शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

६ वर्षमा १ खर्ब ९५ अर्बभन्दा बढी लगानी प्रतिबद्धता, सबैलाई उछिन्यो चीनले, कुन देशको लगानी कति ?

बिहीबार, ०७ भदौ २०७५, १२ : १६
बिहीबार, ०७ भदौ २०७५

उद्योगमा  ६ वर्षमा एक खर्ब ९५ अर्ब  ६८ करोड रुपियाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।  यो चालु आर्थिक वर्षको (२०७५/०७६) पहिलो महिना (साउन) सम्मको लगानी प्रतिबद्धता  हो । आर्थिक वर्ष २०६९/०७० देखि हालसम्मको लगानी प्रतिबद्धताको अवस्था  हेर्दा आर्थिक वर्ष ०७१÷०७२ मा सबैभन्दा बढी प्रतिबद्धता आएको छ । यस वर्ष ३ सय ७० वटा प्रोजेक्टका लागि ६७ अर्ब ४५ करोड रुपियाँ लगानीको प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कमा छ । त्यस पछिका दुई वर्ष वैदेशिक लगानी घटे पनि फेरि गत वर्षदेखि (२०७४/०७५) लगानी बढेको छ । 

उद्योग विभागका महानिर्देशक शिवराम न्यौपाने पछिल्लो समय देशमा लगानीको वातावरण बन्दै गएकाले वैदेशिक लगानीकर्ताहरू आकर्षित भएको बताउँछन् । नेपालमा अन्यत्र मुलुकको तुलनामा श्रमिकको ज्याला कम भएकाले सञ्चालन लागत कम पर्ने र नाफा कमाउन सकिने जस्ता कारणले पनि लगानीकर्ताहरू आउन थालेको उनले भने । लगानी प्रतिबद्धता बढ्नुमा राजनीतिक स्थायित्व, लोडसेडिङको अन्त्य जस्ता कारण रहेको महानिर्देशक न्यौपानेको तर्क छ । 

यद्यपि, वैदेशिक लगानीका उद्योग दर्ता गर्ने रेकर्ड विभागले राखे पनि ती दर्ता भएका के कति खुले र के कति खुलेनन् भन्ने रेकर्ड भने विभागले नराख्ने गरेकाले वास्तविक लगानीबारे प्रष्ट हुन सकेको छैन । 

चालु आर्थिक वर्षको (२०७५/०७६) पहिलो महिनामा  २ अर्ब ८ करोड रुपियाँको विदेशी लगानीको प्रतिबद्धता आएको छ । यो लगानी ६१ वटा प्रोजेक्टको हो । यो प्रतिबद्धताअनुसार उद्योग सञ्चालन भए २ हजार ३ सय ३९ जनाले रोजगारी पाउनेछन् । कृषि, ऊर्जा, सूचना प्रविधि, उत्पादन, सेवा, पर्यटनलगायत क्षेत्रमा वैदेशिक लगानी आउने गरेको छ । 

६ वर्षको वैदेशिक लगानी प्रतिबद्धता

स्रोत : उद्योग विभाग

चीनको मात्रै एक खर्ब, भारतको ५३ अर्ब लगानी प्रतिबद्धता 

छिमेकी देश भारत र चीनले प्रत्येक वर्ष उद्योगमा लगानी प्रतिबद्धता जनाएका छन् । आव २०६९/०७० देखि हालसम्म पाँच वर्षमा चीनको लगानी बढी छ भने एक वर्ष (२०६९/०७०) भने भारतको लगानी प्रतिबद्धता बढी छ । चीनको मात्र एक खर्ब  एक अर्ब ५८ करोड रुपियाँ प्रतिबद्धता आएको छ । भारतको ५३ अर्ब ८३ करोडको प्रतिबद्धता आएको छ । पछिल्लो समय नेपाल चीनका लागि लगानी गर्ने आकर्षक गन्तव्यका रूपमा रहँदै आएको चीनको लगानी प्रतिबद्धताले पुष्टि गर्छ । नेपालमा लगानी गर्न अमेरिका, जापान, बङ्गलादेश, इटाली, उत्तरकोरियालगायतका देश आउन थालेका छन् । 

लगानी गर्ने मुख्य पाँच देश कसको कति लगानी ?
लगानी रकम रु. १० लाखमा



(चीनको मेनल्यान्ड, हङ्कङ र ताइवानको लगानीलाई एकै ठाउँमा जोडिएको छ । )

लगानी आउन थालेयता विदेशबाट १ खर्ब ८६ अर्ब भित्रियो : राष्ट्र बैङ्क
वैदेशिक लगानीको प्रतिबद्धता ज्यादा आउने गरे पनि वास्तविक लगानी भने न्यून भित्रिने गरेको छ । गत आर्थिक वर्षमा नेपाल भित्रिएको वास्तविक वैदेशिक लगानी १७ अर्ब ५१ करोड रुपियाँ रहेको नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । जबकि यस वर्ष उद्योगमा वैदेशिक लगानी प्रतिबद्धता ५५ अर्ब ७३ करोड रुपियाँ आएको थियो । यसबाट नै पुष्टि हुन्छ कि प्रतिबद्धताभन्दा निकै कम लगानी मात्र स्वदेश भित्रिन्छन् । 

वैदेशिक लगानी भित्रिनथाले यता भने १ खर्ब ८६ अर्ब रुपियाँ लगानी आएको थापाले बताए । यद्यपि, हामीले माथि ५ वर्षको मात्र उद्योगमा वैदेशिक लगानीको प्रतिबद्धताको बारे उल्लेख गरेका छौँ । वैदेशिक लगानीको रकम राष्ट्र बैङ्कमार्फत भित्रिने गर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप