कनेक्टिभिटी छ ।
सार्कको विकल्प बिमस्टेक होइन : प्रा.डा डिल्लीराज खनाल, अर्थविद्
विश्वमा संरचनावादको प्रवृत्ति मौलाइरहेको छ । अझ भनौँ विश्व व्यापार युद्धको अवस्थामा छ । विशेषगरी अमेरिका व्यापार युद्धमा छ । क्षेत्रीय राष्ट्रहरुका लागि, क्षेत्रीय व्यापार र लगानीका लागि यस्ता क्षेत्रीय संगठनहरु गठन हुनु स्वभाविक हो । यहि भित्रका राष्ट्रहरु एक आपसमा सम्बन्ध सुधार गर्न र बिमस्टेक बाहिरका देशसँगको सम्बन्ध विस्तारमा पनि यस्ता संगठनहरुले सहजता ल्याउँछ । बिमस्टेकमा दक्षिण एशिया र दक्षिण पुर्वी एसियाको संयोजन छ । एक अर्काे देशमा कनेक्सनको लागि यसले सहजता प्रदान गर्नेछ । व्यापार, लगानी, प्रविधि, कनेक्टीभीटीमा एक अर्काबाट फाइदा लिने प्रसस्तै आधारहरु छन् । पछिल्लो समय सार्क अलिक प्यासिभ जस्तो देखिएको छ भने बिमस्टेक एक्टिभ देखिएको छ । नेपाल बिमस्टेकको अहिलेको अध्यक्ष राष्ट्र भएकाले सार्कलाई पनि सक्रिय बनाउँदै बिमस्टेकलाई अगाडी बढाउनुपर्छ । तर, सार्कको विकल्प बिमस्टेक हुन सक्तैन । पाकिस्तानलाई एक्ल्याउने नीतिले बिमस्टेकलाई भारतले बढी जोड दिएर अघि सारेको सुनिन पनि आउँछ तर हाम्रो पाकिस्तानसँग आफ्नै खालको सम्बन्ध छ । यसकारण सार्कलाई पुनः सक्रिय गरेर अघि लैजानुपर्छ ।
बिमस्टेकले बाटो देखाउन खोजेको छ तर स्पष्ट भइसकेको छैन ः डा. भेषबहादुर थापा, परराष्ट्रविद
बिमस्टेक एउटा क्षेत्रीय संगठन हो । यसले कुनै एउटा देश भन्दा पनि सामुहिक प्रगतिलाई लिएर लगानीको विस्तार, बजार विकास र साझा विकासको माध्यम बन्छ । दक्षिण एसियाली मुलुकहरुको संगठन सार्कले सोचेअनुसार काम गर्न नसकेपछि अहिले बिमस्टेक निकै सक्रिय भएर आएको छ । सार्कले एजेन्डाहरु पारित गर्ने तर कार्यान्वयन नगर्ने समस्या देखियो । विमस्टेकले एउटा बाटो देखाउन खोजेको जस्तो त देखिन्छ तर अझै स्पष्ट छैन । सार्कमा केही ठूला राष्ट्रहरुबीच मतभेद पनि देखियो । हाम्रो सीमा भारत र चीनसँग छ । हाम्रो व्यापार पनि यसैमा निर्भर भएको देखिन्छ । पुर्बी एसिया र दक्षिण एसियालाई बिमस्टेकले जोडेको छ । थाइल्याण्डसँग पर्यटन र म्यानमारसँग बुद्धिष्ट सर्किट जस्ता विषयमा काम गर्न सकिन्छ । सामुहिक पहलको आधारले विश्वभर मान्यता पाएको छ । सामुहिक विकासको आधारको लागि युरोप आसियानाको शुरुवात भएको छ । विकासको लागि एक देश र अर्को देशको कनेक्टीभीटिको लागि क्षेत्रीय संगठन खडा गरे अगाडी बढ्नु राम्रो हो । नेपालको हकमा पनि बिमस्टेक राम्रो छ तर सार्कको विकल्प भने होइन ।