शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शम्भुजीत बास्कोटाले ‘टप टेन’ यी गीतमा संगीत भर्दाका रोचक कथा

शनिबार, ०२ भदौ २०७५, १२ : ५९
शनिबार, ०२ भदौ २०७५

कुनै एक यस्तो जमाना थियो अधिकांश नेपाली चलचित्रको पाश्र्वगीतमा त्यही एउटै व्यक्ति शम्भुजीत बास्कोटाको संगीत हुन्थ्यो र अधिकांश गीत हिट पनि हुन्थ्यो ।   

नेपाली चलचित्र क्षेत्रका एकमात्र भर्सटाइल संगीतकार हुन्, बास्कोटा । चलचित्र, सुगम संगीत होस् वा आधुनिक नै  किन नहोस् उनका गीतले सांगीतिक आकाशमा एउटा सुनौलो अध्याय नै कोरेको छ । 

संगीतको अलवा शब्द रचनाकार र गायकको रुपमा समेत नेपाली सांगीतिक क्षेत्रमा करिब तीन दशक चर्चामा रहन सफल उनी अहिले पनि उत्तीकै क्रियाशील छन् ।

४ सय बढी सुगम संगीत र दुई हजार माथि संख्यामा  चलचित्र गीतमा संगीत भरेका उनी हाल नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको उपकुलपतिका रुपमा कार्यरत छन् । 

नेपाल प्रज्ञा प्रतिष्ठानको वरिष्ठ संगीत निर्देशक, चलचित्र विकास बोर्डको पहिलो कार्यकारी अध्यक्ष तथा नेपाल टेलिभिजनको अध्यक्ष र महाप्रबन्धकको जिम्मेवारी बहन गरेर थुप्रै काम गरेका छन् बास्कोटाले । 

नेपाल टेलिभिजनमा एक–एक घन्टामा समाचार राख्ने श्रेय पनि उनलाई नै जान्छ । 
अहिले पनि संगीत सिर्जनामा क्रियाशील उनी भर्खर मात्र घोषणा भएको महजोडीको चलचित्र ‘दाल भात तरकारी’मा पनि संगीतकारको रुपमा अनुबन्धित भएका छन् । 

४ दशक संगीत सिर्जनमा खर्चिएका उनी थुप्रै पुरस्कार र लाइफटाइम अचिभमेन्ट सम्मानद्वारा सम्मानित भएका छन् । बास्कोटाका जति गीत बाहिर आएका छन् र ती सबै एक से एक छन् । ती गीत मध्य बास्कोटालाई पनि चित्त बुझेका १० गीत उनकै शब्दमाः 


‘तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँछ .....’

यो गीत त्यस्तै २०२८ सालतिर होला । मैले रेडियो नेपालमा स्वर परीक्षा पास गरेको बेला थियो । स्वर परीक्षा पास गरेपनि गीत रेकर्डिङ गर्न भने २ वर्ष कुर्नुपर्यो । सो समय म आफैं गीत लेख्ने र संगीत भर्ने गर्थे । यो समय मेरो ‘नाच हे मैच्याङ नाच’ गीत हिट भएको थियो । त्यही समय एक कामका लागि म विराटनगर गएको थिएँ । विराटनगर गएको बेला एक गेष्ट हाउसमा मलाई यो गीत फुर्यो ‘तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउछ .....’ ।  त्यति बेला गायक दीपक खरेल संघर्ष गरिरहेका दिए । उनकै आवाजमा यो गीत रेकङ भयो । गीतले चर्चा पाएको मात्र होइन । मलाई पनि संगीतकारको रुपमा चिनायो ।

‘तिमीले भनेका सारा देव छोएर .’

यो गीतमा शब्द डा. विश्वम्भर प्याकुरेलको रहेको छ । गायक दीपक खरेलका लागि मैले संगीत गरेको थिएँ । तर गायक दीपकले यो गीतका लागि त्यति रुचि नदेखाएकोले थन्क्याएर राखेको थिएँ । एक दिन स्टुडियोमा यो गीत त्यतिकै मैले गुनगुनाउँदै थिएँ स्वर सम्राट नारायण गोपालले सुनेर असाध्यै मन पराउनु भयो । उनले गीत आफूले गाउने भन्नु भयो । गोपाललाई यो गीतको रियलसल मैले गीतकार प्याकुरेलकै निवासमा गराएको थिएँ । गोपालले यो गीत   आफ्नो स्वर्णीम सन्ध्यामा पनि गाउनु भएको थियो । यो गोपालको पनि मनपर्ने गीत मध्ये एक हो, एक कार्यक्रममा उहाँले भन्नु भएको थियो ।
 
‘पर्खी बसे आउँला भनि.....’

यो गीत त्यति बेलाको हो, जति बेला कलाकार नीर शाहसँग मेरो धेरै उठबसमा थियो । कुरैकुरामा उहाँले यो गीत लेख्नु भयो । मैले पनि छिट्टै संगीत गरिदिएँ । अहिलेसम्म कम समयमा संगीत तयार भएको गीत मेरो यही हो । गीत हामी दुबैले गायक उदीतनारायण झाका लागि सोचेका थियौं 

रेकर्डिङका लागि उनलाई नै कुरिरहेका थियौं । नारायण गोपालले थाहा पाएर गाउन दिन आग्रह गर्नु भयो । हामीले दियौँ । उहाँको स्वरमा रेकर्ड भएको यो गीतले म मात्र होइन नीर शाह र नारायण गोपाललाई समेत चर्चा दिलायो । 

‘फेवातालको आँगनमा लै लै ....’

एक समय म बारम्बार पोखरा जान्थेँ । पोखराको मनोहर दृश्यसम्म मोहित थिएँ म । त्यहाँको मनोहर दृश्यले मलाई केही सिर्जना गर्न झक्झक्याउथ्यो । पोखरा र फेवातालको विषयमा मैले नीर शाहको घुम्दा घुम्दै फेवाताल भन्ने गीत गरेको थिएँ । जुन गीतले चर्चा पाएको थियो । फेवातालसम्बन्धी मेरो आधुनिक गीत त्यही थियो । गीतको चर्चाले मेरो मनमा फेरि पोखराको विषयमा गीत बनाउनु पर्छ भन्ने लागेको थियो । पोखरामा गएको बेला दिनेश सुब्बाले मरो अगाडि यो गीत कोर्नु भयो । मैले पोखराको फेवातालमा डुङ्गामा घुम्दाघुम्दै संगीत गरेँ । प्रकार श्रेष्ठले गाएको यो गीत अहिले पनि उत्तीकै लोकप्रिय छ ।

‘तीन पाते डाँडा काटेर ...’

कमल थापाले लेख्नुभएको यो आधुनिक गीतको संगीत भर्ने अवसर मैले थापाबाटै पाए । यो गीत पाउँदा म चलचित्र ‘युगदेखि युगसम्म’ को काम गर्दै थिएँ । चलचित्रको गीतका लागि धेरै शब्द खोजियो । तर मिल्दो शब्द पाइरहेको थिएन । चलचित्रको कथासँग गीत मिल्न गयो । मैले निर्माता निर्देशकलाई चलचित्र राख्न अनुरोध गरेँ । यो गीतमा अभिनय गरेका कारण चलचित्रको मात्र होइन । अभिनेता राजेश हमालको पनि त्यतिबेला निकै चर्चा भयो । 
 
‘मेरो बसन्ती प्यारी बसन्ती  ......’
‘बसन्ती’ चलचित्रका लागि म आफैंले तयार पाएको गीत हो यो । यसको शब्द नीर शाहसँग मिलेर बनाएको थिएँ । यो गीत जतिबेला बन्यो, त्यतिबेला म वर्षको ६ महिना मुम्बई छ महिना काठमाडौं बस्थेँ । विदेश र स्वदेशको बारम्बार यात्राले म दिक्दार भएर काठमाडौं बस्ने गरी फर्किएको थिएँ । सो समय म स्वरुपराज आचार्यलाई संगीत पनि सिकाउँँथे । उसले नै गाएको यो गीत शम्भु प्रधानका लागि तयार गरेको थिएँ । तर उहाँले मन नपराएर नीर शाहका लागि दिएँ । नीर दाइले यो गीत चलचित्रमा राख्ने भनेपछि सुगम संगीतमा तयार गरेँ । डाइमन शमशेरको कथामा निर्माण भएको नीर शाहको महत्वकांक्षी चलचित्र ‘बसन्ती’मा राखेको यो गीतबाट मैले आफैंले आफूलाई म्युजिकल फिल गर्ने मौका पाएँ ।

‘यो माया के हो, आगो हो कि पानी’ 
 
अभिनेत्री करिष्मा मानन्धरको चलचित्र ढुकढुकीका लागि तयार गरिएको यो गीतमा चलचित्रभित्र पात्रले भोग्ने पीडा समेटिएको थियो । करिष्मालगायत निर्माण युनिटले माया प्रेमको पीडामा गीत बनाउने जिम्मेवारी मलाई दिएका थिए । 

सोही अनुरुप मैले यो गीत तयार पारेको थिएँ । मुम्बइमा रेकर्ङ गरिएको यो गीत भारतीय गायक रुपकुमार राठोरलाई गाउन लगाइयो । बनाउँदा होस् या बाहिर बज्दा म आफैंले पीडा फिल गरेको गीत पनि हो यो । दुःखको बोध गराउने उद्देश्यले बनाइएको यो गीत अहिले पनि जुनै दुःखको प्रशंगमा मिन्छ ।

‘म त अब रिसाउँछु बोल्दै बोल्दिन ..’.

एक दिन म हारमोनियम र बँदेलको मासु लिएर किरण खरेलसँगै शम्भु प्रधान दाइको घरमा गएको थिएँ । हामी बँदेलको मासु खाँदै गीतको शब्द कोर्दै थियौं । शम्भु दाईले भने सरस्वतीको सिर्जना गर्ने समयमा के को मासु खाएर गर्ने भन्दै हुनुहुन्थ्यो । त्यही समय किरण दाइले गीतको शब्द कोरिहनु भएको थियो । म संगीत भरिरहेको थिएँ तर चित्त बुझ्दो भएको थिएन । त्यही किरण दाई दिक्क भएर केही क्षणका लागि बाहिर निस्किएका थिए । बाहिर पानी परिहेको थियो । पानी रोकिए पछि आकाश खुल्यो । त्यो देखेर किरण दाइले राम्रो गीत लेख्नु भयो ‘म त अब रिसाउँछु बोल्दै बोल्दिन ...’ । गीत गायक  कुमार सानुलाई गाउन लगायौं । ब्रृज मेलोडीमा मैले तयार गरेको यो गीत सुन्नेको हृदयमा फिलिङ ल्याउन गीतमा अनेक प्रयोग गरेँ । गीत हिट पनि भयो । 

‘गैरी खेतको सिरै हर्यो .....’

‘प्रेमपिण्ड’ चलचित्रका लागि यो गीत यादव खरेल दाइले लेख्नु भएको हो । यो गीतको संगीत तयार पार्न शक्ति बल्लभ, न्यु बज्राचायलाई जिम्मा दिइएको थियो । मलाई अन्य दुई गीत दिइएको थियो । मलाई ‘चैत्र मास खडेरीमा डडलोले’ र ‘सपना हो यो भने’ दिइएको थियो । मैले आफ्नो भागमा परेको गीत संगीत गरेर बुझाएको थिएँ । यादब दाईले मनपराउँनु पनि भएको थियो ।


मैले दिएको गीतहरु मन परेर हो कि के हो । यो गीतको पनि संगीत गरेर देखाउन भन्नु भयो । मैले उहाँकै अगाडि १० मिनेटमा गीत पुरै नेपाली पारामा ढालेर कम्पोज गरे । लोकमा ढालेर सुनाए । उहाँले मन पराउनु भयो । तत्कालै मुम्बई गएर रेकर्ड गरियो । गीतको कारणले पनि चलचित्र चर्चामा रह्यो । यो गीतले मलाई देश तथा विदेशको बिभिन्न अवार्डको हकदार बनायो । 

‘रातो टिका निधारमा टलक्क टल्कियो ...’

‘दैव संयोग’ चलचित्रका लागि यो गीत बनाएको थिएँ । तर निर्माता मन्जुल कुमारले यो गीत मन पराएनन् । पछि कुनै समय काम लाग्ला भनेर स्टक राखेको थिएँ । ‘अल्लारे’ चलचित्रका लागि अशोक शर्मालाई दिएँ । गीत हिट भयो । एक दिन बिहान घुम्न निस्किएको थिएँ । एक सैनिक बटालिएनले निधारमा रातो टिका लगाएको देखेँ । सो समय म निकै ब्यस्त थिएँ । भ्याइ नभ्याइ नै थियो । दैव संजोगमा दिन हुन्छ भनेर गीत बनाएको थिएँ । निर्माता मन्जुललाई सुनाएको थिएँ । उनले आफ्नो चलचित्रमा राख्न मानेन् र मैले अशोक शर्मालाई दिएँ । चलचित्रको कथा म आफैँले तयार पारेको भएकोले गीत कथा अनुसार फिट भयो । अहिले पनि विदेशका धेरै ठाउँमा यो गीत बज्ने गरेको पाउँछु ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप