बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कहाँ हरायो तस्करीको ३३ किलो सुन ? प्रतिवेदन भन्छ–‘सानुमाथि शंका छ’

आइतबार, ०३ भदौ २०७५, १० : १७
आइतबार, ०३ भदौ २०७५

काठमाडौँ । फ्लाई दुबईको विमानबाट चुडामणि उप्रेती ‘गोरे’ को समूहले तस्करी गरेर ल्याएको ३३ किलो सुन र सनम शाक्य हत्याबारे छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ । साउन १६ गते समितिले बुझाएको प्रतिवेदनमा सुन तस्करीको पछिल्लो चेनमा २९३ जना संलग्न रहेको उल्लेख गरिएको छ । तस्करीमा जोडिएका २९३ मध्ये ७५ जनाबिरुद्ध जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता भइसकेको छ । 

गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले करिब ३ महिना लामो अनुसन्धान गरे पनि तस्करी गरेर ल्याइएको भनिएको ३३ किलो सुन फेला परेको छैन । समितिले सुन फेला पार्न नसक्नुको ३ वटा कारण प्रतिवेदनमा उल्लेख गरेको छ । 

सुन फेला नपर्नुको पहिलो कारणको रुपमा समितिले मृतक सानु बनमाथि शंका गरेको छ । थाई एयरवेजका वरिष्ठ टेक्निसियनसमेत रहेका सानु तिनै हुन् जसले गएको २०७४ माघ २२ गते विमानस्थलमा गुड्दै गरेको ट्याङ्करको चक्कामा ठोक्किएर आत्महत्या गरेका थिए । 

‘हराएको भनिएको सुन सानु बनले नै व्यवस्थापन गरेको हुनसक्छ,’ समितिका संयोजक (सह–सचिव) ईश्वरराज पौडेल भन्छन्, ‘नेपाली सेनाबाट भागेका भगौडाहरुले पनि सुन लुटेको हुनसक्ने अनुसन्धानको क्रममा खुलेको छ ।’ 

समितिले नेपाली सेनाका भगौडा समूहलाई बाहेक अर्को लुटेरा ग्याङले समेत सुन लुटेको हुनसक्ने आशंका गरेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार समितिले सुन तस्करीमा संलग्न राप्रपा (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङको ग्याङले समेत सुन लुटेको हुनसक्ने आशंका गरेको छ ।

२०७४ चैत्र २० गते मन्त्रिपरिषद्को निर्णयबाट गठन भएको सुन तस्करी छानविन गर्न गठित समितिले समिति गठनमा भएको ढिलाई र सानु बनको अस्वभाविक मृत्युका कारण तस्करीको सुन भेट्न नसके पनि तस्करको सञ्जाल ध्वस्त पार्न सफल भएको निष्कर्ष निकालेको छ ।

सात परिच्छेदमा तयार गरेर सरकारलाई बुझाइएको निकै लामो र विस्तृत प्रतिवेदनको पहिलो अनुसूचिमा तस्करीमा संलग्न अभियुक्तहरुको बयान र प्रमाण समेटिएको छ । दोस्रो अनुसूचिमा अनुसन्धानको क्रममा समितिले झेल्नुपरेको समस्या, चुनौती, अनुसन्धानका कार्यविधि, बजेट र अनुसन्धानमा प्रयोग भएका सामग्री बारे ब्याख्या गरिएको छ । 

सह–सचिव नेतृत्वको समितिमा रहेका ९ सदस्यबाहेक ७ जना बाहिरका विषय विज्ञहरुले समेत पर्दा पछाडिबाट काम गरेका थिए । गोरेको समूहले हालसम्म ३८ सय किलो तस्करीको सुन नेपाल ल्याएको निष्कर्षसहित प्रतिवेदनको परिच्छेद चारमा समितिले गरेको अनुसन्धानपछि प्राप्त प्रमाण उल्लेख गरिएको छ  ।

सोही परिच्छेदमा प्रेमलाल चौधरीले सिंहदरबारस्थित प्रहरी हिरासतमै गरेको आत्महत्या, सनम शाक्यको हत्या र महानगरीय अपराध महाशाखाका प्रहरी अधिकारीहरुले गरेको अप्रेशनमाथी कमिटीले आफ्नो फाइन्डिङ प्रस्तुत गरेको छ । 

परिच्छेद पाँच र छ मा पक्राउ परेकाहरुलाई लगाइएको अभियोग, कसुर तथा हुण्डी कारोबार, रोक्का गरिएको सम्पत्तिको विवरण र बाजेको सेकुवामा गरिएको शिलबन्दीबारे उल्लेख गरिएको समिति सम्बद्ध स्रोतले जनाएको छ । 

प्रतिवेदनको परिच्छेद ७ मा कार्यकारी सारंशसहित समितिले तस्करी नियन्त्रणका लागी आफ्ना सुझावहरु दिएको छ । 

प्रहरीले भनेको ‘गुड फेथ’ झुटो  

मोरङका सनम शाक्यको हत्यापछि रातारात  सुनसरीको धरान पुगेको महानगरीय अपराध महाशाखाको प्रहरी टोली र महानगरीय अपराध महाशाखाका तत्कालिन प्रमुख (एसएसपी) दिवेश लोहनीको कामकारवाही त्रुटीपूर्ण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रहरीले गरेको कामकारवाहीमा शंका गर्ने ठाउँ प्रशस्तै रहेको उल्लेख गर्दै समितिले प्रक्रियागत रुपमा प्रहरीले त्रुटीपूर्ण कार्य गरेको र गोरेसँग भएको भनिएको बार्गेनिङ गुड फेथ (असल नियत) ले नभएको निष्कर्ष निकालेको छ । 

‘प्रहरीका अफिसरहरुले दाबी गरेको गुड फेथ प्रमाणित भएन’ सुन तस्करी छानविन समितिका एक सदस्यले भने, ‘प्रतिवेदनमा गोरेको नाम किन नराखेको ? उसको नाम प्रहरी प्रतिवेनमा नियोजित रुपमै नराखेको कुरा डिएसपी प्रजीत केसीको अडियोले थप प्रमाणित गरेको छ ।’

७५२ पेज लामो प्रतिवेदनमा समितिले अबैध रुपमा सुन भित्रिएर काठमाडौँसहित नेपालका मुख्य शहरमा वितरण हुने गरेको तथ्य लुक्न नसकेको उल्लेख गर्दै तस्करी कन्ट्रोल गर्ने मेकानिजम बनाउन सरकारलाई सुझाव दिएको छ ।

बिमलले समितिसमक्ष बयान दिने क्रममा राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा)का अध्यक्ष एवं पूर्वमन्त्री शरतसिंह भण्डारीले समेत सुन तस्करीको सेटिङ मिलाइदिने गरेको बयान दिएका छन् । भण्डारी पर्यटनमन्त्री हुँदा त्यस्तो सेटिङ मिलाइदिएको बिमलले बयान दिएपनि ठोस प्रमाण नभेटिएको भन्दै समितिले उनीमाथि छानविन गर्न सकेन । 

‘नीतिगत र संरचनात्मक गरेर चारओटा सुधार गर्नुपर्ने क्षेत्रहरु रहेका छन्,’ प्रतिवेदन उद्धृत गर्दै समितिका एक सदस्यले भने, ‘राज्यले नै संगठित अपराध हेर्ने गरी गृहमन्त्रालय वा प्रधानमन्त्री कार्यालयमा रहनेगरी स्थायी संयन्त्र निर्माण गर्न सुझाव दिइएको छ ।’ 

भुजुङ र पोद्दार ठूला माछा 

डिल्लीबजारस्थित सिल्भर सिटी अपार्टमेन्टका मालिक समेत रहेका बिमल पोद्दार, राप्रपा (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र मोहन अग्रवाललाई समितिले सुन तस्करीमा संलग्न ठूला माछा किटान गरेको छ ।  
बिमल पोद्दार अवैध हुण्डी कारोबारमा समेत संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । बिमलले समितिसमक्ष बयान दिने क्रममा राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा)का अध्यक्ष एवं पूर्वमन्त्री शरतसिंह भण्डारीले समेत सुन तस्करीको सेटिङ मिलाइदिने गरेको बयान दिएका छन् । भण्डारी पर्यटनमन्त्री हुँदा त्यस्तो सेटिङ मिलाइदिएको बिमलले बयान दिएपनि ठोस प्रमाण नभेटिएको भन्दै समितिले उनीमाथि छानविन गर्न सकेन । 

समितिले पछिल्लो समय पक्राउ परेका अकबर शाहलाई पनि ठूलो माछा किटान गरेको छ । अकबर नेकपा निकट रेष्टुरेण्ट व्यवसायी हुन् । विमल पोद्दार र अकबर शाहमाथि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । 

चुडामणि उप्रेती ‘गोरे’ ले तस्करी गरेर ल्याएको करिब ७५ प्रतिशत सुन मोहन अग्रवालले खरिद गर्ने गरेका थिए । त्यस्तै पोद्दारले लामो समयदेखि तस्करीको सुन जनकपुर हुँदै भारत पठाउने गरेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । 

२०७४ माघ ९ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ केजी सुन र त्यही सुनका कारण भएको सनम शाक्य हत्या प्रकरण ‘इभिडेन्स बेस्ड’मा अनुसन्धान गरेको समितिले दाबी गरेको छ । 

‘प्रमाण देखाउँदा प्रेमलाल चौधरीले हिरासतमा आत्महत्या गरेका हुन्,’ समितिको प्रतिवेदनमा भनिएको छ, ‘चौधरीसँग भएको करोडौँ सम्पतीको स्रोतबारे चासो राख्दा उनी होपलेस भैसकेका थिए ।’

छानविन समिति स्रोतका अनुसार बर्दियाबाट कसैको घरेलु कामदारको रुपमा काठमाडौं आएका प्रेमलाल चौधरीले त्रिभुवन विमानस्थलमा काम गर्न थालेपछि करोडौँ सम्पत्ति आर्जन गरिसकेका थिए । चौधरीले आफ्ना ज्वाईं छोरीका लागी काठमाडौँको असनमा सुन पसल खोलिदिएका थिए भने दुई छोरीहरु अमेरिकामा बस्छन् । चौधरीले काठमाडौँमा करोडौँको घरजग्गा जोडेको समितिको अनुसन्धानबाट खुलेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप