शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अहिले केटी घुमाउने बेला होइन– गायक तथा संगीतकार चिरञ्जीवी

शुक्रबार, ०८ भदौ २०७५, १२ : ११
शुक्रबार, ०८ भदौ २०७५

चिरञ्जीवी भण्डारीको परिचय गायक मात्र होइन, उनी राम्रो सङ्गीतकार पनि हुन् । छोटो समयमा चर्चित र व्यस्त बन्न सफल उनी स्टेजमा धमाका पिट्ने गायकको सूचीमा समेत अटाउने गरेका छन् । उनी पप, आधुनिक, लोकलगायत सबै प्रकारको गीत गाउन र सङ्गीत भर्नमा पनि सबल देखिएका छन् । पछिल्लो समय उनको चर्चा रक गीतको कारणले हुने गरेको छ । केही दिन पहिले ‘तिम्रो मायाले मार्यो मलाई’ बोलको रक गीत ल्याएका उनी आफूलाई भर्सन टायल गायक भन्नसमेत रुचाउँछन् । केही चलचित्र र एल्बम गरेर करिब ३ दर्जनभन्दा बढी गीतमा सङ्गीत दिएका भण्डारीले यति नै सङ्ख्याका गीतमा स्वर भरेका छन् । यिनै सङ्गीतकार तथा गायक भण्डारीलाई रातोपाटीको दस प्रश्न ।

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
– भर्खर आफ्नो स्वर रहेको रक गीतको भिडियो बाहिर ल्याएको छु । यो रकिङ गीतभन्दा पनि हुन्छ । रक र आधुनिक मिसाएर तयार पारेको यो गीतमा किशोर खतिवडाको सङ्गीत र बीबी थापाको शब्द रहेको छ । 

गायनबाट जीवन चल्छ त ?

– मेरो अनुभवमा भन्ने हो, म मात्र होइन कुनै पनि गायक गायिकालाई पुग्दैन । त्यस्तो गायकलाई मात्र पुग्छ, जो फिल्म, आधुनिकलगायत सबैतिर छाउन सफल छ । किनभने यो क्षेत्रमा नयाँ नयाँ ट्रेन्ड भित्रिरहेका छन् ।

ट्रेन्डसँगै भित्रिने नयाँ पुसताले पुराना बिस्तापित हुने क्रम बढ्दो छ । 

गायकलाई अहिले मोडलिङमा पनि देख्न नि ?
– गायकले मोडलिङ गर्नुपर्छ भन्नेमा म पर्दिनँ । मोडलिङ मोडलको काम हो । त्यसको छुट्टै क्राइटेरिया छ । गायकले मोडलिङ गर्दा गीतको भिडियो बिग्रन पनि सक्छ । एक दुईवटा आफ्नो गीतमा सोखले गर्नु ठीक हो । त्यसले रहर मात्र पूरा गर्छ ।

रियाज कति गर्नुहुन्छ ?
– दैनिक दुई घण्टा रियाज गर्छु । नभ्याएको समय एक घण्टा । मेरो विचारमा गायनमा लाग्ने जो कोहीले पनि घटीमा पनि दैनिक २ घण्टा रियाज गर्नुपर्छ ।

गायनको पहिलो आम्दानी के गर्नुभयो ? 
– मोफसलको एक साङ्गीति कार्यक्रमबाट ३ हजार रुपियाँ मिलेको थियो । त्यो रकम पूरै आमालाई दिएँ । आमाले जहिले पनि सङ्गीतमा लागेर केही हँुदैन । विदेश जानुपर्छ । विदेशमा राम्रो कमाइ छ, जा भन्नु हुन्थ्यो । गीत सङ्गीतबाट पनि कमाउन सकिन्छ भन्दै त्यो पैसा आमालाई दिएँ ।

सङ्गीतमा लाग्दाको दुःख ?
– सङ्गीतमा केही गर्छु भनेर काठमाडौँ छिर्दा परिवार छोड्नुपर्यो । कहिलै घरपरिवार नछोडेको व्यक्ति काठमाडौँ आएर बस्नु, सङ्गीतमा सङ्घर्ष गर्नु भनेको सानोतिनो चुनौती थिएन । 

गायक/सङ्गीतकार युवती प्रेमी हुन्छन् रे हो ?
– को को यस्ता छन्, मलाई थाहा छैन । मेरो हकमा भने यो लागू हँुदैन । मेरो अहिले करियर बनाउने बेला हो । केटी घुमाउने होइन । म सङ्गीतकार पनि भएकाले नयाँ नयाँ गायिकासँग पनि काम गरिरहेको छु । कामको सिलसिलामा सम्बन्ध पनि राम्रो हुन्छ । तर अन्य सम्बन्धको विषयमा सोच्ने गरेको छैन ।

कस्तो गायिका मनपर्छ ?
–एक्स्ट्रा टाइपको गीत गाउन, सङ्गीत भर्न रुचाउने भएकाले मलाई एक्ट्रा ग्ल्यामर भ्वाइस भएका र आधुनिकमा पनि ग्ल्यामर मिसाएर गाउने गायिका मनपर्छ ।

फ्यानबाट गिफ्ट कति आउँछ ?
– गायक गायिकाका लागि फ्यानले दिने सबैभन्दा ठूलो गिफ्ट भनेको माया हो । यो मैले पाएको छु । अन्य गिफ्ट चाहिएको छैन । देश विदेशमा रहेका फ्यानले फोन गरेर तपाईंलाई के गिफ्ट पठाउँ भन्नेसमेत गरेका छन् । ती फ्यानलाई म माया दिए पुग्छ । अरू केही चाहिँदैन भन्ने गरेको छु ।

प्रेम छ कि छैन ?
अहिलेसम्म छैन । मन पराउने थुप्रै छन् । केहीले त तपाईं र म विवाह गरौँ पनि भन्छन् । भेटमा, फोनमा प्रेमका, विवाहका प्रस्ताव राख्छन् । ती सबैलाई मैले अहिले धेरै काम गर्नु छ । यो विषयमा पछि कुरा गरौँला भनेर टार्ने गरेको छु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप