कविताः गिद्दे नजर
-इज्मा पोखरेल
मेरा यी निश्चल आँखाहरूमा
जब उसको गिद्दे नजर पर्छ
ऊ लुछ्न थाल्छ मलाई
चोक्टा चोक्टा हुनेगरी
उसको नजरहरूबाट
आमाले सानो छँदा
नजर उतारिदिन लगाइदिने
त्यो गाजलको टीका
मिथ्या साबित ।
मेरो यो सानो कलिलो शरीरमा
स्तनको परिचय दिँदै
अलिकति उठेको छाती
जसले म नारी हुनुको प्रतिनिधित्व गर्छ
त्यसैमा जब उसको गिद्दे नजर पर्छ
उसका घृणित पुरुषार्थ
उकुसमुकुस भएर बिस्फोट हुन पुग्छन्
म दबिन्छु, निसासिन्छु
बर्बराउछु, छोड्दे मलाई
खास उसले त्यहाँ छुँदै गर्दा
मेरो सुरक्षाको निम्ति
ती भित्री बस्त्रहरूमा
तीखा काँडाहरू जडित हुन्थे ।
भर्खरै १२, १३ भएर
महिनावारी महसुस गरेकी म
बल्ल रगतहरूसँग पौडिन सिक्दै गर्दा
जब उसको गिद्दे नजर पर्छ
म उसको भार थेग्न सक्दिनँ
म उसलाई लात मार्न सक्दिनँ
ऊ लुटिदिन्छ मेरो अस्तित्व
मेटिन्छ मेरो कुमारित्व
ओहो, महिनाबारी भन्दा पीडादायक
त्यो पल त्यो क्षण...
भविष्यको मीठो कल्पना गर्दा
कति सुन्दर थिए मेरा सपनाहरू
मेरा तिनै सपनाहरूमा
जब उसको गिद्दे नजर पर्छ
तोडिन्छन् मेरा आँटहरू तिनै पल
सकिन्छन् अब मेरो अस्तित्व
सन्किन्छन् मेरो डोली चड्ने रहर
सकिन्छ मेरो असल नारीको परिचय
के नारी हुनु नै मेरो दोष हो त ?
-काठमाडौँ, नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’