मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बसाइँसराइका कारण जमीन बाँझै, गाउँ खाली हुने अवस्थामा

शनिबार, ०२ भदौ २०७५, १० : ००
शनिबार, ०२ भदौ २०७५

पाल्पा - माथागढी गाउँपालिका–१, चिदीपानीमा वर्षेनी गाउँ रित्तिदै जान थालेको छ । यस वडामा पाँच वर्षको अवधिमा १५१ परिवार बसाइँसराइ गरी अन्यत्र गएपछि गाउँ खाली हुने अवस्थामा पुगेको होे । 

गाउँमा सेवा र सुविधा नभएपछि मानिस शहरी क्षेत्रमा बसोबास गर्न थालेकाले ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् । यस वडामा करीब एक हजार घरधुरी रहेकामा १५१ परिवारका ४३७ जना बाहिरिएका छन् । प्रत्येक वर्ष १८ देखि ५१ घरपरिवार बसाइँसराइ गरी बाहिर गएको वडा कार्यालयको अभिलेखले देखाउँछ । 

बसाइँसराइ गरी बाहिर जाँदा ६० लाखौँ खर्चेर बनाइएको घर संरक्षणको अभावमा खाली हुनाका साथै करीब एक हजार रोपनी खेतबारी बाँझोमा परिणत भएका छन् । 

लामो समयसम्म मानिस बसोबास गर्न छाडेसँगै पुराना घर जीर्ण बन्दै गएका छन् । विसं २०७० देखि २०७४ चैत्र मसान्तसम्म बसाइँ सर्नेको सङ्ख्या ४३७ पुगेको छ । विसं २०७० मा २२ , ०७१ मा ५१, ०७२ मा १८, ०७३ मा १९ र ०७४ मा ४१ गरी जम्मा १५१ परिवार गाउँबाट विस्थापित भएका हुन् । 

शिक्षित तथा आर्थिकरूपमा सम्पन्न परिवार माडीफाँट, तानसेन, पोखरा, बुटबल, काठमाडौँलगायतका स्थानमा बसोबास गर्दै गएपछि ग्रामीण बस्ती खाली हुन थालेको हो स्थानीय बासिन्दा नवराज पन्थीका अनुसार सेवा सुविधाको खोजीमा वर्षेनी मानिस बराइँसराइ गरी अन्यत्र जान बाध्य छन् । 

वडा तथा गाउँपालिकाले वडाबाट बाहिर बसोबास गर्न खोज्नेलाई यही राख्ने वातावारण सिर्जना गर्नुपर्छ । पहिला शिक्षित र सम्पन्न मानिस गाउँ छाडेको देखासिकीबाट अहिले विपन्न समुदायका मानिस पनि बराइँसराइ गरी बाहिर जान थालेको पन्थी बताउँछन् । 

माथागढी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद घिमिरे शर्माले खेतीयोग्य जमीन बाँझो राख्ने र घर खाली राख्ने १५÷२० परिवारसँग छलफल गरी प्रयोगमा ल्याउन अनुरोध गरिएको जानकारी दिए । ९ महिना बाहिर बसे पनि तीन महिनामा घरमा बस्न अनुरोध गरिएकाले केहीले बस्न थालेका छन् । बाँझो जमीन मालिकले अरूलाई खेती गर्न दिन सहमत भएको उनले बताए ।

बसाइँसराइ गरी आउनेको सङ्ख्या झिनो मात्र छ । विसं २०७० देखि २०७४ चैत्र मसान्तसम्म ८० जना मात्र फर्केका छन् । विंस २०७० मा चार, ०७१ मा तीन, ०७२ मा दुई, ०७३ मा सात तथा ०७४ मा तीन गरी जम्मा १९ परिवार वडाभित्र आएर बसोबास गरेका छन् । 

वडा सहायक नवराज पन्थीका अनुसार जिल्लाको हुमीन, रहबाँस, बहादुरपुर र स्याङ्जाबाट १९ परिवार बसाइँसराइ गरी यस वडामा आएका हुन् । उनीहरूले यहाँ खेती तथा पशुपालन गर्न थाले पनि पूर्णरूपमा व्यावसायिक बन्न भने सकेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप