शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जाे डाक्टर बन्ने सपना लत्याएर सौन्दर्य क्षेत्रमा लागे

बुधबार, ०६ भदौ २०७५, १२ : ०९
बुधबार, ०६ भदौ २०७५

देशमा अहिले सौन्दर्य प्रतियोगिताको बाढी नै आएको छ । हरेक वर्ष आधा दर्जनभन्दा बढी प्रतियोगिता थपिने गरेका छन् । सौन्दर्य प्रतियोगिताले विभिन्न विकृति भित्र्यायो भन्ने आवाज समेत कहीँकतै सुन्न पाइन्छ । तर उनी भने यो मान्न तयार छैनन् । भन्छन्, ‘प्रतियोगिताले व्यक्ति र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिन्छ ।’

अहिले जति पनि सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेका छन् । तीमध्ये ७० प्रतिशतमा उनको सहभागिता देख्न सकिन्छ । उनी अर्थात निशु झा ।

सुरुमा इभेन्ट म्यानेजरका रूपमा इन्फिनिटी इन्टरटेनमेन्टमार्फत सौन्दर्य प्रतियोगितामा क्रियाशील उनी पछिल्लो समय दर्जनभन्दा बढी सौन्दर्य प्रतियोगिताको आयोजक संस्था रिबन इन्टरटेनमेन्टका प्रमुख पनि हुन् । सर्लाही कविलासी ९ स्थायी घर भएका उनी सौन्दर्य प्रतियोगितामार्फत राष्ट्रिय विकासमा ठूलो योदान पुर्याउन सकिन्छ भन्ने मान्यताका साथ यही कर्ममा समर्पित छन् ।

प्रतियोगिता आयोजना गर्नु ठूलो कुरो होइन । विजेताको भविष्य सुनिश्चित गर्नु महत्वपूर्ण भन्ने धारणाका साथ उनी आबद्ध रिबन इन्टरटेनमेन्टबाट ‘मिसेस नेपाल इन्टरनेसनल’, ‘सुपर मोडल कन्टेस्ट’, ‘मिस्टर एन्ड मिस एसएलसी’, ‘फेसन अफ द इयर’, ‘कलेज डिभा’ लगायत पुगनपुग दर्जन प्रतियोगिता हुँदै आएको छ । जसको पहिचान अन्यभन्दा भिन्न छ । यसको अलवा बाहिरबाट आयोजना हुने दर्जनौँ सौन्दर्य प्रतियोगितासमेत उनले ह्यान्डलिङ गर्ने गरेका छन् । 

डाक्टर बन्ने सपना लत्याए 
उनमा सानैदेखि डाक्टर बन्ने सपना थियो । सन् २००८ मा त्यो सपना लत्याएर इभेन्ट उनी म्यानेजमेन्टमा छिरे । उक्त समय उनीसँग ‘परम्परा, संस्कृति र मोडल अफ द इयर विथ मिस इन्डिया’ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको अनुभव मात्र थियो । अनुभवले इभेन्ट म्यानेजमेन्टको पहिलो पाइलामै सफलता हात लाग्यो । त्यही भएर उनले सन् २०१३÷१४ मा रिबन इन्टरटेनमेन्ट सुरु गरे । जुन कम्पनीले अहिले वर्षमा दर्जनभन्दा बढी सुन्दरी उत्पादन गर्दै आएको छ । 

सौन्दर्य प्रतियोगिता अति आवश्यक
सौन्दर्य प्रतियोगिताको नाममा विभिन्न विकृति भित्रिएको गुनासा यदाकदा  सुनिन थालिएको छ । सौन्दर्य प्रतियोगिता आवश्यक छैन भन्ने पनि कोही कोही भेटिन्छन् । सेल्फग्रुमिङ, व्यक्तित्व विकास, विभिन्न खालका मोडलिङसम्बन्धी ज्ञान बाढ्ने एउटा महत्वपूर्ण थलो भएको बताउने उनी नाम कमाउँछु, देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँछु भन्नेका लागि सौन्दर्य प्रतियोगिता आवश्यक रहेको उनी बताउँछन् ।

भन्छन्– ‘आफू समाजसेवामा लाग्छु भन्नेका लागि सौन्दर्य प्रतियोगिता आवश्यक छ ।’ जुनै पनि कामको पोजेटिभ, नेगेटिभ प्रतिक्रिया बाहिर आउने बुझाइका उनीसँग प्रतियोगिता गर्दाका तीतामीठा अनुभव पनि छन् । कतिपय अभिभावकबाट प्रतियोगितामा धाँधली भयो भन्नेदेखि आफ्नो प्रतियोगीलाई नराम्रो देखाएको आरोपसमेत खेप्नुपरेको बताउने उनी धेरैले कति राम्रो कार्यक्रम गर्नुभयो । एकदमै राम्रो म्यानेजमेन्ट भयो भन्ने भनाइबाट मन आनन्दित हुने उनी सुनाउँछन् । 

के हो सौन्दर्य प्रतियोगिता ?
सौन्दर्य प्रतियोगिता अमेरिकाबाट सुरु भएको हो । विश्वमै पहिलो पटक आयोजना भएको प्रतियोगिता ‘मिस अमेरिका’ हो । नेपालको हकमा भने ‘मिस नेपाल’ पुरानो मान्न सकिन्छ । बाहिरी सौन्दर्यभन्दा पनि भित्री सौन्दर्य र बौद्धिकता प्रतियोगिताले निखार्ने भएकाले ‘ब्युटि विथ ब्रेन’ पनि यसलाई भन्ने गरिएको उनी बताउँछन् । 

सौन्दर्य प्रतियोगितामा दर्जनभन्दा बढी विषयमा प्रशिक्षणसमेत राख्ने गरिन्छ । व्यक्तित्व विकास, क्षमता अभिवृद्धि साथै व्यक्तिको भविश्य निर्माणमा प्रतियोगीले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ रहेको छ । 

अहिले च्याउसरी विभिन्न प्रतियोगिता भित्रिएको देखेका उनले सबै आयोजक कम्पनीका निर्देशकअनुसार चलेको उनले पाएका छन् । सबै प्रतियोगिता स्थापित हुन नसकेको लेखेका उनले राम्रो गुडविल भएको कम्पनी आयोजक रहेको प्रतियोगिता मात्र स्थिापित हुनसक्ने बताउँछन् । ‘हरेक प्रतियोगिताको आआफ्नो च्यालेन्ज छन् । नयाँ भित्रिने प्रतियोगिताले आफूलाई प्रमाणित गर्नुपर्ने हन्छ’, उनले थपे । 

यस कारण जन्मियो रिबन इन्टरटेनमेन्ट 
२००९ मा उनले इन्फेनेटिभ इन्टरटेनमेन्ट नामको कम्पनी स्थापना गरेका थिए । सो समय राजधानी ‘मिस टिन काठमाडौँ’ नामको एक मात्र प्रतियोगिता हुन्थ्यो । एउटा मात्र प्रतियोगिता भएपछि चर्चा नहुने त कुरै भएन ।

त्यो कम्पनीमा मिसिनुभन्दा आफ्नै आइडिया र आफ्नै तरिकाले प्रतियोगिता गर्ने मनसायले उनले इन्फेनेटिभ इन्टरटेनमेन्ट अगाडि बढाए । यसपछि अहिलेको रिबन इन्टरटेनमेन्ट आएको हो । ‘बजारमा आयोजना भएका परम्परागतभन्दा भिन्न सौन्दर्य प्रतियोगिता गर्न रिबन इन्टरटेनमेन्ट आवश्यक देखेँ’, उनले अगाडि भने ‘रिबन इन्टरटेनमेन्ट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्ने मापदण्डअनुसार स्थापना गरिएको हो ।’ विगत ८ वर्षदेखि यो कम्पनीमार्फत आफूले राष्ट्रिय स्तरमा आयोजना गरेको सौन्दर्य प्रतियोगितामा पनि अन्तर्राष्ट्रिय स्तरको गुणस्तर दिएको उनको दाबी छ ।

व्यावसायिक बन्न गाह्रो 
अहिले अनेक नामका सौन्दर्य प्रतियोगिता आयोजना भइरहेका छन् । केही निरन्तर आयोजना हुन्छन् भने केही मौसमी छन् । केही बीचमै हराएका पनि छन् । निरन्तर आयोजना भएका पनि धेरै प्रतियोगिताको फाइनल देख्न पाइन्न । ‘आर्थिक अभावका कारण यसो हुने गरेको हो’ उनले समस्य औँल्याए ‘सौन्दर्य प्रतियोगिता धेरै भएकाले प्रायोजक पाउन गाह्रो छ ।’ आर्थिक अभाव भएपछि व्यावसायिक बन्न गाह्रो छ ।’ 

बाचा पूरा हुँदैन 
सौन्दर्य प्रतियोगिताका आयोजकले गरेको कतिपय बाचा पूरा नभएको बेलाबेलामा गुनासा गुन्जने गर्दछन् । यी विषयले मिडियामा स्थान पाउने गरेका छन् । ‘कम सहभागीका बीच पनि कहिलेकाहीँ प्रतियोगिता गर्नुपर्ने हुन्छ’, उनी भन्दै थिए– ‘अर्गनाइजेसनले आफ्नो घर, खेत बेचेर बाचा पूरा गर्न त सक्दैन ।’

सरकारको तर्फबाट सौन्दर्य प्रतियोगिता हेर्ने एउटा संस्थाको खाँचो देखेका उनले त्यो संस्थाले आयोजकको धरौटी पनि मागोस् भन्ने चाहन्छन् । ‘धरौटी मागेपछि जो पाए त्यही अर्गनाइजेसनमा आउँदैछ । धरौटीको मायाले राम्रो प्रतियोगिता आयोजना गर्न सबैलाई कर लाग्छ’, उनले अर्काे काइदा देखाए ।

हिजोका प्रतियोगी आज आयोजक


अहिले धेरै मानिस सौन्दर्य प्रतियोगितातिर लोभिएका छन् । दुःख नै नगरी छिटो पैसा आउने बुझाइ धेरैको छ । यही बुझाइले एक इभेन्टका प्रतियोगी अर्काे इभेन्टको आयोजक बन्ने गरेका छन् । ‘हिजोका प्रतियोगी आज आयोजक भइरहेका छन्’, उनले भने– ‘यो खालको विकृतिले सौन्दर्य प्रतियोगितामा वृद्धि ल्याएको छ भने गुणस्तरमा ह्रास आएको छ ।’ च्याउसरी उम्रिएका प्रतियोगितामा राम्रो प्रतियोगिता कुन भनेर छान्न अहिले जोकोहीलाई पनि कठिन छ । ‘आयोजक कम्पनीको प्रोफाइल बुझ्नुपर्यो । कम्पनीको प्रोप्राइटरको बारेमा बुझ्नु पर्यो । प्रतियोगिताले गरेका बाचाहरू पूरा गरेका छन् छैनन् हेर्नु पर्यो’, उनले टिप्स दिए– ‘नयाँ भए पनि टिमतिर ध्यान दिनुपर्यो । नाम चलेको व्यक्ति छ भने जाँदा हुन्छ । डाउट लाग्छ भन्ने नजाँदा हुन्छ ।’

यो एक प्रकारको स्कुल हो 
सौन्दर्य प्रतियोगिता सेवामूलक व्यवसाय भन्ने गरिएको छ । तर पनि यसमा नाफा घाटाको हिसाब राखिन्छ । अहिले आयोजना भएका केहीलाई छोडेर भन्ने हो भने अधिकांशले प्रतियोगितामा घाटा भयो सुनाउने गरेका छन् । तर पनि हरेक वर्ष सौन्दर्य प्रतियोगिताको सङ्ख्यामा थपिँदै छ । एउटै जस्तो नाम लाग्ने विभिन्न प्रतियोगिता थपिन थालेका छन् । यसलाई उनी अन्तर्राष्ट्रिय ट्रेन्ड मान्दछन् । ‘यो प्रतिभा जाँच्ने थलो हो ।

विदेशमा पनि यसको गति तीव्र छ’, उनले भने । कतिपय सौन्दर्य प्रतियोगिता अभिभावकका लागि पीडादायी बन्दै गएका छन् । ठूलाठूला सपना देखाएर प्रतियोगी तान्ने गरिन्छ । बच्चाको जिद्दीका अगाडि अभिभावकले आयोजकको डिमान्ड सके पनि नसके पनि पूरा गर्नुपर्ने हुन्छ । कतिपयले यसलाई ब्ल्याकमेलिङ पनि भन्ने गरेका छन् । ‘यो एक प्रकारको स्कुल हो । यसमा विभिन्न खालका कोर्षहरू छन्’, उनले थपे– ‘कुनै कलेजले राम्रो पढाउँछ भन्नुको मतलव जागिर दिन्छ भन्ने होइन । उसले सर्टिफिकेट दिने हो । जागिर दिँदैन ।’

प्रतियोगिता बच्चा सहभागी गराउँदा केही घाटा नहुने उनको भनाइ रहेको छ । उनी यसरी थप्छन्– ‘बालकलाई प्रतियोगिताबाट ती कुरा सिक्न मिल्छ । जुन कुरा स्कुलबाट मिल्दैन र भविष्य निर्माणमा अति आवश्यक छ ।’ विभिन्न एक्स्ट्राक्रियाकलाप अन्तर्गत सौन्दर्य प्रतियोगिता पर्ने गरेको उनले सुनाए । उनले भने ‘अध्ययनले फुर्सदै छैन भने प्रतियोगितातिर ध्यान नदिँदा पनि हुन्छ । तर भविष्यमा केही गर्ने, नाम राख्ने उद्देश्य छ भने यो अनिवार्य छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप