मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पार्टी एकता, सरकार र नेपाली मनोविज्ञान

मङ्गलबार, ०५ भदौ २०७५, १४ : १९

आज देशका दुई ठूला कम्युनिस्ट पार्टीहरूबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी बनेको पनि झण्डै सय दिन पुग्न थालेको छ । यो सय दिनको बीचमा केवल केन्द्रीय समितिको गठन र एकताका अन्य प्रक्रिया पूरा गर्न केही कार्यदलहरू बनेका छन् । त्यो एकता प्रक्रिया तल्ला कमिटीसम्म पुग्न अझ केही समय लाग्न सक्छ । यसबारे पनि नेपाली जनमानसमा थुप्रै चिन्ता, चासो र जिज्ञासाहरू रहेका छन् । अर्काेतिर सरकार गठन भएको पनि ५ महिना पूरा भएको छ । सरकारले आफ्नो कामको ५ महिने उपलब्धि सार्वजनिक गरिरहँदा नेपाली जनतामा भने खासै उत्साह पैदा भएको छैन । यसबारे पनि हाम्रो समाजमा केही भ्रम, केही अन्यौल र केही प्रश्नहरू जेलिएर बसेका छन् । 
 

   सरकार बारेका कतिपय टिप्पणीहरू ज्यादै नकारात्मक, अशोभनीय र प्रतिशोधात्मक छन् भने कतिपय टिप्पणीहरू सरकार र पार्टी नेतृत्वले बुझ्न, समीक्षा गर्न र आवश्यक सुधार गर्न सचेत पार्ने उद्देश्यमा पनि आधारित छन् । हामीले ती फरक प्रवृत्ति र नियतबाट उठेका टिप्पणीहरूलाई त्यसको अन्तर्यमा गएर बुझ्न जरुरी हुन्छ । यो सानो आलेखमा पार्टी एकता, सरकार र नेपाली मनोविज्ञानका केही जीवित पक्षहरूमाथि चर्चा गरिनेछ ।

पार्टी एकता र सरकारबारे
    पार्टी एकताबारे बजारमा आएका कतिपय हल्लाहरू सही छैनन् । यससँग जोडिएका कतिपय नदेखिने पाटा पक्षहरू पनि होलान् तर अहिले हाम्रो चासोको विषय ती होइनन् । अब एकता भइ नै सक्यो भने यसलाई सकारात्मक परिणाममा बदल्न एकता प्रक्रियालाई सही मार्गदर्शनमा लैजान अनिवार्य छ । आज नेपाली राजनीति पार्टीहरूभित्रका गुट, उपगुट वा विविध स्वार्थ समूहको क्रीडास्थलको मैदान बनेको छ । गुट, उपगुट वा स्वार्थ समूहबीचको सम्बन्ध यति जटिल बनेको छ कि अब यो पूरै जात जस्तो भएको छ । अझ कम्युनिस्ट पार्टी त्यसबाट बढी आक्रान्त छ । आजको कम्युनिस्ट पार्टी निर्माणको यो चरणमा आइपुग्दा थुप्रै स्कुलिङहरूको केन्द्रीकरण भएको छ । स्कुलिङ भनेको पार्टीभित्रको संस्कार र संस्कृति हो । फरक पहिचान, फरक क्षमता वा केही नयाँपनको समिश्रणबाट पार्टी बन्ने हो । यो कुरा बुझ्दा बुझ्दै पनि स्कुलिङलाई जातमा बुझिदिने र जीवनभर उसको स्कुलिङको पूरै जग भत्के पनि ऊ भने त्यही गुट, उपगुट वा स्वार्थसमूहको शिकार भइरहने घिनलाग्दो परम्पराले पार्टीले लामो समयदेखि आफूलाई रूपान्तरण गर्न सकिरहेको थिएन । यी र यस्ता यावत प्रश्नहरूको जवाफका लागि पनि पार्टी एकता आवश्यक थियो ।

    अझ भनौँ नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्न, वामपन्थी जनमतलाई विघटन हुन नदिन र यसबाट पैदा हुने तागतबाट वस्तुपरक समृद्धिका लागि खर्च गर्न पार्टी एकता हुनुपर्ने थियो र भयो । चिनियाँ क्रान्तिमा माओले प्रतिकात्मक अर्थमा ‘माटोमा बालुवा छर्ने’ भनी चिनियाँ कम्युनिस्ट पार्टी र जनमुक्ति सेनामा नयाँपन ल्याए जस्तै यो पनि फरकपन र पहिचानका लागि आवश्यक थियो । यसको पछाडि कुनै व्यक्तिहरूको नियत र स्वार्थ के थिए ? के होलान् ? त्यो पछि इतिहासमा प्रष्ट हुँदै जानेछ तर अहिले हाम्रो विषय त्यो होइन । मुख्यगरी पार्टी एकता नयाँ कम्युनिस्ट पार्टी निर्माण मुलुकको समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने काममा अधिकतम उपयोग गर्न प्रयोग गरिनुपर्छ । तर धेरैको बुझाइ यो छैन वा पार्टी एकतालाई आफ्नो स्वार्थ, गुट, उपगुटको व्यवस्थापनमा प्रयोग गर्ने गरी उपयोग गरेको पाइन्छ । जसको कारण पार्टी एकताबारे पनि बजारमा नकारात्मक टिप्पणीहरू बाहिरिएका छन् । यसलाई समयमै रोक्न जरुरी छ । त्यसका लागि अपारदर्शी कार्यशैलीको अन्त्य, सामूहिक छलफलमा आधारित सापेक्षित निष्कर्ष र समाजवादी यात्राका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको सही विन्यास, काम र योग्यताको आधारमा कार्यकर्ताको व्यवस्थापन गर्न अति आवश्यक छ ।

    त्यसैगरी अहिले सरकारबारे पनि थुप्रै टिप्पणीहरू बजारमा आएका छन् । टिप्पणीलाई हेर्ने हो भने २÷३ को सरकार र यसको पङ्क्ति रक्षात्मक र कमजोर प्रतिपक्ष र सीमित व्यक्ति/समूह आक्रामकजस्तो देखिन पुगेको छ । यो विषयमा पनि हामीले समीक्षा गर्नैपर्छ । यद्यपि यो ५ महिने अवधिबाट सरकारको समग्र कामको मूल्याङ्कन गर्न सकिँदैन । ५ महिनामा अवधिको हिसाबले ठूलै उपलब्धि हासिल हुन सम्भव छैन । अहिलेको राजनीतिक प्रणाली, कर्मचारीतन्त्र र तिनको परम्परागत मानसिकता र हाम्रा कार्यशैली चरित्र र अहमताको प्रदर्शन गर्ने र अरूबाट सिक्न नखोज्ने, सुझाव नमान्ने प्रवृत्तिहरू ज्यूँदै रहेको अवस्थामा ठूलै परिवर्तनको अपेक्षा राख्नु पनि त्यति सान्दर्भिक हुँदैन । तर सरकारको कदम संविधानको कार्यान्वयन, समृद्धि र समाजवादको आजको खाका निर्माण, जनताका आजका आवश्यकताको परिपूर्तिको योजना, आर्थिक सुशासन, भ्रष्टाचार विरुद्धको अभियान र सामाजिक मनोविज्ञान जोड्ने दिशामा केन्द्रित छ वा हावामा गफ गरिरहेको छ ? जनताले यसको सही जवाफ खोजेका छन् र यो विषय प्रष्ट हुँदा सरकारप्रतिको आलोचना प्रतिपक्षसँग मात्र बाँकी रहन्छ तर जनमानसबाट हट्ने छ । 

नेपाली मनोविज्ञान र हाम्रो कार्यशैली
    नेपाली समाजको मनोविज्ञान सत्ता विरोधी रहँदै आएको छ । यो भावावेशमा चल्छ । भावावेश भनेको आवेग पनि हो । तर केही सामान्य कुरामा ध्यान पु¥याउँदा यी विषय जम्मै हल भएर जान सक्छ । खासगरी सरकारको काम गर्ने तौरतरिका, सरकारको खर्च प्रणाली, मन्त्रीहरूको कार्यशैली, उनीहरूका सचिवालयहरूका अवाञ्छित गतिविधिहरू, नेताहरूको गैरजिम्मेवारपन, सरल र सहज पहुँचको अभाव र अपारदर्शी गतिविधिहरूप्रति हामी सबैका मौनताबाट पैदा भएका समस्याहरूले नेपाली समाजको मनोविज्ञानमा ठूलो प्रभाव पारेको छ । नेता, मन्त्री वा पदीय दायित्वमा रहेको व्यक्तिले आफूलाई अजीवको प्राणी ठान्ने र तिनका सचिवालय त्यही अजीवको प्राणीलाई घेराहाल्ने र रमाउने जस्ता प्रवृत्तिले पनि सरकार र पार्टीप्रति नकारात्मक भाव पैदा भएको छ । अझ फोन सम्पर्कबाट सरल र सहज पहुँचको कल्पना गर्न त धेरै टाढाको विषय हो । एक÷दुई पटक फोन गरेको फोन वा मेसेजको जवाफ तत्काल दिने हो भने त्यो व्यक्तिले लगातार फोन त गर्दैन नि ? हो, सचिवालय र मन्त्रीज्यूहरू, नेताज्यूहरू असाध्यै व्यस्त हुनुहुन्छ । कहिलेकाहीँ खाना खाने समय पनि मिल्दैन । तर जनताले जवाफ हुन्छ र हुन्नमा खोजेका छन् । त्यसकारण यो कसैप्रति आलोचना होइन कि सम्पर्क प्रणालीलाई व्यवस्थित ग¥यौँ भने सरकार र पार्टीप्रतिको आलोचना धेरै हदसम्म कम भएर जान्छ । त्यसकारण पहिलो, पार्टी र मन्त्रीको सचिवालयलाई व्यवस्थित गर्नुको विकल्प छैन । 

    दोस्रो कुरा, सरकारले तत्कालका समस्यामा ध्यान दिओस् भन्ने जनताको मनोविज्ञान हो । तत्कालीन समस्याको समाधान दिँदै दीर्घकालीन योजनामा अघि बढ्दा सरकारप्रति विश्वास पैदा हुन्छ । पहिला जनताबाट विश्वास आर्जन गरौँ । अनि मात्र १०, २० वर्षे दीर्घकालीन योजनाहरूको निर्माण गर्नेतिर लागौँ । 

    तेस्रो, कार्यकर्ता निराश भए सिङ्गो जनता निराश हुन पुग्छन् । त्यसकारण कार्यकर्ता निराश हुनबाट जोगाउन सबैका कुरा सुनिदिने, उचित कार्यविभाजन गर्ने, नियुक्ति वा लाभका पदमा आलोपालो प्रणाली अपनाउने र कार्यकर्ताको कामप्रति सम्मानभाव देखाइदिने हो भने पनि नेपालीको मन कोमल छ, सकारात्मक हुन समय लाग्दैन ।
 

   चौथो, अहिले उठेको कर प्रणालीबारे गम्भीर ध्यान जानुपर्दछ । यसले नेपाली जनमानसमा नकारात्मक मनोवैज्ञानिक प्रभाव पारेको छ । जसको कारण सङ्घीयता र गणतन्त्रप्रति नै नकारात्मक टिप्पणी सुरु हुन थालेका छन् । यसबारे सरकार मौन बस्नु हुँदैन आवश्यक पहलकदमी लिएर अघि बढ्न ढिला गर्नुहुँदैन ।
  

 पाँचौँ, हाम्रो कार्यशैली भद्दा प्रकारको छ । आफ्नो सामाजिक, राजनीतिक र आर्थिक सुरक्षाको ग्यारेन्टी खोज्न जे पनि गर्न तयार हुने अझ अर्काे पार्टीको कुनै गुटमा पनि विलिन हुन खोज्ने तर तल कार्यकर्ताहरूलाई आआफ्ना पूर्ववत पार्टीहरूको अस्तित्व खतरामा छ, तपाईंहरू उभिनुस् भनेर कार्यकर्तालाई भड्काउने उक्साउने र अन्तर्विरोधको दाउपेचबाट आफू अझ शक्तिशाली बन्दै जाने तरिकाले पनि कार्यकर्ताको मनोविज्ञान रक्षात्मक बन्न गएको छ । यसतर्फ पनि हामी सबैको ध्यान पुग्नु पर्दछ ।
  

 तसर्थ, अन्त्यमा नेपाली समाजको बनोट, आजको वस्तुगत आवश्यकता, उपरिसंरचनामा आएको परिवर्तन, पात्र फेरिए पनि चरित्र नफेरिएको आजको अवस्था, कमजोर प्रतिपक्ष भए पनि सरकारविरुद्ध चलाउने अभियान, राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको नेपाली राजनीतिप्रतिको चासो, हस्तक्षेप र निगरानी समेतलाई ध्यान दिएर मात्र आजको समाजवादमा पुग्न सकिन्छ ।

नेपाली जनताको मनोवैज्ञानिक चाहना र आकाङ्क्षालाई बुझेर तत्कालीन र दीर्घकालीन योजनाका आधारमा अघि बढ्न जरुरी छ । पार्टी र सरकारको पक्षमा दृढतापूर्वक उभिने रक्षा पङ्क्ति निर्माण गर्न आवश्यक छ र त्यो तलबाट होइन माथिबाट थालनी गर्नुपर्दछ । तसर्थ, पूर्ववत पार्टीहरूको कोटा, आरक्षण वा सङ्ख्याको किटानमा न अलमली समाजवाद र समृद्धिको यात्रामा सँगै निस्किएका सहयात्रीहरू हौँ भनी अघि बढौँ । यसैमा सबैको भलो छ । सबैको जय होस् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डोरप्रसाद उपाध्याय ‘निर्मलकुमार’
डोरप्रसाद उपाध्याय ‘निर्मलकुमार’

लेखक नेकपाका केन्द्रीय सदस्य हुन् । 

लेखकबाट थप