मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

गलत कम्पनीलाई जापानमा ‘जिएसए’ दिँदै नेपाल एयरलायन्स !

आइतबार, ०३ भदौ २०७५, १८ : १६
आइतबार, ०३ भदौ २०७५

काठमाडौं– जनवरी १ तारिखबाट जापानमा उडान भर्न लागेको नेपाल एयरलायन्सले गलत कम्पनीलाई जापानको जिएसए दिन लागेको खुलासा भएको छ ।  ए ३३०–२०० को वाइडबडी विमानबाट जापानमा उडान भर्न लागेको नेपाल एयरलाइन्सले जापानको लागि जिएसए नियुक्त गर्न चलखेल गरेको हो । 

नेपाल एयरलाइन्सले जापानमा जिएसए नियुक्त गर्नका लागि टेण्डर नोटिस प्रकाशन गरी आव्हान गरेको थियो । टेण्डर नोटिसको बुँदा नम्बर ४ मा जिएसए प्राप्त गर्नका लागि नेपालमा उडान भर्ने अन्य कुनै पनि एअरलायन्सको जिएसए नबनेको हुनैपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । 

हेर्नुहोस्, नेपाल एयरलाइन्सले जारी गरेको ग्लोबल टेण्डरको सुचना 

तर नेपाल एअरलायन्सले भने जापानमा अन्य एअरलायन्सको जिएसए भई काम गरिरहेको एक कम्पनीलाई जिएसए नियुक्त गर्न लागेको छ । नेपाल एयरलाइन्सले शुक्रबारमात्रै जापानस्थित वेस्टर्न एसोसिएटस् अर्थात् डब्लुएआई (WAI) कम्पनीलाई जिएसए नियुक्त गर्नेगरी नेपाल बोलाएको छ । 

जापानमा रहेको वेस्टर्न एसोसिएटस् जसलाई डब्लुएआई (वाई) पनि भनिन्छ, यो कम्पनी हालसालै सञ्चालनमा आएको थाई लायन एयरलाइन्सको जिएसए भएको पत्ता लागेको छ । उसले यसअघि नै थाई लायनको जिएसए भई काम गरिरहेको भेटिएको हो । 

रातोपाटीलाई प्राप्त सूचनामा वेस्टर्न एसोसिएटस् कम्पनीले थाई लायनको जिएसए लिई काम गरिरहेको उल्लेख छ । जापानको एक प्राइभेट कम्पनीले थाइल्याण्डको सरकारी एअरलायन्स थाई एयरवेजलाई लेखेको एउटा इमेल रातोपाटीलाई प्राप्त भएको छ । उक्त इमेलमा वेस्टर्न एसोसिएटस् भन्ने कम्पनीले थाइ लायनको जिएसए लिएको भन्ने जानकारी आएकाले त्यसबारे के हो भनी सोधिएको छ । 


त्यसको जवाफमा सरकारी एयरलायन्स थाई एअरवेजका जापानस्थित कण्ट्री हेड अमाइकेले वेस्टर्न एसोसिएटस् अर्थात् डब्लुएवाई कम्पनी नै थाई लायनको जापानस्थित जिएसए अर्थात् जनरल सेल्स एजेण्टस् रहेको बताएका छन् । 

तर वेस्टर्न एसोसिएटस्ले भने थाई लायनको जिएसएबारे केही कुरा उल्लेख नगरी टेण्डर नोटिसमा भएको प्रावधानविपरीत जिएसए लिन लागेको हो । यसबारे वेस्टर्न एसोसिएटस्ले नेपाल एअरलायन्सलाई कुनै जानकारी नदिई सम्झौता गर्न लागेको खुलासा भएको छ । 

आर्थिक लाभ लिएर जिएसए दिन लागेको आरोप, भवन भट्ट पनि जोडिए 

टोकियोमा कार्यालय रहेको वेस्टर्न एसोसिएटस्ले नेपालस्थित एयरलायन्सका पदाधिकारीलाई मोटो रकम दिएर जिएसए हत्याउन लागेको एयरलायन्सकै एक निर्देशकले रातापाटीलाई बताए । आफ्नो नाम नराख्ने शर्तमा ती अधिकारीले भने ‘वाईसँग सम्झौता गर्ने गरी अन्तिम तयारी भइरहेको छ । वाई कम्पनी जापानमा थाई लायनको जिएसए भन्ने जानकारी आएको छ । तर यो थाहा पाउँदा पाउँदै पनि करोडौं कमिसन लिएर वाई कम्पनीलाई जिएसए दिन लागिएको छ ।’

नेपाल एयरलायन्सको जिएसए हत्याउन वाई कम्पनीले गैरआवासीय नेपाली भवन भट्टलाई प्रयोग गरेको छ । हाल भवन भट्टलाई उक्त कम्पनीमा सेयरहोल्डर बनाई जिएसए दिन लागिएको हो । यद्यपि भट्टले सेयर नै हालेका हुन् कि जिएसए मिलाइदिएवापत् इक्वुटी सेयर लिन लागेका हुन्, त्यसबारे स्पष्ट भइसकेको भने छैन ।

वाईलाई जिएसए दिए के हुन्छ ?
नेपाल एयरलायन्सले आफ्नो टेण्डर नेटिसको बुँदा नम्बर ४ मा अन्य एयरलायन्सको जिएसए लिएको कम्पनीले टेण्डर भर्न नै नपाउने बताएको थियो । तर यो प्रावधान विपरीत वेस्टर्न एसोसिएटस्ले नेपाल एयरलायन्सको जिएसएका लागि आवेदन दिई स्वीकृतिको चरणमा रहेको छ । 

एउटै कम्पनीले दुईवटा एयरलायन्सको जिएसए लिँदा यसले नेपाल एयरलायन्सई घाटा हुन जान्छ । किनभने थाई लायन बजेट एयरलायन्स हो र उसले काठमाडौं–जापान सिधा उडान नगरेपनि जापान–बैंकक–काठमाडौं उडान गर्न सक्छ । यस्तो अवस्थामा सस्तो मूल्यमा थाई लायनले उडान भर्ने सम्भावना रहन्छ ।

यदि सस्तैमा जापान–बैंकक–काठमाडौं उडान भएमा सिधा उडान भन्दा पनि यो रुट प्रयोग हुन सक्छ । यस्तो अवस्थामा नेपाल एयरलायन्सले यात्रु नपाई कम अकुपेन्शीमा उडान भर्नुपर्ने हुन्छ । जिएसएले पनि बढी नाफा हुने एअरलायन्सको मात्रै टिकट विक्री गर्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा नेपाल एयरलायन्सले घाटामै जापानको उडान भर्नुपर्ने दिन आउनसक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप