शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डाक्टरका कुरा : पानीसमेत नपिई व्रत बस्दा पत्थरीको खतरा

शनिबार, ०९ भदौ २०७५, १२ : ५८
शनिबार, ०९ भदौ २०७५

पछिल्लो समयमा पत्थरीको बिरामी बढ्दै गइरहेका छन् । पत्थरीलाई समयमा उपचार नगरेको खण्डमा मृगौला ड्यामेज हुने धेरै सम्भावना रहन्छ । तर हामी नेपालीहरुले पत्थरीलाई गम्भीर रुपमा लिदैनौँ । जसले गर्दा एक व्यक्तिमा पनि पटक–पटक पत्थरी हुने गरेको पाइएको छ । पत्थरी के हो ? यो कसरी हुन्छ, उपचार विधि लगायतको बारेमा राष्ट्रिय मृगौला उपचार केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेले जानकारी गराएका छन् । पत्थरी र रोगथामको बारेमा डाक्टर काफ्लेकै शब्दमा :

मृगौलाको मुख्य काम भनेको रगतलाई फिल्टर गरी सफा गर्ने र फोहोर वस्तुलाई पिसाबबाट बाहिर फ्याँक्ने हो । यो क्रममा यदी फिल्टर भएको वस्तुको मात्रा बढ्न गए वा फिल्टर भएर गैसकेपछि पिसाबको वहाबमा कुनै किसिमको अवरोध आएमा पत्थरी बन्न सक्छ ।

पत्थरी जन्मजात, वंशाणुगत युरिक— एसिड र अक्जालेटको मेटाबोलिजममा गडबड भयो भने पनि मृगौलामा पत्थरी हुने सम्भावना बढी हुन्छ । ९० प्रतिशत पत्थरी पानी नपिउनुको कारणले भइरहेको छ । मृगौला स्वस्थ्य छ भने प्रशस्त मात्रामा पानी पिउँदा मृगौलाले पिसाबमार्फत फोहोर फाल्छ तर पानी पिउनु भएन भने फाल्दैन । 

हाम्रो नेपाली समाजको कुरा गर्ने हो भने ब्रत बस्दा पानी पिउने चलन छैन । पानी नपिउँदा गाढा रंगको पिसाब आउँछ भने पिसाब फेर्दा पनि गाह्रो हुन्छ । कारण शरीरमा आवश्यकताअनुसार पानी नपिउँदा किड्नीमा फोहार उत्पादन भए पनि फाल्न सक्दैन । प्रसस्त मात्रमा पिसाबमा पानी पुगेन भने फोहोरको मात्रा बढी हुन्छ र त्यसले नै पछि जम्मा भएर पत्थरीको रुपलिन्छ ।  

सबैको मृगौला स्वस्थ्य छ भन्ने हुँदैन सुरुमा कुनै एउटा सानो बालुवाको रुपमा पत्थर सुरु हुन्छ ।  त्यो बालुवा अड्कियो भने त्यसमाथि बालुवा थपिँदै जान्छ र अन्ततः पत्थरको रुप लिन्छ । सानो पत्थरले पनि दुःख दिन्छ, पिसाबबाट रगत आउने दुख्ने हुन्छ । तर कहिले काहीँ पत्थर ठूलो हुँदासम्म पनि थाहा हुँदैन् । पत्थरी भए नभएको बारेमा जान्नको लागि अल्ट्रासाउण्ड, एक्स—रे गरेपछि थाहा हुन्छ ।  

यसरी बन्छ पत्थरी 

उमेरको आधारमा सामान्यतया सबै उमेरको व्यक्तिलाई पत्थरी हुन्छ । तर उमेर ढल्किदै जाँदा पत्थरी हुने बढी सम्भावना हुन्छ । महिलामा पाठेघर झरेर पिसाबको थैलीलाई थुनिदिन्छ जुन कुराले पत्थरीको रुप लिन्छ । यो विशेषत पाठेघर झरेको महिलामा बढी समस्या देखिन्छ । पुरुषको प्रोष्टेट ग्ल्याण्ड बढेर पिसाब थुनिदिन्छ । जहाँ पिसाबको फ्लो रोकावट भयो त्यहाँ पिसाब रोकेर त्यहाँ भएको फोहोर पदार्थले पत्थरको रुप लिन्छ । पत्थर मृगौलाको किड्नीमा,पिसाबको नलीमा र पिसाबको थैलीमा बन्छ । पिसाबमा रोकावट भयो भने मात्रै पिसाब थैलीमा पत्थरी बन्छ । 

सामान्यतया पत्थरी देखिने भनेको किड्नीमा हो । किड्नीमा भएको पत्थरी पिसाबमा रगत आउने र दुख्ने हुन्छ । सात मिलिमिटरसम्मको पत्थर पिसावनलीको दायरामा छ भने झर्न सम्भावना धेरै हुन्छ । यो किड्नीमा भएको पत्थरको कुरा भयो तर पित्तथैलीमा भएको पत्थरीलाई भने शल्यक्रियानै गर्नुपर्ने हुन्छ । पिसाबको नलीमा भएको पत्थरी छ भने चिल्लो भएको खण्डमा झर्न सक्ने सम्भावन हुन्छ । यदी चुच्चो खालको पत्थर छ भने अड्किन सक्छ । पत्थर कस्तो छ ? के बाट बनेको छ ? कुन साईजको छ यसको आधारमा खस्न सक्छ या सक्दैन भन्ने कुराको बारेमा सम्बन्धित चिकित्सकलाई देखाउनु पर्ने हुन्छ ।

पत्थर झरे नझरेको बारेमा अनिवार्य जाँच

तपाईं पत्थरको औषधि खाँदै हुनुहुन्छ भने पत्थर झरे—नझरेको बारेमा फेरि जाँच गर्नु राम्रो हो । औषधी खाएपछि केही सन्चो हुन्छ तर हामी पत्थर गयो कि गएन भन्ने बारेमा जाँच गर्दैनौँ जुन जाँच अनिवार्य गर्दा राम्रो हुन्छ । यदी तपाईको पत्थर झरेको छैन् भने किड्नीलाई असर गर्छ र किड्ने ड्यामेज सम्म हुने सम्भावना हुन्छ । त्यसैले पत्थरलाई सामान्य रुपमा नसोच्नु होला । हाम्रो नेपालमा बारम्बार पत्थरको कारण किड्नी ड्यामेज भएर डाइलासिस गर्ने व्यक्तिहरु धेरै छन् त्यसैले पत्थरीलाई हेप्नु हुँदैन । कतिको परिवारको सबै सदस्यलाई पनि पत्थरी हुनसक्छ । यो वंशाणुगत हुने पत्थरी हो । यो कुनै आँकाडा होइन तर सामान्यतया हेर्दा सबैभन्दा बढी पत्थरी चितवन बेल्टका मानिसमा भेटिएको छ । मेरो अनुमानमा कारण त्यस्तो गर्मी ठाँउमा बस्ने मान्छेहरुले पानी कम पिउछँन् । 

पत्थरी हुनुमा हामीले खाएको खाना, हामीले दैनिक गर्दै आएको गतिविधिमा भरपर्छ । पटक—पटक अप्रेशन गरेर पत्थरी झिकेको मान्छे पनि हाम्रै समाजमा छन् । हामीलाई जानकारी हुँदाहुँदै पनि चेत्दैनौँ, मृगौलामा भएको पत्थरीले धेरै मान्छेको मृगौला ड्यामेज नै गरेको छ । पिसाबको थैलीमा भयो भने पिसाबको थैली थुनिन्छ र मृगौला ड्यामेज हुन्छ । त्यही भएर सावधानी अपनाउनुपर्छ । पत्थर छ भने झरे नझरेको बारेमा स्वास्थ्य परिक्षण गरेर हेर्नु राम्रो हुन्छ । 

झन्झटीलो उपचार प्रक्रिया 

सरकारी अस्पतालमा अप्रेशन गर्नको लागि महिनौँदेखि पालो कुर्ने बिरामीहरु धेरै रहेका छन् । पैसा हुनेले निजी संस्थाबाट उपचार गराउलान् तर नहुनेले त सरकारको मुखनै ताक्ने हो । तर, पालो आउने समयसम्म पत्थरीले त्यो व्यक्तिको किड्नी के हुन्छ भन्ने कुरामा सरकारले पनि सोच्न जरुरी छ ।सेवा सुरु गरे पछि समयमा दिनुपर्छ ।

यी कारणले हुन्छ पत्थरी 

—प्रशस्त मात्रमा पानी नपिउदा । 

— शरीरमा यूरिक एसिड भएको मान्छेले काँउली, गेडागुडी, च्याउ, रातोमासु, पालुङ्गो र वियर जस्ता खानाले शरीरमा यूरिक एसिड बन्छ । किड्नीले फोहोरको रुपमा यूसिक एसिड फिल्टर गरेर पानीमा फाल्छ तर प्रशस्त पानी नपिउँदा यूरिक एसिड कुनै ठाँउमा गएर बस्न सक्छ र पत्थर बन्ने सम्भावना हुन्छ ।

— बारम्बार पिसाबमा इन्फेक्सन हुँदा ।

—क्याल्सीयम औषधि बढी खाएका, पिसाबमा इन्फेक्सन भएका अधिकांश व्यक्तिमा भने पानी नखाएको कारणले पत्थरी हुन्छ ।

उपचारको प्रक्रिया 

—औषधिको माध्यममार्फत साना भएका पत्थरलाई पगाल्ने ।

—फुटाएर झार्ने ।

—शल्यक्रिया गर्ने ।

— प्वाल पारेर निकाल्ने ।

रोकथामका उपाए 

— प्रशस्त पानी पिउने । 

— समय/समयमा स्वास्थ्य परिक्षण गर्ने ।

— यूरिक एसिड हुने व्यक्तिले यूरिक एसिड ठीक अवस्थामा राख्ने ।

— परिवारमा कसैलाई पत्थरी छ भने अल्ट्रासाउण्ड गरेर हेर्ने ।

(डाक्टर काफ्ले राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ मृगौला रोग विशेषज्ञ हुन ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप