बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो

आइतबार, १० भदौ २०७५, १० : १७
आइतबार, १० भदौ २०७५

लहान । सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन् । 

सिरहाको गोलबजारस्थित शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय महरा, सोही ठाउँका १४ वर्षीय राहुल महरा र सिरहाकै औरही गाउँपालिका तुलसीपुर निवासी १४ वर्षीय कृष्ण महतो बेपत्ता भएका थिए । 

बालकहरु बेपत्ता भएको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले आज बिहान बेपत्ता भएका मध्ये कृष्ण महतोको शव फेला पारेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहले जानकारी दिए । 

चार जनाको समूहमा कमला नदी जल भर्न पुगेका मध्ये एक जना बालकलाई स्थानीय बासिन्दाले तत्कालै उद्धार गरे पनि बाँकी तीन जना कमला नदीमा डुबेर बेपत्ता भएका थिए । 

पहाडी क्षेत्रमा वर्षा भएकाले कमला खोलामा दुई दिनदेखि पानीको बहाव बढेकाले खोजी उद्धारमा समस्या भए पनि खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक साहले बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप