शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीकै जिल्ला झापाबाट रोजगारीका लागि खाडीमा छन् धेरै महिला

शुक्रबार, ०८ भदौ २०७५, ११ : ५९
शुक्रबार, ०८ भदौ २०७५

काठमाडौँ । वार्षिक करिब ४ लाखका हाराहारीमा युवाहरू रोजगारीका लागि विदेशिएका छन् । यो विगत १० वर्षको डाटाबाट लिइएको औसत तथ्याङ्क हो । आर्थिक वर्ष २०७४/७५ को तथ्याङ्क हेर्ने हो भने पनि ३ लाख ५४ हजार ८२ जना युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । त्यसमध्ये २२ हजार ४ सय १७ जना त महिला मात्रै छन्, जो म्यानपावरमार्फत् र व्यक्तिगत श्रम स्वीकृति लिई ‘न्यु इन्ट्री’ गरेका हुन् । 

आर्थिक अवस्थामा सुधार ल्याउनका लागि भन्दै पछिल्लो दिनमा महिलाहरू पनि वैदेशिक रोजगारीका लागि विदेशिन थालेका छन् । गत आर्थिक वर्षको तथ्याङ्कमा २२ हजार महिला श्रम स्वीकृति लिएर बाहिरिएको देखिएको छ । यो तथ्याङ्क त नेपालको वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई बाहिरिने नेपाली महिलाहरूको तथ्याङ्क हो । भारतको बाटो हुँदै रोजगारीका लागि खाडी मुलुकहरूमा पुग्ने नेपाली युवतीहरूको सङ्ख्या त यो तथ्याङ्कमा उपलब्ध नै छैन ।

आर्थिक वर्ष २०७४÷७५ को तथ्याङ्क हेर्ने हो भने ३२ हजार ९ सय ६५ जना महिलाहरूले वैदेशिक रोजगारीको सिलसिलामा वैदेशिक रोजगार विभागमा आफ्नो विवरण बुझाएका छन् । जसमध्ये १९ हजार ३ सय ८ जना महिलाहरू म्यानपावर कम्पनीमार्फत् वैदेशिक रोजगारीमा गएका छन् भने १३ हजार ६ सय ५७ जना महिलाहरू व्यक्तिगत श्रम स्वीकृति, पुनः प्रवेश (समय पूरा भई नेपाल आएर फेरि रोजगारीमा फर्किएका) र पहिले अवैधानिकरूपमा प्रवेश गरेकाले वैधानिक भएर गएका छन् । 

वैदेशिक रोजगारीमा महिलाको अवस्थालाई हेर्ने हो भने विकसित जिल्ला वा शहरभन्दा पनि गरिब गाउँबस्तीका महिलाहरू वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीका लागि जाने मुलुकहरूमा पनि अधिकांश खाडी मुलुकमा पुगेका छन् । खाडी मुलुकमा पुग्ने अधिकांश महिलाहरू घरेलु कामदारका रूपमा यस्ता देशमा पुगिरहेका छन् ।

म्यानपावरमार्फत् कुन देशमा कति महिला ?

यूएई पहिलो

वैदेशिक रोजगार विभागको तथ्याङ्क हेर्ने हो सबैभन्दा बढी महिला रोजगारीमा जाने देशमा संयुक्त अरब इमिरेट्स अर्थात् यूएई पहिलो नम्बरमा पर्छ । गत आर्थिक वर्षमा मात्रै म्यानपावर कम्पनीमार्फत् ५ हजार ६ सय ५७ जना महिला वैदेशिक रोजगारीका लागि यूएई पुगेका छन् । 

कतार दोस्रो

त्यसैगरी म्यावपावर कम्पनीमार्फत् रोजगारीका लागि महिलाहरू विदेशिने देको दोस्रो नम्बरमा कतार रहेको छ । कतारमा गत आर्थिक वर्षमा ३ हजार ६ सय ८८ जना महिला रोजगारीका लागि पुगेका छन् । 

मलेसिया तेस्रो

वैदेशिक रोजगारीका लागि महिलाहरू पुग्ने तेस्रो देश मलेसिया हो । आर्थिक वर्ष २०७४÷७५ मा म्यानपावर कम्पनीमार्फत् २ हजार ९ सय ९६ जना महिला मलेसियामा पुगेका छन् । 

कुवेत चौथो

वैदेशिक रोजगारीका लागि महिलाहरू पुग्ने चौथो देश कुवेत हो । गत आर्थिक वर्षमा नेपालका म्यानपावर कम्पनीमार्फत् १ हजार ५ सय १० जना महिला वैदेशिक रोजगारीका लागि कुवेत पुगेका छन् । 

पाँचौँ नम्बरमा जोर्डन !

वैदेशिक रोजगारीका लागि महिलाहरू पुग्ने अर्को देश जोर्डन हो । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार म्यानपावर कम्पनीमार्फत् महिला पुग्ने देशको पाँचौँ नम्बरको सूचीमा जोर्डन रहेको छ । इजरायलसँगै जोडिएको मुस्लिम देश जोर्डनमा घरेलु कामदारका रूपमा महिलालाई लैजाने गरिएको छ । गत आर्थिक वर्षमा नेपालबाट वैदेशिक रोजगारीका सिलसिलामा १ हजार ५ सय १ जना महिला जोर्डन पुगेका छन् । 

त्यसैगरी छैटौँ नम्बरमा रहेको साइप्रसमा १ हजार ४ सय ७ जना, साउदी अरेबियामा १ हजार १८ जना, टर्कीमा ४ सय ५६ जना महिलाहरू म्यानपावर कम्पनीमार्फत् पुगेका छन् । वैदेशिक रोजगारीकै लागि ओमनमा ३ सय २९ जना, बहराइनमा २ सय ६४ जना, पोल्यान्डमा २ सय ४२ जना, माल्टामा ८० जना, इजरायलमा ३६ जना र मालदिभ्समा १५ जना महिला पुगेका छन् । 

यता व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने महिलाहरूको सङ्ख्या पनि दिनानुदिन बढिरहेको छ । म्यानपावर कम्पनीमार्फत् जान जाँदा धेरै खर्च हुने तथा कतिपय देशले म्यानपावर कम्पनीमार्फत् कामदार नलैजाने हुँदा व्यक्तिगत श्रम स्वीकृति लिएर विदेशिने महिलाको सङ्ख्या पनि उत्तिकै बढिरहेको छ ।

व्यक्तिगत श्रम स्वीकृतिमा पनि यूएई पहिलो

आर्थिक वर्ष २०७४/७५ को तथ्याङ्कअनुसार व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका लागि महिलाहरू जाने देशको एक नम्बरमा यूएई नै परेको छ । यस आर्थिक वर्षमा ६ हजार ४ सय ७० जना महिलाहरू व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीको सिलसिलामा यूएई पुगेका छन् । यो सङ्ख्या म्यानपावर कम्पनीमार्फत् यूएई पुग्ने महिलाको सङ्ख्याभन्दा ८ सय १३ ले बढी हो । 

स्रोत : वैदेशिक रोजगार विभाग

दोस्रोमा कतार
म्यानपावर कम्पनीमार्फत् मात्रै होइन, व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीका लागि महिला जाने देशमा पनि कतार दोस्रो नम्बरमा परेको छ । आर्थिक वर्ष २०७४÷७५ मा १ हजार २ सय ५ जना महिलाहरू व्यक्तिगत श्रम स्वीकृति बनाई रोजगारीका लागि कतार पुगेका छन् । तर म्यानपावर कम्पनीमार्फत् जाने महिलाहरू भने व्यक्तिगत स्वीकृतिभन्दा तीन गुण बढी छ ।

मलेसिया तेस्रो

व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका लागि महिलाहरू पुग्ने तेस्रो गन्तव्य हो मलेसिया । आर्थिक वर्ष २०७४÷७५ मा १ हजार ३७ जना महिलाहरू व्यक्तिगत श्रम स्वीकृति लिई मलेसियामा रोजगारी गर्न पुगेका छन् । 

चौथो नम्बरमा कुवेत

रोजगारीका लागि भन्दै महिलाहरू पुग्ने देशको सूचीमा चौथो नम्बरमा रहेको देश कुवेत हो । गत आर्थिक वर्षमा नेपालबाट १ हजार २४ जना महिलाहरू वैदेशिक रोजगारीका लागि कुवेत पुगेका छन् ।
माल्दिभ्स पाँचौँ नम्बरमा !

यता व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीका लागि पुग्ने देशको पाँचौँ नम्बरमा माल्दिभ्स रहेको छ । म्यानपावर कम्पनीमार्फत् गत आर्थिक वर्षमा जम्मा १५ जना महिलाहरू माल्दिभ्स पुगेकामा व्यक्तिगत श्रम स्वीकृतिबाट भने ६ सय ८४ जना महिलाहरू यो टापुमा पुगेका छन् । 

त्यसैगरी अन्य देशहरूमा क्रमशः साइप्रसमा ४ सय ८०, इजरायलमा ४ सय ३५, बहराइनमा ३ सय ५८, साउदी अरेबियामा ३ सय २३, जर्मनीमा २ सय ५८, ओमनमा १ सय ९८, पोल्यान्डमा १ सय ८४ र माल्टामा १ सय ४८ जना महिला पुगेका छन् । उनीहरू अधिकांश घरेलु कामदारका रूपमा यी देशहरूमा पुगेका हुन् । 

नेपाल सरकारले दुई पक्षीय समझदारी भएको देश जोर्डनबाहेक अन्य देशमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ । तर पनि मलेसिया र यूएईको केही कम्पनीमाबाहेक अन्य अधिकांश देशमा पुग्ने महिलाहरू घरेलु कामदारकारूपमा काम गरिरहेका छन् ।

कुन जिल्लाबाट कति महिला ?

वैदेशिक रोजगारीका लागि विदेश उड्ने महिलाहरूको गहन अध्ययन गर्ने हो भने मुख्यतः अधिकांश ग्रामीण भूभागका महिलाहरू रहेका छन् । रोजगारीका लागि विदेशिने महिलाहरूमा अधिकांश गुरुङ, तामाङ, राई, लिम्बु, शेर्पा आदि रहेका छन् । 

यस्तो छ जिल्लागत तथ्याङ्क

पहिलो नम्बरमा झापा

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम भन्दै रोजगारीको सिर्जना गरी स्वदेशमै रोजगारी दिने वाचा गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्ला झापाबाट सबैभन्दा धेरै महिलाहरू वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । आर्थिक वर्ष २०७४÷७५ मा झापाबाट कुल ३ हजार ८७ जना महिलाहरू वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । जसमध्ये म्यानपावर कम्पनीमार्फत् १ हजार ८ सय २० जना र व्यक्तिगत श्रम स्वीकृति लिई १ हजार २ सय ६७ जना महिलाहरू विभिन्न देशमा पुगेका छन् ।

दोस्रोमा सिन्धुपाल्चोक

त्यसैगरी रोजगारीका लागि विदेशिने महिलाहरूको सूचीमा सिन्धुपाल्चोक दोस्रो नम्बरमा रहेको छ । गत आर्थिक वर्षमा सिन्धुपाल्चोकबाट २ हजार ६९ जना महिलाहरू रोजगारकिा लागि विदेशिएका छन् । जसमध्ये १ हजार २ सय ४५ जना महिलाहरू म्यानपावर कम्पनीमार्फत् विदेशिएका छन् र भने ८ सय २४ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर गएका छन् ।

स्रोत : वैदेशिक रोजगार विभाग

तेस्रोमा काठमाडौं ! काठमाडौंमा व्यक्तिगत श्रम स्वीकृति बढी

वैदेशिक रोजगारीका लागि महिलाहरू बाहिरिने जिल्लाको सूचीमा काठमाडौँ तेस्रो नम्बरमा रहेको छ । आर्थिक वर्ष २०७४÷७५ मा काठमाडौँबाट १ हजार ९ सय ९९ महिला विदेशिएका छन् । जसमध्ये म्यानपावर कम्पनमिार्फत् जम्मा ८ सय महिला विदेशिँदा व्यक्तिगत श्रम स्वीकृति लिई विदेशिने महिलाको सङ्ख्या १ हजार १ सय ९९ जना रहेको छ । उनीहरूमध्ये ७ सय १३ जना महिला व्यक्तिगत श्रम स्वीकृति लिई यूएई पुगेका छन् भने अमेरिका, न्युजिल्यान्ड, मालदिभ्सलगायतका देशमा पुग्ने महिलाको सङ्ख्या पनि उत्तिकै मात्रामा छ । 

चौथोमा मोरङ

रोजगारीका लागि महिलाहरू विदेशिने जिल्लाको सूचीमा मोरङ चौथो नम्बरमा रहेको छ । आर्थिक वर्ष २०७४÷७५ मा मोरङबाट १ हजार ८ सय ५९ महिला विदेशिएका छन् । जसमध्ये म्यानपावर कम्पनीमार्फत् १ हजार ६० जना र व्यक्तिगत श्रम स्वीकृति लिई ७ सय ९९ जना महिला रोजगारीका लागि विदेश पुगेका छन् । 

पाँचौँ ​ नम्बरमा मकवानपुर

वैदेशिक रोजगारीका लागि महिलाहरू बाहिरिने जिल्लाको सूचीमा मकवानपुर पाँचौँ नम्बरमा रहेको छ । गत आर्थिक वर्षमा मकवानपुरबाट १ हजार ७ सय २० जना महिला वैदेशिक रोजगारीका सिलसिलामा बाहिरिएका छन् । जसमध्ये १ हजार १ सय ८३ जना महिला म्यानपावर कम्पनीमार्फत् विदेश पुगेका छन् भने ५ सय ३७ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । 

अन्य जिल्लाहरूमा काभ्रेबाट १ हजार ५ सय २, सुनसरीबाट १ हजार १ सय ४६, नुवाकोटबाट १ हजार १ सय ४५, इलामबाट १ हजार ५७ तथा चितवनबाट १ हजार ४८ जना महिलाहरू विदेश पुगेका छन् । 
त्यसैगरी रामेछापबाट ८ सय २६, धादिङबाट ७ सय ८७, दोलखाबाट ७ सय ५४, सिन्धुलीबाट ६ सय ६० र उदयपुरबाट ६ सय ५२ जना महिला विदेशिएका छन् ।

व्यक्तिगत श्रम स्वीकृतिले निम्त्याउँदैछ समस्या

पछिल्लो दिनमा सरकारले श्रम सम्झौता नभएका देशहरूमा घरेलु कामदारकारूपमा महिलाहरूलाई पठाउन बन्द गरिदिएको छ । यस्तो अवस्थामा अधिकांश महिलाहरूले कुनै कम्पनीमा काम गर्ने भन्दै श्रम स्वीकृतिका लागि कागजात बनाउने गरेका छन् । तर अधिकांश महिलाहरूलाई जुन कम्पनीमा रोजगारी दिने भनिन्छ, उनीहरू त्यस कम्पनीमा हुँदैनन् । अधिकांश महिलाहरू घरेलु कामदारका रूपमा मालिकको घरमा दैनिक १६ घण्टा काम गर्न बाध्य हुन्छन् । उनीहरूमध्ये अधिकांशलाई साप्ताहिक बिदासमेत दिइँदैन । कतिपय घरमालिकले त नेपालमा सम्पर्क गर्नसमेत दिँदैनन् । यूएई, कुवेत, ओमन लगायतका देशमा यस्ता समस्या बढी देखिएको छ । तर सरकारले प्रतिबन्ध लगाए पनि नयाँ नयाँ उपाय निकालेर नेपालबाट घरेलु कामका लागि महिलाहरूलाई खाडी मुलुक पुर्याइँदै छ र त्यो सङ्ख्यामा वार्षिक रूपमा वृद्धि भइरहेको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप