केन्द्रीय संस्करण

वाराणसी यात्रा अनुभव : दुई प्राचीन शहरलाई जोड्दै बुध्द एयर

person access_timeभदौ ५, २०७५ chat_bubble_outline0

शोभा ज्ञवाली

काठमाडौ- कुनै महान आत्माले भनेका थिए, 'तिमीले के कति पढेका छौं मलाई नसुनाउ । बरु तिमीले के कति यात्रा गरेका छौं त्यो चाहीँ सुनाउ । 

सायद यात्राले दिने ज्ञान, पढेका कुराले भन्दा गहन हुँदो हो । त्यसैले पढेका कुराभन्दा यात्रामा महसुस गरेका कुरामा ती महान आत्माले जोड दिएका होलान् । यसपटकको मेरो तीर्थयात्राले यस्तै केही सिकायो ।
हामीले बच्चा बेलामा सुन्थ्यौं, बनारसका लड्डु को खाए वह भी पछताए, जो ना खाए वह भी पछताए । ' हामी अर्थ बुझ्दैनथ्यौं, तरपनि कहिले काहीँ लड्डु खाने बेलामा वातावरण रमाइलो पार्न हामी दोहोर्याई तेहर्याई ' बनारसका लड्डु.... भन्दै ठूलो स्वरमा हल्ला गर्थ्यौं । लड्डुभन्दा पर बनारस नेपालीहरूका लागि ज्ञान आर्जन गर्ने थलो थियो, आफ्ना आस्थाका भगवान सम्झने पुण्य भूमि थियो । समय क्रममा नेपालीहरूलाई ज्ञान आर्जन गर्ने थलो बनारसमात्र रहेन, तर पुण्य आर्जन गर्ने थलोको रुपमा यद्यपि छदैछ ।र, सायद यही कारण पनि म त्यहाँ मनको शान्ति र पुण्यको लोभले आकर्षित भएँ ।

बनारस जीवनमा एकचोटी त पुग्नै पर्छ र गंगा नुहाउनै पर्छ भन्ने हामी नेपालीको विश्वास छ । कतिपय सक्नेहरू बनारस पुग्छन् र गंगा नुहाउँछन् । नसक्नेहरु वाग्मती वा ठूला नदीहरूमा गंगा सम्झँदै नुहाउँछन् । समय मिल्दा आफैँ किन काठमाडौंबाट बनारस र गंगा सम्झने ? किन आफै त्यहाँ नपुग्ने भन्ने लागेपछि माघ महिनाको पहिलो साता म बुद्ध एयरको प्याकेज लिई बनारस पुगेकी थिएँ । नेपाली ३७ हजार रुपैयाको प्याकेजबाटै मैले बनारस, सारनाथ, बोधगया, गयाजस्ता हिन्दुहरुको पवित्र तीर्थस्थलको भ्रमण गरेँ ।

वारानसको आरती, पूजा पाठ, खानपिन, संस्कृति, रहनसहन, वारानसका गल्ली, त्यहाँको भीडभाड, वाराणसी उपल्लो वर्गका शोख आदि राम्रो-नराम्रो धेरै कुरा मैले सुन्दै आइरहेकी थिए ।त्यहाँ त्यस्ता कैयौं कुराको अनुभव लिनुभन्दा पनि विशुद्ध धार्मिक पर्यटन मेरो सोचमा थियो ।

एक घण्टाको उडानमा बनारस पुगियो । सुरुको दिन साँझ काल भैरवको दर्शन गरियो । काल भैरव बनारसको द्वारपाल भनि चिनिँदा रहेछन् । सन् १७१५ मा यो मन्दिर स्थापना गरिएको रहेछ । काल भैरवले काशी बासीलाई रोगब्याधी तथा विविध किसिमका डरबाट बचाउँछन् भन्ने गहिरो विश्वास रहेछ । जो कोही आउँदा सबैभन्दा पहिला काल भैरवको दर्शन गर्नुपर्छ भन्ने मान्यताअनुसार मैले पनि काल भैरवको  दर्शन गरेँ । 

भोलिपल्ट बिहान स्नान गरेर विश्वनाथ बाबाको दर्शन गर्न पुगियो । बिहानमात्र थाहा भयो, काठमाण्डौजस्तै बनारसपनि मन्दिरै मन्दिरको सहर रहेछ । जताततै फूल र प्रसाद बेच्न बसेका बिक्रेता, सबैको निधारमा चन्दन र रातो टीका, सबैतिर शाकाहारी भोजन, जताततै घण्टीको निरन्तर टङटङ आवाजले वातावरण नै भिन्दै बनाइरहेको थियो । 

त्यहाँ कति धेरै मन्दिर छन् भन्ने कुरा एउटा आहानबाटै प्रस्ट हुन्छ । एक एक दाना चामल हरेक भगवानलाई चढाउँदै हिँड्यो भने पनि बनारसका मन्दिर सकिँदैनन् , बरु चामलका दाना सकिन्छन् रे ! यो कुरा चाहिँ त्यही पुगेर भोग्दा थाहा भयो । 

बनारसको सबैभन्दा रमाइलो चाहिँ बाबा विश्वनाथ मन्दिरमा २:३० बजे बिहान हुने मंगल आरती रहेछ । यो बेला आरती र विशेष पूजा हुँदोरहेछ । रु ३०० को टिकट काटेर आरती र विशेष पूजा दर्शन गर्न पाइने रहेछ । दर्शन गर्दा गर्दै तिर्थालुहरु एक किसिमको ध्यानको अवस्थामा पुग्दारहेछन् भन्ने मैले अनुभूत गरेँ । वातावरण नै आध्यात्मिक भएकोले होला, धेरैजस्तो यहीँ आएर जीवनको अन्तिम समय काटूँ भन्ने सोच्दारहेछन् । 

गंगा नदी किनारमा आँखाले भ्याउन्जेलसम्म घाटहरू थिए । मन त त्यो बेला रोमाञ्चित भयो, जब ललिता घाटनेर पशुपतिनाथको जस्तै मन्दिर देखियो । रणबहादुर शाहकी कान्छी रानी ललित त्रिपुरासुन्दरीले त्यो मन्दिर निर्माण गराएकी रहिछन् र उनैले बनाएको घाट भएकाले ललिता घाट भनिएको रहेछ । 

त्यहाँ भएका ६४ घाटमध्ये ५/७ वटा घाटको महिमा बढी सुनियो । जसमध्ये हरिश्चन्द्र घाट, दशाश्वमेद घाट, मणिकर्णिका घाट, आशी घाट, चेतसिंह घाट, त्रिपुरामुखी घाट, मन मन्दिर घाट, सिम्दिया घाट आदि । यी घाटहरु सबैको आ-आफ्नो महत्व छन् । हरिश्चन्द्र घाट भन्ने एउटा मुख्य एवम प्राचिन घाट मनिँदोरहेछ । प्राचीन कथाअनुसार महर्षि विश्वामित्रलाई महाराजा हरिश्चन्द्रले आफ्नो सबै दान दिएर देहत्याग गरेका हुनाले हरिश्चन्द्र घाट भनिएको रहेछ । त्यस्तै दशाश्वमेद घाट काशीका पाँच तीर्थस्थल अन्तर्गत पर्दोरहेछ । (पाँच पवित्र तीर्थस्थलमध्ये अस्सी घाट, दशाश्वमेद, मणिकर्णिका, पन्चगंगा, बरुण संगम) मा राजा दिवोदासले अश्वमेघ यज्ञ पनि गरेका रहेछन् ।  त्यस्तै मणिकर्णिका घाट भने काशीको मुक्तिक्षेत्र मानिँदोरहेछ । जो कसैको यहाँ अन्तिम संस्कार हुन्छ, उसले स्वर्गमा बास पाउँछ भनि भगवान् शिवले विष्णुलाई बचन दिएका रहेछन् । त्यसैले पनि टाढा-टाढाबाट अन्तिम सँस्कारका लागि यहीँ मृत शरीर ल्याउने प्रथा रहेछ । यस्तै एकपटक भगवान् शिव र पार्वती यहीँ नदी किनारमा नुहाउँदा शिवको मस्तक (निधार)को मणि र पार्वतीको कानको झुम्काको मणि यहीँ हराएकोले यस घाटको नाम मणिकर्णिका घाट भन्न पुगेको रहेछ । 

बनारसको सबैभन्दा महत्वपूर्ण थलो त्यहाँको हिन्दु विश्वविद्यालय (बिएचयु) पनि हो । मदनमोहन मालवीयले स्थापना गरेको यो विश्वविद्यालयमा उनको मुर्ति पनि स्थापना गरिएको रहेछ । हिन्दू सभ्यताको खोज र अनुसन्धानका लागि स्थापना भए पनि अत्याधुनिक शिक्षामा पनि यस विश्वविद्यालयले निकै राम्रो काम गरेको देखेँ । 

 

यसपछि हामी सारनाथ गयौँ । सिद्धार्थ गौतम लुम्बिनीमा जन्मिए अनि सारनाथमा उपदेश लिए । बोधगयामा ज्ञान प्राप्त गरे भने कुशीनगरमा देहत्याग गरे । गौतम बुध्द जहाँ जहाँ पुगे, ती बाटाहरुलाई अहिले भारतले बौद्ध करिडोर बनाइरहेको पाए ।  त्यसैले सारनाथ, बोधगया र कुशीनगरलाई पछ्याउँदै यात्रा गर्नेहरूका लागि प्याकेजनै बनाइएको रहेछ । मैले पनि त्यही प्याकेज पछ्याए । 
बुद्धले दिएका ध्यान विधि मैले पनि केही बर्षयता पछ्याउने गरेकी छु - खासगरि विपश्यना । यो ध्यानको विधिपछि मैले थाहा पाएँ, वास्तवमा कति गहन ज्ञान बुद्धले हामीलाई दिएका रहेछन् । शान्तिमा पनि जीवन छ र तन-मन-बचन र दिमागमा शान्ति छाएमात्र हामी सफलताको बाटोतर्फ लाग्छौँ भन्ने कुरा त्यहि ध्यानले मलाई सिकाएको थियो । ध्यानले आफ्ना विचारप्रवाह कस्तो छ भनि हेर्न सिकाउँछ । त्यसले सारा नकारात्मक पक्ष फ्याँकेर  सकारात्मक सोच्न प्रेरित गर्छ । अनि यसबाट प्राप्त हुने नयाँ उर्जाले मिहेनत गर्न झन् बढी उत्प्रेरित गर्छ । र, निरन्तरको मिहिनेत नछोड्ने हो भने एक दिन अवस्य सफलता पाइन्छ भन्ने विपश्यनाकै क्रममा बुझेकी हुँ । 

बुद्धले सरल शिक्षाका प्रभाबले दिनानुदिन उनलाई पछ्याउने बढिरहेका छन् र उनीहरू देश विदेशबाट ठूलो संख्यामा बौद्ध करिडोरमा रमाउन आएको देखियो । बोधगयामा त खुट्टा राख्ने ठाउँ पनि थिएन तर एकदमै शान्तिपूर्ण वातावरण थियो । त्यहाँको वातावरण नै अलौकिक देखिन्थ्यो । सबै ध्यान मग्न थिए । भीड भएपनि स्वच्छ सफा वातावरण देखिन्थ्यो । त्यतिका भीड भएपनि कसैलाई कसैसित रिस र झैझगडा छैन । सबैको अनुहारमा तेज देखिन्छ । यस्तो लाग्यो, कतै म अर्को संसारमा त पुगिँन ? त्यसपछि मलाई पनि केहिबेर ध्यानमा बस्न मन लाग्यो र ध्यान मग्न भएँ । 

सारनाथबाट लगभग १० किमी गुडेपछि गया पुगिन्छ । गयामा मैले पितृलाई सम्झिएँ । बिहारको उत्तरपट्टि फाल्गु नदी अनि बिष्णु-पद्मा मन्दिरमा पितृ श्राद्द गरेपछि हाम्रा पितृहरुको बैकुण्ठ बास हुन्छ भन्ने भनाइ रहेछ । यो नदीमा पनि छैन । बालुवा खोस्रिएपछि मात्र पानी निस्कदोरहेछ । 

नदीको पानीनै सुक्ने कस्तो नदी हो भन्ने मनमा पलाउँदै गर्दा हामीसंगैका एक जना पथप्रदर्शकले एउटा कथा सुनाए । राजा दशरथका छोरा रामले बुबाको श्राद्द गर्नुपर्ने भएछ । श्राद्धको तिथि गुज्रन पनि रामले श्राद्दका सामग्री नल्याएको देखेपछि सीता आफैले श्राद्द गरिछन् । सामग्री त थिएन  तर उनले त्यही बालुवाको पिण्ड बनाइन्, साक्षीका रुपमा ब्राह्मण, फाल्गुनी नदी, तुलसी, गाई, वटवृक्ष राखेर श्रद्दापूर्वक श्राद्ध गरिन्, श्राद्ध सकिएपछि राम सामग्रीसहित आइपुगे । 

सीताले भनिन्, ' श्राद्ध त सकिइसक्यो ।' यति टाढाबाट सामग्रीहरू ल्याउँदा ल्याउँदै पितृ कार्य सकिएको भन्दा राम रिसाए । उनले श्राद्ध भएको हो कि होइन भनि ब्राह्मण, फाल्गुनी नदी, तुलसी, गाई, वटवृक्षलाई सोधे । वटवृक्षबाहेक अरू सबै डराए र श्राद्ध भएको छैन भनि जवाफ दिए । रामसँग डराएर भएको कुरालाई छैन भनेकोमा सीता रिसाइन् र वटवृक्षबाहेक सबैलाई श्राप दिइन् । फाल्गुनी नदीलाई नभएको कुरा गरेकाले तिम्रो पानी सुकोस् भनि श्राप दिइन्, ब्राम्हणले मागेर मात्र खान पुगोस्, गाईले फोहोर खानु परोस्, तुलसीले फोहोरमा मात्र झ्याँगिनु परेको किंवदन्ती रहेछ । यही श्रापका कारण फाल्गुनी नदीको पानी सुकेको हो भनि किंवदन्ती सुन्दा रमाइलो लाग्यो ।

सीताले आफ्ना ससुराको श्राद्ध गरेको विम्व मलाई खुब चित्त बुझ्यो । त्यसैले मैले पनि यहाँ आइसकेपछि आफ्ना पितृहरूलाई किन नासम्झूँ भनेर पिण्ड दान गरेँ । 

यसरी चार दिनमा तीर्थ भ्रमण सजिलै सम्पन्न गरेर चौथो दिन साँझ सजिलै काठमाण्डौं आइपुगेँ । यो यात्रा मेरा लागि धर्म र ज्ञान दुवै हिसाबले सार्थक थियो । यो तीर्थ भ्रमणमा पुगेर फर्केपछि मलाई लाग्यो- धर्म, तीर्थ र व्रतजस्ता कुराहरू त उमेरमै गर्नुपर्ने रहेछ । यसले हामीलाई जुन उर्जा दिन्छ, त्यसले हाम्रो तनाव पूर्ण दैनिकीलाई सहज मात्र बनाउँदो रहेनछ, बल पनि दिँदोरहेछ भन्ने लाग्यो ।
बुध्द एयरले सातामा  दुई उडान, हरेक सोमबार र शुक्रबार वाराणसीमा गर्दै आएको छ । धार्मिक तथा पर्यटकीय प्याकेजहरु पनि संचालनमा छन् । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ