बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सबैलाई खुसी राख्न कोसिस गरिरहेको एउटा यस्तो देश

मङ्गलबार, ०५ भदौ २०७५, ०९ : ५६
मङ्गलबार, ०५ भदौ २०७५

एरिन क्रेग/ बीबीसी क्यापिटल

दक्षिण कोरियाको गन्ती सम्पन्न देशमा हुन्छ । छिमेकी देश उत्तर कोरियाको तुलनामा यहाँका जनताको आम्दानी निकै राम्रो छ ।

मानिसहरुसँग पैसा कमाइ हुने जागिर छ । उनीहरु राम्रो लगाउँछन्, मिठो खान्छन् । तर पनि एउटा समस्या छ, खुसीको स्तरमा यो देश निकै पछाडि छ ।

जेजू आइल्याण्डको व्यस्त समुन्द्र–तटमा यस्ता समस्याको अन्दाज लगाउन सकिन्नँ । त्यहाँ ओपन एयर कन्सर्ट हुन्छ । हावामा संगीतको मिठास गुञ्जिरहन्छ ।

गर्मीको छुट्टीमा सांग–दाई चा आफ्नो परिवारसँग यहाँ माछा मार्न आएका छन् । उनका सन्तान नजिकै खेलिरहेका छन् ।

चा र उनको परिवारलाई थाहा छैन कि दक्षिण कोरिया सरकार आफ्नो ‘वोराबेल’ कार्यक्रमका लागि उनलाई नमूनाको रुपमा हेरिरहेको छ । ‘वोराबेल’ को अर्थ हो काम र जीवनमा सन्तुलन ।

दक्षिण कोरियामा वर्किङ आवर (काम गर्ने घण्टा) सबैभन्दा धेरै छ । ओइसीडी रिपोर्ट अनुसार २० प्रतिशत मानिसहरु हप्तामा ५० घण्टाभन्दा बढि काम गर्छन् । औसतमा आधाले मात्र छुट्टी लिन्छन् ।

कामका कारण पैदा हुने तनावका कारण यहाँ आत्महत्याको दर अत्यधिक छ र जन्मदर पनि निकै कम छ । त्यसकारण सरकारले अब सबैलाई खुसी राख्ने ‘ठेक्का’ लिएको छ ।

समय र पैसाः

दक्षिण कोरिया जुन कार्यक्रम सुरु गरिरहेको छ, त्यो ‘फिल गुड प्रोग्राम’ जस्तो होइन । सांस्कृतिक परिवर्तनलाई कानूनी रुप दिइने तयारी गरिएको छ ।

संयुक्त राष्ट्र र ओइसिडी, दुबै संगठनले संसारभरी खुसीमाथि वार्षीक रिपोर्ट बनाउने गर्छ । कुनै देशको खुसी मापन गर्नका लागि सामाजिक र आर्थिक स्थिती जस्तै प्रतिव्यक्ति घरेलु ग्राह्यस्थ उत्पादन, व्यक्तिको आयु, शिक्षा र भ्रष्टाचारलगायतमा अनुसन्धान गरिन्छ ।

यसमा अर्को तत्व पनि जोडिन्छ, त्यो हो सब्जेक्टिव वेल बिइंग अर्थात् मानिसहरु आफूलाई कति सुखी सम्झन्छन् ।

सम्पन्न हुनुको अर्थ सुखी हुनु होइन । दक्षिण कोरियाली नागरिकसँग बीएमडब्ल्यू कारदेखि रिमोट कन्ट्रोलले चल्ने ट्वाइलेटसमेत छ तर सन्तुष्टिको स्तर ओइसिडी देशहरुको औसतभन्दा निकै तल छ ।

राष्ट्रपति मून जे–इन यो स्थितीलाई परिवर्तन गर्न चाहन्छन् ।

मूनले नयाँ वर्षमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘दक्षिण कोरियाको प्रतिव्यक्ति आय यो वर्ष ३० हजार अमेरिकी डलर हुनेछ तर यो आम्दानी महत्वपूर्ण छैन । मानिसहरु राम्रो जीवनयापन गर्न सकून्, यो कुरा महत्वपूर्ण हो । ’

त्यहाँको सरकार आफ्नो जनतालाई कामबाट निकालेर उनीहरुको तन–मनलाई स्वस्थ राख्न चाहन्छ । हप्तामा अत्यधिक काम गर्ने ६८ घण्टाको सीमालाई घटाएर ५२ मा झारिएको छ । जसले यो कानूनको उल्लंघन गर्छन् उनीहरुलाई दुई वर्ष जेल सजायँको प्रावधान छ ।

सरकारले न्यूनतक ज्याला पनि बढाएको छ । आमा वा बुवा बन्दा पाउने छुट्टी पनि बढाइएको छ । बच्चाको लालनपालनमा आर्थिक सहयोग पनि सुरु गरिएको छ । पेन्सन बढाइएको छ ।

पहिलेदेखि चल्दै आएको ह्याप्पिनेस फन्ड पनि जारी राखेको छ । यो कोषले मानिसहरुलाई व्यक्तिगत ऋणबाट छुटकारा दिलाउन सहयोग गर्छ ।

सिओलका एक टायर कम्पनीका क्वालिटी म्यानेजर चालाई लाग्छ कि सरकारले त्यही गरिरहेको छ जुन दक्षिण कोरियामा आवश्यक छ । ‘केही समस्या, जस्तै जन्मदर कम हुनु, यति विकराल भइरहेको छ कि त्यसलाई नजरअन्दाज गर्न सकिन्नँ,’ उनको भनाई छ ।

जीवन–स्तर सुधार्नुका विभिन्न फाइदा छन् । कम आय–वर्गसँग धेरै पैसा भए विभिन्न प्रकारको सामान र सेवाको माग बढ्नेछ ।

फुर्सदमा काम लाग्ने वस्तुहरुको माग पनि बढ्नेछन् । आत्महत्या घट्नेछन् र मानिसहरुले धेरै बच्चा जन्माउनेछन् । तर के यो सबै यति सजिलो छ त ?

खुसी कसरी बढ्छ–घट्छ ?

नियम बनाएर खुसी बनाउन जटिल छ । कुनै देशको खुसी विभिन्न कुरामा निर्भर हुन्छ । राजनीतिक स्वतन्त्रता र पर्यावरणको कुरा पनि यसमा पर्छन् ।

संयुक्त राष्ट्रको वर्ल्ड ह्याप्पिनेस रिपोर्टका सह–लेखक र कोरिया डेभलपमेन्ट इन्स्टिचयुटका निर्देशक शुन वांगलाई लाग्छ कि नीति बनाउने मानिसहरु अर्थशास्त्रीहरुको कुरा सुन्छन् ।

‘उनीहरुले जनतालाई कसरी खुसी बनाउने भनेर सिकाउँदैनन् । बरु उनीहरु सरकारलाई कस्तो प्रकारको नीतिले खुसीको स्तर बढाउने वा घटाउने गर्छ भन्ने बारे जानकारी दिन्छन्,’ उनले भने । उदाहरणका लागि थुप्रै व्यक्तिसँग गरिएको अनुसन्धानले यो बताउँछ कि बेरोजगार बढेमा देशको खुसीको स्तर घट्ने गर्छ ।

सन् २००८ को मन्दीबा बेला दक्षिण कोरिया सरकारले रोजगारी बढाउनेमा जोड दिएको थियो । मानिसहरुले कम तलब भएको अस्थायी जागिर पाएपनि दक्षिण कोरियाको यो योजनाले त्यहाँ सन्तुष्टिको स्तर स्थिर रह्यो जबकी ग्रिस र स्पेनजस्ता युरोपेली देशमा यो धराशायी भयो र अहिलेसम्म सुधार हुन सकेको छैन ।

दक्षिण कोरिया नागरिकको खुसी बढाउनका लागि नीति बनाउने एक्लो देश होइन । इंगल्याण्ड पनि सन् २०१२ देखि नै घरेलु खुसीलाई रेकर्ड गरिरहेको छ र यसको आँकडा मानिसक स्वास्थ्य, रोजगार र शिक्षाको क्षेत्रमा प्रयोग गरिँदै छ ।

संयुक्त अरब इमिरेट्सले सन् २०२१ सम्म सबैभन्दा सुखी मुलुक बन्ने लक्ष्य राखेको छ  र यसका लागि एक राज्यमन्त्रीसमेत नियुक्त गरेको छ ।

भूटानले सन् २००८ मा नै आर्थिक विकासको साटो सकल घरेलु खुसीमा ध्यान दिने नीति बनाएको थियो । भूटानले राष्ट्रिय स्तरमा खुसी मापन गर्नका लागि एउटा मापदण्ड नै बनाएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मूनले सन् २०१६ मा भूटानको भ्रमण गरेका थिए । यसका लागि उनले त्यहाँबाट नै प्रेरणा पाएको बताइन्छ ।  

मूनको नीति सरल छ र देशको समस्यामा केन्द्रीत छ । कानून बनाएपछि परिणाम पनि देख्न थालिएको छ । तर सफलताको ग्यारेन्टी भने छैन ।

खुसी सिमित छः

सन् २०१८ मा दक्षिण कोरियामा न्यूनतम मजदुरी १६.४ प्रतिशत बढ्यो । सन् २०१९ मा यसमा १०.९ प्रतिशत वृद्धि हुनु तय छ ।

न्यूनतम मजदूरी बढ्दा रोजगारीको संकट भएको छ । केही बस कम्पनीले सेवा बन्द गर्ने धम्की पनि दिएको छ जबकी केही अन्य कम्पनीले कामदारलाई कम घण्टा काम गराइरहेको छ – लागत घटाउनका लागि ।

साप्ताहिक रुपमा कामको घण्टा कम गर्न मुश्किल छ । दक्षिण कोरियाली जनता निर्धारित समयमा काम पूरा गर्नका लागि परिचित छन् । कामको घण्टा घटाउँदा उनीहरुमाथि कम समयमा त्यती नै काम गर्ने दबाब बढ्नेछ । अर्थात् खुसी हुन सजिलो छैन ।

योन्शी युनिभर्सिटीको ह्याप्पीनेश एण्ड कल्चरल साइकालोलोजी ल्याबमा निर्देशक युन्कुक एम. सुह भिन्न सभ्यतामा खुसीको अर्थ भिन्न हुने बताउँछन् ।

अमेरिका र ब्रिटेनजस्ता व्यक्तिवादी सभ्यतामा हरेक व्यक्तिले खुसीको आफ्नै सीमा निर्धारण गर्छन् । तर कोरिया जस्तो समष्टिवादी सभ्यतामा खुसी समाजसँगै जोडिएको हुन्छ ।

‘यहाँ म आफ्नो जीवनबारे के सोच्छु, त्यसले महत्व राख्दैन । मेरा बारे अन्य व्यक्तिले कस्तो सोच राख्छन् त्यसले महत्व राख्छ ।’

सुह भन्छन्, ‘तपाईंले यो देखाउनु पर्छ कि तपाईंको जीवन खुसी हुन योग्य छ कि छैन । यसका लागि केही प्रमाणको आवश्यकता पर्छ । जस्तै कुनै राम्रो युनिभर्सिटीको डिग्री, कुनै महँगो कार वा ठूलो घर ।’

दक्षिण कोरियामा युनिभर्सिटीमा भर्ना हुन सजिलो छैन । सरकारी जागिर पनि सिमित छ । त्यसकारण धेरै कम मानिसहरुले आदर्श मानिएको खुसी पाउँछन् ।

मूनको नीजि पहलः

राष्ट्रपति मून मानिसहरुलाई उदाहरण पेश गर्नका लागि बारम्बार छुट्टी लिन्छन् । यदि परमाणु शक्ति भएको छिमेकी उत्तर कोरियासँग शान्ती प्रयास गरिरहँदा उनी छुट्टी लिन सक्छन् भने चाहेको खण्डमा सबैले यस्तो गर्न सक्ने भन्दै उदाहरण दिन्छन् ।

तर विशेषज्ञलाई लाग्छ कि धेरै छुट्टी दिँदा समस्या आधा मात्र सुल्झिनेछ । यो हेर्न बाँकी छ कि खाली समयमा उनीहरु के गर्छन् ।

जेजू तटमा माछा मारिररहेका सांग–दाई चा १५ वर्षदेखि जागिर खाइरहेका छन् । उनलाई लाग्छ कि काम र जीवनबीच उनले सही सन्तुलन बनाएका छन् ।

चा हप्तामा ४० घण्टा काम गर्छन् । कहिलेकाँही मात्र ओभरटाइम गर्नुपर्ने बताउँछन् । चा हरेक छुट्टीमा निकै रामाइलो गर्छन् । उनी भन्छन्, ‘मेरो कम्पनीले यस्तै गर भन्छ । मेरी श्रीमतीको धारणा पनि छुट्टीमा रमाइलो गर्नुपर्छ भन्ने नै छ ।’

चालाई लाग्छ कि काम र छुट्टीबारे कानून बनाइँदा मानिसहरुलाई नराम्रो लाग्न सक्ला । तर यो परिवर्तन कम्पनीले आफैं ल्याए मानिसहरुको जीवन धेरै नै सहज हुने उनी बताउँछन् ।

देश सही दिशामा गइरहेको जस्तो लाग्छ त भन्ने प्रश्न सोध्दा उनले उत्तर दिए, ‘हो हाम्रो भविष्य थप उत्कृष्ट र सहज हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप