शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनले एल साल्भाडोरसँग कुटनीतिक सम्बन्ध जोडेलगत्तै ताइवानले दौत्य सम्बन्ध विच्छेद गर्यो

मङ्गलबार, ०५ भदौ २०७५, १३ : १०
मङ्गलबार, ०५ भदौ २०७५

ताइपेई– चीनले एल साल्भाडोरसँग कुटनीतिक दौत्य सम्बन्ध स्थापना गरेको घोषणालगत्तै ताइवानले एल साल्भाडोरसँगको दौत्य सम्बन्ध विच्छेद गरेको छ ।  ताइवानका विदेशमन्त्री जोसेफ ऊ ले सम्बन्ध विच्छेद गरेको घोषणा गर्दै चीनको पछिल्लो कदम ‘अशिष्ट’ रहेको प्रतिक्रिया दिए । 

‘हामी चीनको जस्तो डलर कुटनीतिमा संलग्न हुन चाहन्नौं,’ ऊ ले भने । एल साल्भाडोरले ताइवानसँग बन्दरगाह निर्माण परियोजनाका लागि ‘ठूलो धनराशी’ माग गरेको थियो भन्दै मन्त्री ऊ ले भने, ‘यस्तो परियोजनाले दुबै मुलुक ऋणको बोझले थिचिने भएकाले हामीले स्वीकार गर्न मानेका थिएनौं ।’ 

यो कदमसँगै ताइवानसँग दौत्य सम्बन्ध भएका मुलुकको संख्या १७ पुगेको छ र ताइवानसँग सम्बन्ध राखेकाहरु पनि चीनतर्फ ढल्किदै गएका छन् । चीनले ताइवानलाई आफ्नै मुलुकको एक हिस्सा रहेको दाबी गरिआएको छ । 

राष्ट्रपति चाई इङ–वेन शक्तिमा आएसँगै बेइजिङ र ताइपेईबीचको सम्बन्ध चिसिएको छ । राष्ट्रपति चाईले ताइवान ‘एक चीन’ का रुपमा मान्यता दिन अस्वीकार गरिरहेका छन् । सन् २०१६ मा राष्ट्रपतिमा चाई निर्वाचित भएदेखि नै चीनले ताइवानका मित्रदेशलाई आफूतिर आकर्षित गर्ने नीति लिएको छ । 

चाईको राष्ट्रपतीय शासनकालमा ताइवानको कुटनीतिक सम्बन्ध एल साल्भाडोरसहित पाँच देशसँग विच्छेद भइसकेको छ, यसै वर्षमात्र तीन देशले ताइवानसँगको सम्बन्ध विच्छेद गरेका छन् । यसै वर्ष बुर्किना फासो र डोमिनिकन रिपब्लिकले ताइवानसँगको दौत्य सम्बन्ध त्यागेका थिए । 

ताइवान र चीन दुवैले विकासशील मुलुकहरुमा कुटनीतिक सम्बन्ध विस्तार गर्न विगतदेखि नै तानातान गरिरहेका थिए । कुटनीतिक मान्यताका लागि यी दुवै देशले आर्थिक सहायता र अन्य सहयोगको हात फैलाउँदै आएका छन् । 

राष्ट्रपति चाईको वर्तमान सरकारले ताइवानको अन्तर्राष्ट्रिय प्रतिष्ठा वृद्धि गर्ने प्रयत्न गरिरहेको छ तर विश्वमञ्चमा बेइजिङको तिब्र प्रभावले त्यो सम्भव हुन सकेको छैन ।  बेइजिङले अन्तर्राष्ट्रिय मञ्चहरुबाट ताइवानको उपस्थितिलाई एकपछि अर्को गर्दै हटाउँदै लगेको छ र ताइवानको वरिपरि सैनिक अभ्यासको क्रम बढाएको छ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप