कविताः निर्दोष निशान !
-लक्ष्मण सिटौला
एउटा कोपिला जो फुल्नु थियोे
जो फक्रनु थियो फैलनु थियो
र सुवासित हुनु थियो
नेपाली धरतीमा
तर चँुडियौ कठै !
आज नेपाली आकाश पनि धमिलो छ
सारा नेपाली आमाहरू रोएका छन्
सारा नेपाली बाबुहरू रोएका छन्
एउटा त्रासदी फैलिएको छ हाम्रो बुद्धस्थलमा
र एका एक शान्ति भङ्ग भएको छ
मैले बुद्ध रोएको देखेँ
मैले जून रोएको देखेँ
मैले सारा जगत रोएको देखेँ
मैले नदीहरू रोएको देखेँ
यति मात्रै होइन मैले रात पनि रोएको देखँे
प्रिय निशान !
तिम्रो आँखाबाट सधैंका लागि अस्ताए सपनाहरू
तिम्रो छातीबाट सधैँका लागि अस्ताए घामहरू
हाँगाबाट उडेर गए चरिहरू किनकि
जहाँ बालकहरू सुरक्षित छैनन्
त्यहाँ कोही पनि सुरक्षित छैनन्
त्यो देश आफै पनि सुरक्षित छैन
जहाँ कोपिला सुरक्षित छैन
त्यहाँ कुनै फूल पनि संरक्षित छैनन्
आतङ्क पल्किएको छ आगनमा
कोही सुरक्षित देख्दिनँ म
कहिले होला निर्धक्क हिँड्ने बालकहरू
कहिले होला खुसीले उड्ने जुनकीरी आकाशमा
कहिले होला आनन्दले फुल्ने फूलहरू
कहिले होला हर्षले झुल्ने सपनाहरू !!
यो बुद्ध भूमिमामा
यो शिवको देशमा
निदाउन पनि पाउदिनन् आमा रातमा
काखमै निदाएको छोरा अपहरणमा पर्छ
काखमै दूध खाँदै गरेकी नाबालिक
थुतेर बलात्कारको शिकार हुन्छिन्
हरेक घरको सन्झ्यालबाट कालो सर्प कतिबेला छिर्छ
र डस्छ निर्दोष निशानहरूलाई !