शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साझा प्रकाशनका महाप्रवन्धक शर्माको राजीनामा माग

मङ्गलबार, ०५ भदौ २०७५, १८ : १४
मङ्गलबार, ०५ भदौ २०७५

काठमाडौं–पुनर्वहालीको मुख्य मागसहित आन्दोलन गर्दै आएका साझा प्रकाशनका पूर्व कर्मचारीहरुले महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माको राजीनामा माग गरेका छन ।  पूर्व कर्मचारीहरुले आफूहरुलाई स्वेच्छिक अवकाश दिने बेलामा गरिएको सर्त अनुसारको सेवा तथा सुविधा नदिएको भन्दै मंगलबार साझाका महाप्रबन्धक शर्माको राजीनामा माग गरेका हुन् ।

पूर्व कर्मचारीहरुले उपदानसहितको सेवा सुविधा नदिएकै कारण आफूहरु समस्यामा परेको गुनासो पनि गरेका हुन् । आफूहरुको सेवा र सुविधा उपलब्ध गराउन नसकेको भन्दै पूर्व कर्मचारी सतिस मजगैंयाले महाप्रबन्धक शर्माको राजीनामा माग गरेका छन् ।

उनले महाप्रबन्धक शर्माले आफन्त र राजनीतिक पहुँचका आधारमा नयाँ कर्मचारी करारमा राखेको भन्दै आक्रोश पनि व्यक्त गरे । अर्का पूर्व कर्मचारी अतिसमान श्रेष्ठले उपदानसहितको सेवा र सुविधा दिने सर्त पालना नगरेपछि आफूहरु मारमा परेको गुनासो गरेका छन् ।

यता, महाप्रबन्धक शर्माले भने अवकाशप्राप्त पूर्व कर्मचारीहरुलाई उपदानका लागि सम्बन्धित मन्त्रालयसँग पहल भइरहेको बताए । उनले आफूले ६३ करोड ऋणमा डुबेको साझालाई जोगाएको दावी गर्दै आफ्नो राजीनामा माग गर्नुको कारण पुष्टि देखाउन चुनौति पनि दिए । 

कर्मचारीहरु असार ३२ गते देखि दैनिक कार्यालय समयमा साझा प्रकाशन परिसरमा धर्ना बस्दै आएका छन् । साझा प्रकाशनका अधिकृत स्तरका २२ जना, सहायक स्तरका ६९ जना गरी १ सय २८ जना कर्मचारीले स्वेच्छिक अवकास दिएका थिए । साझाले अवकास प्राप्त कर्मचारीहरुको उपदान बापत १७ करोड बराबरको रुपैया दिन बाँकी छ ।

उपदानलगायत सेवा सुविधाको माग गर्दै पूर्व कर्मचारीहरुले साझा प्रकाशनमा धर्ना दिएको मंगलबार ३६ दिन पुगेको छ । उनीहरुले आफूहरुको माग सम्बोधन नभईसम्म धर्नालगायतका आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने चेतावनी पनि दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप