बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी श्रीमती संघको ३४ औं वार्षिकोत्सव सम्पन्न (हेरौं ८ तस्बिरमा)

सोमबार, ०४ भदौ २०७५, २२ : ०१
सोमबार, ०४ भदौ २०७५

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती सङ्घको ३४औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । उक्त समारोहमा प्रहरी महानिरीक्षक खनालले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गरे । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न संघसंस्था तथा महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्दै सङ्घबाट प्रकाशित बार्षिक स्मारिका ‘सहचरी’ को विमोचन समेत गरे । 

नितान्त सेवाभावले स्थापित सङ्घले समाजसेवामा योगदान दिँदै आएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले त्यस्ता कार्यले नेपाल प्रहरीको पेशागत गौरव बढाएको बताए ।

स्थापनाकालदेखि नै पूर्व अध्यक्ष एवम् पदाधिकारीहरुले सङ्घको कार्यमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनले त्याग, तपस्या तथा समर्पणभावले निस्वार्थ रुपमा राष्ट्र र नागरिकको सेवामा सङ्घले पुर्‍याएको उल्लेखनीय योगदानको प्रशंसा समेत गरे । 

समाजमा असाहाय, पीडित, असुरक्षित वर्गको पहिचान गरी उनीहरुका लागि सङ्घले सेवामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले महिला हिंसा एवम् महिला तथा बालबालिकाबिरुद्ध हुने अपराध न्यूनीकरण गर्न र लागूऔषध दुर्व्यसनी एवम् कुलतमा फसेकाको लागि सङ्घले आगामी दिनमा कार्ययोजना बनाई अगाडि बढ्नुपर्नेमा जोड दिए । सङ्घले नागरिक सेवामा सञ्चालन गर्ने क्रियाकलापहरुमा प्रहरी सङ्गठन सदैव हातेमालो गरेर अगाडि बढ्ने विश्वास समेत उनले व्यक्त गरे । 

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती प्रमिला खनालले २०७४ सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रहरी विद्यालयका छात्रछात्राहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । 

समारोहमा धन्यवाद ज्ञापन गर्दै सङ्घकी अध्यक्ष श्रीमती खनालले सङ्घले आफ्नो क्रियाशिलता र कार्यक्रमलाई समय र लक्षित वर्गको माग अनुसार परिमार्जन गर्नुपर्ने बताए । सङ्घका सदस्यबिचको सकारात्मक सोच र सामुहिक भावनाले नै मानविय सेवाको क्षेत्रमा सङ्घको विशिष्ठता र पहिचान स्थापित गर्न सहयोग पुग्ने विचार उनले व्यक्त गरे ।

सङ्घले आफ्नो सामर्थ्य नयाँ ढंगले विस्तारित गर्दै आगामी दिनमा अझ बढी मानव सेवामा केन्द्रीत र विस्तारित सेवा प्रदान गर्ने उनले उल्लेख गरे ।

सङ्घकी सचिव श्रीमती निलु न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेको सो समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

उक्त अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु तथा पूर्व अध्यक्ष एवम् पूर्व पदाधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरु, संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, प्रहरी विद्यालयका शिक्षक तथा बिद्यार्थी एवम् आमन्त्रित अतिथिहरुको समेत उपस्थिति रहेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप