शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार कठोर रुपमा प्रस्तुत हुनुपर्छः निवर्तमान कानुनमन्त्री तामाङ

मङ्गलबार, ०५ भदौ २०७५, १९ : २४
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं– सत्तारुढ दल नेकपाका नेता एवम् निवर्तमान कानूनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारको विरुद्धमा वर्तमान सरकार कठोर रुपमा प्रस्तुत हुने बताएका छन् । मंगलबार राजधानीमा रिपोर्टस् क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

कार्यक्रममा बोल्दै उनले भने, ‘सरकारले न्यायालयलगायत अन्य क्षेत्रमा हस्तक्षेप गर्यो भनेर गलत प्रचार गरिएको छ । तर, सरकार भ्रष्टाचारीलाई कडा कारबाही गर्नेगरि अघि बढेको छ । बलात्कारीले नारीको अस्मिता लुट्छ, तर भ्रष्टाचारीले त मुलुकको अस्मितामाथि बलात्कार गर्छ । यसबारेमा सरकारले मृत्युपर्यन्त जेल सजाय दिनेसम्मको कानून अघि बढाउँदैछ ।’

सरकारलाई काम गर्नको लागि केही अप्ठ्याराहरु रहेको सुनाउँदै तामाङले भने,‘अहिले सरकारलाई हिड्न दिइएको छैन । सरकार कुद्नेमात्रै होइन यतिवेला उड्नुपर्ने हो । तर हिँड्नसमेत दिइएन् ।’ संघीय कानूनको अभावमा केही स्थानीय तहरुले कर उठाउन थालेको विषयलाई ठूलो ईस्यु बनाईएको पनि उनको गुनासो छ । उनले भने, ‘केही स्थानीय तहहरुले सबै अधिकार हामीमा आयो भन्ने ठानेर केही ठाउँहरुमा कर उठाएको देखियो । कानूनको अभावमा यस्तो भयो । अब सबै कुरा व्यवस्थित हुन्छ । सरकारले करको दायरा र शीर्षक निक्र्योल गर्नुपर्छ ।’

सुनुवाई समितिको पछिल्लो कदमबाट अब न्यायालय स्वच्छ, सक्षम र पारदर्शी हुने आफ्नो विश्वास रहेको पनि उनको भनाई थियो । उनले भने, ‘उच्च नैतिकवान र आदर्शवान व्यक्तिमात्रै अब न्यायाधीश बन्न पाउँछन् । उनीहरुले गरेको फैसला पीडकको नभई पीडितको पक्षमा हुनेछन् ।’

कार्यक्रममा बरिष्ठ अधिवक्ता एवम् डेमोक्रेटिक लयर्स एशोसिएशनका पूर्व अध्यक्ष यदुनाथ खनालले पछिल्लो समय न्यायालयमाथि एकपछि अर्को हस्तक्षेपको श्रृंखला बढिरहेको गम्भिर आरोप लगाए ।  खनालले भने, ‘केही समय अघिदेखि न्यायालयमाथि एकपछि अर्को हस्तक्षेप बढिरहेको छ । चाहे त्यो मिडियाबाट होस्, या आम जनताबाट होस वा संसदीय समितिबाट होस् । न्यायालयमाथि हस्तक्षेपहरु बढिरहेका छन् ।’

संविधानबमोजिम कामु प्रधान्यायाधीश दिपकराज जोशीनै भएको खनालको दाबी छ । उनले भने, ‘संविधानको धारा १२९ को दफा ६ बमोजिम कामु प्रधानन्यायाधीश जोशीनै हुन् । जोशी अहिले विदामा बसेका छन् । जोशी विदामा बस्दा बरिष्ठतमका आधारमा ओमप्रकाश मिश्र कामु भएका हुन् । जोशी काममा फर्किएपछि बरिष्ठ न्यायाधीशको हैसियतले कामु प्रधानन्यायाधीश हुन्छन् ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप