मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भेरीमा पक्की पुल

बुधबार, ०६ भदौ २०७५, ०८ : ५१
बुधबार, ०६ भदौ २०७५

वीरेन्द्रनगर — कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित भेरी नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । 

सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित जामु र ताखाकुना जोड्ने भेरीमा पक्की पुल निर्माणको ९० प्रतिशत काम पूरा भएको छ । जामुस्थित भेरीमा लुम्बिनी–हिम्दुङ जेवी कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको हो । सो पुलको लम्बाइ ३५० मिटर छ । सम्झौताअनुसार पुल बनाउने अवधि पाँच वर्ष भए पनि तोकिएको अवधिभन्दा छिट्टै पुल निर्माण सम्पन्न हुन लागेको निर्माण कम्पनीका इञ्जिनियर दिनेशकुमार श्रेष्ठले जानकारी दिए । 

“हामीले समयमै पुल निर्माण सम्पन्न गछौँ,” उहाँले भन्नुभयोे, “अहिले पुलको बीच भागमा प्लाष्टर गरिएको छ ।” उहाँले स्थानीयवासी, राजनीतिक दल, कर्मचारीको उत्साहजनक साथ र सहयोगका कारण पुल समयमै निर्माण हुन लागेको बताउनुभयो । यही भदौभित्र पुल निर्माण गरिसक्ने उनको भनाइ छ । पुल सुरक्षाका लागि चार सय मिटरभन्दा बढीमा नदी किनारामा ढुङ्गा भर्ने काम गरिएको छ । 

यसअघि पुल नहुँदा ज्यान जोखिममा राखेर डुङ्गा चढ्ने गरिन्थ्यो । पञ्चपुरी नगरपालिकाको बाबियाचौर तथा सुर्खेत सदरमुकाम ज्यान जोखिमा राखेर जानुपर्ने बाध्यता रहेको पञ्चपुरी– १० जामुका सुरेन्द्र विष्टले बताउनुभयो । राति भेरी नदी तर्न निकै समस्या हुने गरेको थियो । भेरीमा २०७१ मा ठूलो बाढी आएको थियो । सो बाढीले पञ्चपुरी नगरपालिका–१० मा सो झोलुङ्गे पुल बगाएको थियो । बाढीबाट ९३ परिवार विस्थापित भएका थिए । त्यसयता भेरी तर्न डुङ्गाको प्रयोग गरिँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप