बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इरानको पहिलो लडाकू विमान सार्वजनिक, ककपिटमा देखिए राष्ट्रपति

मङ्गलबार, ०५ भदौ २०७५, १३ : २१
मङ्गलबार, ०५ भदौ २०७५

तेहरान– इरानले तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा मङ्गलबार पहिलो घरेलु लडाकू विमान सार्वजनिक गरेको छ । 

राज्य नियन्त्रित टेलिभिजनले इरानी राष्ट्रपति हस्सन रौहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा राखिएको नयाँ ‘कौसार’ विमानको ककपिटमा बसेको देखाएको छ । यो चौथो पुस्ताको लडाकू विमान हो । यस बिमानमा अत्याधुनिक उपकरणहरु र बहुउद्देश्यीय राडार जडान गरिएको छ । यो बिमान सत प्रशित इरानी प्रविधिबाट उत्पादन गरिएको हो । 

राज्य नियन्त्रित टेलिभिजनले यो बिमानको सफलतापूर्वक परीक्षण गरिएको र सार्वजनिक उडानका लागि धावनमार्गमा राखिएको जनाएको छ । यो बिमानका बारेमा शनिबार मात्र रक्षामन्त्री अमिर हतामीले जानकारी दिएका थिए । उनले यस परियोजनका बारेमा ज्यादै कम विवरण सार्वजनिक गरेका छन् । 

रक्षामन्त्री हतामीले इरानको प्रतिरक्षा कार्यक्रम सन् १९८० को दशकमा इराकबाट आठ वर्षसम्म लगातार आक्रमण भएदेखि नै आरम्भ गरिएको बताए । इजरायल र संयुक्तराज्य अमेरिकाले बारम्बार चेतावनी दिएपछि इस्लामिक गणतन्त्रले आफ्ना सबै विकल्प खुला राख्नुपर्दछ भन्ने मान्यताबाट अघि बढेको पनि उनले स्पष्ट गरे । 

‘हामीले इरान–इराक युद्धबाट परनिर्भर होइन आफैं सक्षम हुनु पर्दछ भन्ने कुरा सिक्यौं । हामीसँग स्रोत सीमित छ र न्यून लागतमै सुरक्षा प्रणालीलाई मजबूत बनाउन हामी प्रतिबद्ध छौं’ उनले भने । 

अमेरिकाले अबौं डलरका हातहतियार इरानका क्षेत्रीय प्रतिद्वन्द्वी राष्ट्रहरुलाई बेचेको छ, तर इरानमाथि प्रतिरक्षा कार्यक्रमलाई नियन्त्रण गर्न आग्रह गरिआएको छ । इरानमाथि दबाब सिर्जना गर्न अमेरिकाले आर्थिक नाकाबन्दी लगाइरहेको छ । –एएफपी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप