बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच वर्षभित्र गरिबी अन्त्य गर्ने अर्थमन्त्रीको घोषणा

शुक्रबार, ०१ भदौ २०७५, १४ : १७
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले पाँच वर्षभित्र मुलुकबाट गरिबी अन्त्य गर्ने घोषणा गरेका छन् । अर्थमन्त्री खतिवडाले शुक्रबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा दिगो विकास लक्ष्य हासिल हुनेगरी सरकारले गरिबी निवारणलगायतका क्षेत्रमा आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको पनि स्पष्ट पारे । उनले संयुक्त राष्ट्रसंघले घोषणा गरेभन्दा अघिनै नेपालले दिगो विकास लक्ष्य हासिल गर्ने दाबी पनि गरे ।

त्यसका लागि सरकारले पूर्वाधार विकासको काममा जोड दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ । उनले संयुक्त राष्ट्रसंघले घोषणा गरेको दिगो विकास लक्ष्य अनुसार सरकारले साक्षरता, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा आवश्यक योजना बनाइरहेको पनि बताए । 

सन् २०३० भित्र नेपालले दिगो विकास हासिल गर्ने लक्ष्य लिएको छ । सोभन्दा अघि नै दिगो विकास लक्ष्य हासिल हुने गरी सरकारले कामलाई तीव्रता दिएको अर्थमन्त्री खतिवडाको दावी छ । अर्थमन्त्री खतिवडाले दिगो विकासका लागि आवश्यक पूर्वाधार विकासको कामलाई अघि बढाउन सरकारले अन्तराष्ट्रिय लगानी भित्रयाउँन लागि परेको स्मरण गराउदै दिगो विकास लक्ष्य हासिलका लागि सरकारले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर जाने नीति लिएको जानकारी गराए ।

‘दिगो विकास लक्ष्य हासिल हुने गरी पूर्वाधार विकास गर्न निजी क्षेत्र र सहकारीसँगको सहकार्यलाई पनि सरकारले जोड दिएको छ’ अर्थमन्त्रीले भने । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले दिगो विकास लक्ष्य हासिल हुनेगरी तथ्याँक संकलनको काम सुरु गरिएको जानकारी दिए । उनले अनुगमन  र मूल्याँकनको माध्यामबाट स्रोत र साधनको दुरुपयोग हुन नदिई दिगो विकास गर्न आवश्यक दिर्घकालीन योजना बनाउने काम पनि भइरहेको बताएका थिए । 

उपाध्यक्ष कँडेलले दिगो विकास लक्ष्य हासिल हुनेगरी सरकारले तय गरेको नीति तथा कार्यक्रमलाई सफल बनाउनेगरी योजना बनाउने कामलाई आयोगले अन्तिम चरणमा पुर्याएको पनि जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप