शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खानेपानी मन्त्रीद्वारा मेलम्चीको काम समयमै नसकिए कठोर निर्णय लिने चेतावनी

सोमबार, ०४ भदौ २०७५, २१ : ४९
सोमबार, ०४ भदौ २०७५

काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले निर्धारित समयभित्र मेलम्ची आयोजना सम्पन्न नगरे ठेकेदार कम्पनिमाथि कठोर निर्णय लिने बताएकी छिन् ।

मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्न मेलम्ची परियोजनाको साइटमा पुगेकी मन्त्री मगरले आयोजनाको ठेक्का लिएको ठेकेदार कम्पनि (सिएमसी) को हेर्डक्वार्टरबाट आएका प्रतिनिधिसँगको बैठकमा समयमा काम नसके ठेकेदार कम्पनिमाथि कठोर कदम चाल्ने चेतावनी दिएकी हुन् ।

सिएमसी कम्पनिको इटाली हेडक्वार्टरबाट आएका प्रतिनिधि र मेलम्चीको जिम्मा लिएका ठेकेदारहरु राखेर मन्त्री मगरले भनिन्, ‘नेपाल सरकारले आफ्नो दायित्व पूरा गरेको छ । तपाईहरुलाई दिनुपर्ने भुक्तानी समयमा दिएको छ । सम्झौतामा भएका बुँदाहरु हुबहु पालना गरेको छ । तपाईहरुले नेपाल सरकारसँग जुन सम्झौता गर्नुभएको छ, त्यहीअनुसार समयमा काम सक्नुपर्छ ।’

यसअघि ठेकेदार कम्पनीकै मुख्यालयका उच्च प्रतिनिधिसँग भएको छलफलमा दशैंअघि मेलम्चीको पानी सुन्दरीजलसम्म पु¥याउने सहमति भएको थियो । 

मन्त्री मगरले मेलम्ची नेपालको राष्ट्रिय गौरवको आयोजना र हरेक नेपालीको भविष्यसँग जोडिएकाले भन्दै सम्झौता (एमओयु) पूर्ण रुपमा पालना हुनुपर्ने बताइन् । 

मन्त्री मगरले भनिन्, ‘तपाईहरुको पूरानो व्यवस्थापनले धेरै काम बिगार्यो, हामीले खबरदारी गर्यौं । नयाँ व्यवस्थापन आएपछि काममा प्रगति भएको छ । तर, दशैंसम्म काम सकिन्छ भन्नेमा हामी पूर्णतः विश्वस्त हुन सकेका छैनौं । जसरी पनि तोकिएको समयमा काम सकिनुपर्छ, अन्यथा नेपाल सरकारले बिकल्प सोच्छ ।’

सोमबारको बैठकमा मन्त्री मगर निकै कडा रुपमा प्रस्तुत भएकी थिइन् । मन्त्री मगरले ठेकेदारले पैसा लिएर पनि समयमै निर्माण सामग्री नल्याएको, काममा ढिलासुस्ती गरेको, काम नगरी उल्टो क्षतिपूर्ति दावी गरेका कारण आयोजनाको अवधि लम्बिएको सिएमसी कम्पनिका हेडक्वार्टर प्रतिनिधिलाई जानकारी गराएकी थिइन् ।

बैठकमा मन्त्री मगर, खानेपानी मन्त्रालयका अधिकारी, सिएमसी कम्पनिका हेडक्वार्टर प्रतिनिधि, ठेकेदार कम्पनिका व्यवस्थापक, मेलम्ची खानेपानी बोर्डका पदाधिकारीहरु लगायतको उपस्थिति थियो ।

सुन्दरीजलबाट काठमाडौं पानी पथान्तरण गर्ने तयारी भने करिब करिब पुरा भएको छ । आयोजना कार्यान्वयन निर्देशनालयले बाग्मती नदीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा जम्मा गरेर पाइप पखाल्ने र महाकाल थोक वितरण केन्द्र अन्तर्गतका पाइपलाईनमा पठाउने कार्य शुरु गरेको छ । 

यसबाट मेलम्चीको पानी सुन्दरीजलमा आएसँगै सोझै काठमाडौं पठाउन सकिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप