शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा सिंगापुरबाट फर्केपछि गच्छदारले ‘विकल्प’ खोज्ने

शुक्रबार, ०१ भदौ २०७५, १३ : ४२
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौ– दश महिनाअघि आफ्नो पार्टी फोरम लोकतान्त्रिलाई काँग्रेसमा विलय गराएका विजयकुमार गच्छदार काँग्रेस पार्टी छाड्ने मनस्थितिमा पुगेका छन् । पार्टी सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि अन्तिम छलफल गर्ने र सो छलफलपछि पनि आफ्नो समुहका नेता कार्यकर्तालाई उचित समायोजन नगरे विकल्प खोज्ने गच्छदार समूहको तयारी छ ।

नेता गच्छदार पार्टीमा महत्ववपूर्ण जिम्मेवारी नपाएको भन्दै पछिल्लो समय देउवासँग असन्तुष्ट बनेका छन् । यहि साउन २९ गते गच्छदारले आफ्नै निवासमा पुराना पार्टीका नेता तथा कार्यकर्तासँग विकल्पबारे छलफलका लागि बैठकनै राखेका थिए । सो बैठकमा पार्टी एकीकरणदेखि हालसम्म काँग्रेस पार्टीमा भएका गतिविधिका बारेमा छलफल भएको बताइएको छ । 

२०७४ असोज ३० गते गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले नेपाली काँग्रेससँग एकीकरण गरेको थियो । एकीकरण हुनुपूर्व दुई दलको बीचमा भएको सम्झौता हालसम्म कार्यान्वयन नभएको भन्दै गच्छदार त्यसको विकल्प खोज्ने तयारीमा लागेको गच्छदार निकट नेताहरुले बताएका छन् ।

सहमति अनुसार गच्छदार उपसभापतिको पद दिनुको साथै केन्द्रीय समितिमा १५ जना फोरमबाट समायोजन गर्ने थियो ।  त्यसैगरी, फोरममा रहेका सम्पूर्ण सक्रिय सदस्यलाई सक्रिय सदस्यको रुपमा स्वीकार गर्ने सहमति भएको थियो । फोरमबाट महाधिवेशन प्रतिनिधि ७०० समायोजन गर्ने तथा काँग्रेस महासमितिमा ३०० राख्ने सहमति भएको थियो । स्थानीय तहदेखि जिल्ला र प्रदेश तहसम्म सम्माजनक सहभागी गराउने सहमति भएको थियो । 

तर, फोरम र काँग्रेसबीच एकीकरण भएको १० महिनाभन्दा बढी भइसके पनि समायोजन भएको छैन । तत्कालीन फोरमका महासचिव भर्तेन्दु मल्लिकले भने, ‘अहिले नेपाली काँग्रेसमा एउटा मान्छे प्रवेश गर्यो भने पुरै तामझामका साथ पार्टी प्रवेश गराइन्छ । अनि तत्कालै उसलाई कुनै न कुनै ठाउँ पनि दिएका उदाहरण छन् तर हामी लाखौं कार्यकर्ताका साथ काँग्रेस प्रवेश गरेको यतिका समयसम्म पनि कुनै जिम्मेवारी दिइएको छैन ।’

उनले धैर्यताको सीमा हुने भन्दै पूर्व फोरमका नेता तथा कार्यकर्ता निराश हुन थालेको बताए । मल्लिकले रातोपाटीसँग कुरा गर्दै भने,‘राजनीतिक प्राणीलाई भूमिकाविहिन बनाएर कति दिनसम्म राख्ने हो । धेरैदिनसम्म अल्झाएर राख्यो भने विकल्प खोजिन्छ । अब त्यो बेला आइसकेको छ ।’ काँग्रेसका सभापति देउवा सिंगापुरबाट फर्केपछि यसबारे छिनोफानो हुने पनि उनले बताए । ‘यदि कुरा मिलेन भने एउटा राष्ट्रिय भेला गरेर विकल्पका बारेमा छलफल गरिन्छ’ उनले भने ।

हालसम्म एकीकरणको नाममा विजयकुमार गच्छदारलाई काँग्रेसले उपनेता दिएको छ भने जितेन्द्र देवलाई राष्ट्रियसभाको सदस्य दिएको छ । त्यसबाहेक अरु नेता कार्यकर्ताले केही पाएका छैनन । सम्झौताअनुसार स्थानीय, प्रदेश तथा केन्द्रमा तत्कालीन फोरम नेपालका नेता कार्याकर्तालाई पनि टिकट दिइने भनेपनि चुनावमा सम्झौता विपरित अत्यन्त कमलाई मात्रै टिकट दिएको गच्छदार समुहको भनाई छ ।

त्यस्तै, प्रतिनिधिसभातर्फ समानुपातिकमा पनि एकजना जसरी पनि राख्ने सहमति भएपनि त्यो कार्यान्वयन नभएको मल्लिकको दावी छ ।  सहमति कार्यान्वयन नभएपछि गच्छदारले उपसभापति पद पाउने आश समेत मारिसकेको बताइएको छ । पोर्टफोलियो अनुसार गच्छदारले आफू एक नम्बरको उपसभापति हुने दावी गर्दै आएका थिए तर देउवाले गच्छदारलाई नदिएर विमलेन्द्र निधिलाई उपसभापति दिएका छन् । त्यसले पनि गच्छदार देउवाप्रति थप आक्रोशित बनेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप