शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्नाको प्रजाति विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई अर्को सफलता

शुक्रबार, ०८ भदौ २०७५, ०९ : ५५
शुक्रबार, ०८ भदौ २०७५

रत्ननगर । कोशीबाट स्थानान्तरण गरी चितवनमा ल्याइएका अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई अर्को सफलता मिलेको छ । 

निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पद्मपुरको खुला खोरमा राखेर संरक्षण गरिएका अर्नाले अर्को बच्चा जन्माएपछि प्रजाति विस्तारमा अर्को सफलता मिलेको हो । यसअघि गत साउन ३१ गते एउटा अर्नाले पाडी जन्माएको थियो । 

अर्नाले पाडो जन्माएको बिहीबार फेला परेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिए । “हात्तीसहितको प्राविधिक टोलीले दुई दिन लगाएर अनुगमन गर्दा बिहीबार दोस्रो अर्ना ब्याएको पाइयो,” गैरेले भने । अझै एउटा गर्भिणी रहेकाले एक महिनाभित्र बच्चा जन्माउने उनको अनुमान छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले पाडो जन्मिएकाले प्रजाति संरक्षणमा ठूलो सफलता मिलेको चर्चा गर्दै खुला खोरमा अझै अर्ना थप्ने योजना रहेको जानकारी दिए । खुला खोरमा १० अर्ना रहेकामा एउटा पाडो थपिएपछि ११ पुगेको छ । रोगब्याधी र बाघको आक्रमणलगायत कारणले यसअघि छ अर्ना मरेका थिए । 

सरकारको विसं ०७१ को निर्णयअनुसार विसं ०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना ल्याइएको थियो । तत्कालीन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो । कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । खोर बढाएर यहाँ २० देखि ३० अर्ना पु¥याउने योजना निकुञ्जको छ । झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने योजना निकुञ्ज विभागको छ । 

उक्त निकुञ्जमा सन् १९६० देखिनै अर्ना रहेकामा पछि लोप भएको भनाइ छ । निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन । अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप