शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो अतितबारे बच्चालाई के भन्नेछिन् सन्नी लियोनी ?

मङ्गलबार, ०५ भदौ २०७५, १२ : १७
मङ्गलबार, ०५ भदौ २०७५

दिव्या आर्य/ बीबीसी

सन्नी लियोनीको जीवनमा आधारित वेब सिरिज करनजीत कौरको ट्रेलरमा एक पत्रकारले उनलाई सोध्छन्, ‘कुनै यौनकर्मी र पोर्न स्टारबीच के फरक छ ?’

जवाफमा सन्नी लियोनी भन्छिन्, ‘एउटा समानता छ – हिम्मत ।’

यही हिम्मत सन्नी लियोनीको चाल, अनुहार र कुरामा देखियो जब उनी मुम्बईको एक होटलमा अन्तर्वार्ताका लागि मलाई भेटिन् ।

उनले भनिन्, ‘करनजीत कौरका लागि पत्रकारसँग त्यो अन्तर्वार्ताको दृश्य सूट गर्न निकै मुश्किल थियो ।’

सन्नीले भनिन्, ‘मलाई निकै असहज लाग्यो किनभने त्यो निकै खराब प्रश्न थियो तरपनि हामीले त्यसलाई राख्यौं किनभने यो प्रश्न मानिसहरको मनमा हुन्छ र म यसको जवाफ दिन चाहन्थें ।’

सन्नी लियोनी पछिल्लो पाँच वर्षदेखि भारतमा सबैभन्दा धेरै गुगल गरिएको नाम हो । मानिसहरु उनलाई हेर्न चाहन्छन्, उनीबारे जान्न चाहन्छन् तर उनीबारे पहिले नै आफ्नो धारणा बनाइसकेका छन् ।

सन्नी मान्छिन् कि उनीबारे एक प्रकारको धारणा बन्नुको कारण उनी आफैं हुन् ।

‘म आफ्नो सोच र आफ्नो जीवनबारे एकदम पारदर्शी छु तर मानिसहरु मलाई मेरो पहिलेको पेशासँग जोडेर हेर्छन्, त्यसमा उनीहरुको कुनै गल्ती छैन तर समयसँगै म पनि परिवर्तन भएको छु र आशा गर्छु कि मानिसहरु पनि मेरो व्यक्तित्वमा यो परिवर्तन बुझ्नेछन् ।’

उनी बलिउडमा ‘आइटम नम्बर’ भनिने गीतपछि फिल्ममा पूरा भूमिका निभाइसकेकी छिन् । हालै उनको आफ्नै परफ्युम ‘द लस्ट’ सार्वजनिक भएको छ ।

मैले सोधें कि यो नामले पनि त उनको विशेष छवीलाई नै सार्वजनिक गरेको छ ।

यसलाई उनले अस्विकार गर्दै भनिन्, ‘यति कम उमेरमा आफ्नो नामको परफ्युम हुनु कुनै महिलाका लागि सपना हो र जब यो साँचो भयो तब मलाई यही नाम मनपर्यो ।’

सन्नीको भनाई थियो, ‘अन्य परफ्युम ब्रान्ड पनि त यस्तै नाम राख्छन् जस्तै सिडक्शन वा फायर एण्ड आइस ।’

करनजीत कौर सन्नी लियोनीको वास्तविक नाम हो ।

उनको जीवनीमा आधारित वेब सिरिजलाई यो नाम दिँदा शिरोमणी गुरुद्वारा प्रबन्धक समितिले ‘कौर’ नामले सिख धर्ममा निकै महत्व राख्छ जबकी सन्नीको काम पोर्नसँग जोडिएको भन्दै विरोध गरेका थिए ।

सन्नीलाई जब मैले यो कुरा गरें तब उनले भने, ‘यो नाम मेरो पासपोर्टमा छ । मेरा आमा–बुवाले मलाई यो नाम दिनुभएको थियो जो अब यसबारे स्पष्टिकरण दिन यो संसारमा हुनुहुन्न ।’

उनी भन्छिन्, ‘मेरो वास्तविक नाम करनजीत कौर हो । सन्नी लियोनी मेरो कामको मात्र नाम हो ।’

पोर्न उद्योगमा आफ्नो कामका लागि सन्नी कहिले पनि लज्जित भइनन् । अन्तर्वार्ताको क्रममा उनले भनिन्, ‘त्यो मेरो रुची थियो ।’

के भारतमा पनि कानूनी रुपमा पोर्न इन्टस्ट्रि हुनुपर्छ भन्ने प्रश्नमा उनले तत्कार उत्तर दिइन्, ‘यो मेरो निर्णय होइन, भारत सरकार र यहाँका मानिसहरुको हुनेछ ।’

तर के यस्तो उद्योग हुँदा यौनसम्बन्धबारे सहजता र खुल्लापन होला ? अमेरिकामा उनको अनुभवले के भन्छ ?

जवाफमा सन्नीले भनिन्, ‘आफ्नो नीजि रुची अरुमाथि थोपरिनु हुँदैन । समाजको सोच हरेक परिवारबाट बन्छ र हरेक युवतीको सोच उनका आमाबुवाको लालनपालनमार्फत ।’

सन्नीका आमाबुवा उनको यो निर्णयलाई घृणा गर्दथे । तर उनका आमाबुवाले उनलाई जस्तो संस्कार दिए, त्यसले आफूलाई एक स्वतन्त्र विचार भएको महिला हुन सहयोग गरेको उनी बताउँछिन् । यसका लागि उनी आफ्नो आमाबुवालाई सम्मान गर्ने गरेको पनि बताउँछिन् ।

अब सन्नीका आफ्ना सन्तान छन् । उनले एक छोरीलाई धर्मपुत्रीको रुपमा पालेकी छिन् र सरोगेसीमार्फत उनका दुई छोरा छन् ।  

के उनी उनीहरुलाई आफ्नो जीवनको निर्णय दिने स्वतन्त्रता दिनेछिन् ?

सन्नीले भनिन्, ‘पक्कै पनि । म चाहन्छु कि मेरा सन्तान त्यो उचाईसम्म पुग्न सकून्, मार्ससम्म पुगुन् तर उनको निर्णय र बाटो उनीहरुको आफ्नो हुनेछ ।’

मेरो अन्तिम प्रश्न सायद सबैभन्दा मुश्किल थियो । त्यो सन्नी लियोनीबारे थियो तर सायद यसको जवाफ करनजीत कौरले दिनु पर्दथ्यो ।

के तपाईं आफ्नो पछिल्लो पेशाबारे आफ्नो बच्चालाई सम्झाउन सक्नुहुन्छ ?

सन्नीलाई यो राम्रो त लागेन तर यो प्रश्न उनको मनको कुनै कुनामा पक्कै थियो होला ।

आफ्नो जीवनमा उनले जुन पनि निर्णय लिइन् त्यसले व्यक्तिहरुमा बनाएको धारणाका कारण उनलाई बाँच्न सजिलो छैन ।

तर त्यही हिम्मतसहित उनले भनिन्, ‘अहिलेका लागि यसबारे मैले सोचेको छैन । मेरो मनमा लामो समयदेखि आमा बन्ने इच्छा थियो र अब यो अनुभवको हरेक पलको रस लिइरहेकी छु ।’

अन्त्यमा उनले भनिन्, ‘तर समय आएपछि म पक्कै पनि निकै इमान्दार भएर यसबारे बच्चालाई भन्नेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप