शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सकारात्मक सोच्ने समूहमा ३० हजारभन्दा बढी संगठित

शनिबार, ०९ भदौ २०७५, ११ : ४५
शनिबार, ०९ भदौ २०७५

‘ए बाबा, यो समाजमा नराम्रो कुरा गर्नैपर्छ र ?,’ सकारात्मक सोचका अभियन्ता कर्ण शाक्य भन्छन्, ‘राम्रो र सकारात्मक कुरा गर्न सक्दैनांै ? सोच समूह सकारात्मकमात्रै सोच्न अभ्यास गर्ने समूह हो ।’ 

हामी नेपाली नकारात्मक सोच र हीनताबोधग्रस्त छौं । ‘हीनताबोध र हेयको दरिद्र मानसिकता नत्यागेसम्म जस्तोसुकै राजनीतिक, सामाजिक, धार्मिक र आर्थिक परिवर्तन भए पनि सचेत नागरिक बन्न सक्दैनौ,’ शाक्यले सोच समूह एक परिचयमा समूह गठनबारे प्रस्ट्याएका छन्, ‘जतिबेलासम्म विवेकको नियमले नागरिकलाई नियमन गर्न सक्दैन, त्यतिबेलासम्म नियम, कानुन, विधान र संविधनाले मात्रै देश उँभो लाग्न सक्दैन । देश बनाउन सकारात्मक सोच जागृत गराउनैपर्छ ।’

सोच समूह गठन भइसकेको छ । यो दर्ता भएको समूह होइन । दर्ता गर्न आवश्यक पनि छैन । सोच समूहमा पदाधिकारी हुँदैनन् । सबै सदस्य हुन्छन् । सदस्य बन्न पैसा पर्दैन । सदस्य बन्न २० वर्ष नाघेको हुनुपर्छ । सोच समूहमा ३० हजारजनाभन्दा बढी संगठित छन् । सबैले कर्ण शाक्यलाई चिन्दैनन् । चिन्न आवश्यक पनि छैन । ‘सोच समूहमा आबद्धले ‘न’ भन्ने शब्द नकार्छ,’ उनले थपे, ‘हुँदैन, भएन, पुगेन, सक्दैन, मिल्दैनजस्ता नकारात्मक शब्द नकार्दै समूहले समाज, गाउँघर, टोल, छरछिमेक, स्वदेश तथा विदेशका उत्साहवद्र्धक, प्रेरणादायी र सफलताको कथा सुनाउँछ ।’ 

‘सोच समूह समाजसेवा गर्ने सामाजिक संस्था होइन,’ उनले जानकारी गराए, ‘सकारात्मक सोचसहितको चिन्तन र मन्थन गर्ने गतिलो थलो हो । समूहले पाटीपौवा, मठमन्दिर, पुलपुलेसा निर्माणजस्ता विकासे काम गर्दैन ।’ समूहमा सम्बद्धले महिनाको दुईपटकसम्म नदीकिनार, तलाउआसपास, बगैंचाको छहारी, वरपीपलको चौतारीमा बसेर सकारात्मक कुराकानी गर्छन् । कुराकानी गर्दा कसै (राजनीतिक नेता, सामाजिक कार्यकर्ता र सम्बन्धित समाजका गन्नेमान्ने) लाई गाली गरिँदैन । कसैको आलोचना गरिँदैन । निराशा, गुनासोका कुरा हुँदैनन् । ‘सधैं राज्य र नेतालाई सरापेर हुँदैहुँदैन,’ पर्यटनविद् शाक्यले सुझाए, ‘प्रत्येक नागरिकले आ–आफ्नो ठाउँबाट सानोतिनोमात्रै भए पनि कामको जिम्मेवारी लिनुपर्छ ।’ 

नेपाली सुनखानीमा बसेर फलाम खोज्न बिदेसिएको उनको बुझाइ छ । ‘हामीले आफूलाई नचिनेर गरिब भएका हौं,’ उनको तर्क छ, ‘हामी गरिब होइनौं । मूर्ख हौं । मनिस धनी पैसाले होइन, सभ्यता र संस्कारले बन्ने हो ।’ सभ्यता र संस्कारयुक्त नेपाली बनाउन सकारात्मक सोच समूह गठन गरिएको हो । उसले के हुन सक्छ ? के हुन सक्दैन ? के होला ? के नहोला भन्नेमात्रै सोच्न सक्छ ? 
आजका मितिमा ३० देखि ४० लाख नेपाली विदेशमा छन् । सबैका आ–आफ्नै बाध्यता होलान् । काम गर्न नसक्नु पनि बाध्यता भइसक्यो । संसारभरिका ९९ प्रतिशत उद्योगधन्दा पैसाले मात्रै होइन, विचारले सञ्चालित छन् । ‘जो–जो धनी भनेर चिनिएका छन्, उनीहरू उद्योग सञ्चालन गरेरमात्रै धनी भएका होइनन्, विचारले धनी भएका हुन्,’ उनको ठम्याइ छ, ‘हामी आफूले आफैंलाई खोज्दैनौं । आफूभित्रको देउता थाहा छैन । अर्काको राक्षसमात्रै थाहा छ ।’ 

नकारात्मक सोचग्रस्त समाजलाई रातारात परिवर्तन गर्न सम्भव नभए पनि सोच समूहको सलाइको काँटीले सकारात्मक मैनबत्ती बाल्दै अँध्यारो चिर्न कर्ण सोच कोषको अग्रसरतामा सोच समूह गठन गरिएको सोच समूह एक परिचयमा उल्लेख छ । 

‘हामी राम बन्न कहिल्यै सकेनौ,’ उनले वास्तविकता सुनाए, ‘हनुमानमात्रै बन्यौं । त्यसो भन्दैमा म समस्याबाट भाग्दिनँ । समस्या भाग्यमानीले मात्रै पाउने हो ।’ समस्याले भाग्यमानीको ढोका ढकढक्याउँछ । यो ध्रुवसत्य हो । 

‘मेरो सम्पूर्ण समय युवामा खर्चेको छु,’ पर्यटनविद् कर्ण शाक्यले छुट्टिने बेला सुनाए, ‘सोच समूह सकारात्मक वैचारिक योगाभ्यास हो । आज २० वर्ष नाघेका युवालाई सकारात्मक सोच्न सक्ने बनाएँ भने भोलि उनीहरूले नै मुलुकको बागडोर सम्हाल्न सक्दैनन् भन्ने छैन ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप