मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कविताः फरक चरित्र

शनिबार, ०२ भदौ २०७५, ०९ : ०८
शनिबार, ०२ भदौ २०७५

-इन्द्रकुमार श्रेष्ठ सरित

हल्लाखल्ला नै नौलो थियो
अहो ! के–के नै हुन लाग्यो
जनतामा स्वाभाविक उत्सुकता जागेकै हो
निर्देशक नयाँ थियो
कथा र घटनाक्रम बिल्कुल नौला थिए
नवीनता प्राप्तिको आशा भए पनि 
समय विश्वाशिलो चै थिएन नै
तर प्रस्तुति  बिल्कुलै फरक थियो
पात्रहरू त अधिकांश नयाँ थिए
नयाँ थियो गीत, सङ्गीत नयाँ थियो
चलचित्रको पोस्टर नै आकर्षक थियो  
थुम्कामा चढेर निर्देशक भनिरहेथ्यो
यो जँघार तर्ने हामी नै हौँ
घाम छेक्ने पर्खाल ढाल्ने नि हामी नै हौँ
लेख्नैछौँ हामी नयाँ इतिहास
यो हैन हास परिहास
फलामझैँ मजबुत हाम्रा विचारले
हुन दिने छैन हामीलाई निराश ।

दर्शकको भीड बढाउन
निर्माण युनिटले के–के मात्र गरेन ?
आशा र आश्वासनका कस्ता कस्ता
रङ्गीन र फूलबुट्टे सपनाहरू देखाएनन् ?
सुन्दर  सपनाका कस्ता कस्ता मात्र बेलुन उडाएनन् ?
बेलुनसँगै सपना बनेर कति कति रहर उडे
कति कति सिन्दूर फेरि नलाग्ने गरी उजाडिए
काखभरीको हाँसो कहिल्यै नगुन्जिनेगरी हराए
पीडाका कति कथा र उपन्यास बने
हिसाब फेरि पनि मिलेन
ककसले के–के पाए, 
ककसले को–को र के–कति गुमाए ?

आँसुको भेल आज पनि बहेकै छ
छातीमा घाउ बनेर बसेकै छ
हिजो बलेको आगोले दिएको चोट
आज पनि  आलै छ ।

नेपथ्यमा गुन्जिन्छ आज पनि अरण्य क्रन्दन
तर सुन्नुपर्नेको कान बैरो भएको छ
बुज्नुपर्ने मन मस्तिष्क आज लाटो भएको छ
भासिसकेको छ ऊ सत्ताको खेलमा
आँखामा जति नै छारकाप्रो हाल्ने प्रयास गरे तापनि
अदृश्य निर्मातासँगको उसको लुकामारी
थुन्सेले हैन डोकोले छोपेसी 
आज एक कान दुई कान मैदान भएको छ ।

काँधमा बोकेर जँघार तराउनेहरू
आज उसले बिर्सिसक्यो
पर्खाल बनेर उसको छाती जोगाउनेहरू र
स्वतन्त्रतासँग जीवन साट्नेहरूलाई त उसले
उहिल्यै भुलिसक्यो
तैपनि कहिलेकाहीँ नाटक गर्छ सम्झेको
सम्झेर गोहीको आँसु झारेको ।

जनतालाई देखाइएको सपनासँग
जनताले देखेका सपनासँग
जनताको पसिना, रगत र बलिदानसँग
अब उसलाई कुनै चासो छैन
चासो त अब उसलाई इतिहास भँजाएर
वर्तमानमा करोडौँ र अर्बौंको चेक साट्नु छ
तैपनि दूधको साक्षी बिरालो बनेर 
मानिसको संवेदनालाई कोट्याउँदै 
मात्र आफ्नो दुनो सोझ्याउनु छ ।

विचारलाई महान भन्नेहरूलाई
विचारका लागि आफ्नो प्राणको आहुती दिनेहरूलाई
उसले दिउँसै तारा देखाइसकेको छ
रातोदिन सपनामा समेत ऐठन गर्ने बुख्याँचालाई
विश्वास गरेर विश्वासकै धज्जी उडाएको छ
कति चाँडै बिस्र्यो उसले 
यही बुख्याँचाले हिजो मात्र उसलाई दागा धरेको थियो

इतिहासको यो सङ्गीन घडीमा उभिएर उँभोगतिको भए पनि उँधोगतिको भए पनि
इतिहास त उसले बनाउनु नै छ
व्यग्रताका साथ पर्खाइ छ
त्यो ऐतिहासिक घडीको
नायक चढेको जहाजसँगै को–को डुब्ने हुन् ?
नायकका दुई पाखुरा समाएर समुद्र पारगर्दै
ककसले नयाँ इतिहास लेखनमा सहयोग गर्दै
नयाँ इतिहासको रचना गर्ने हुन् ?
      
-तरहरा, सुन्सरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप