केन्द्रीय संस्करण

पेरिसडाँडामा स्रष्टाको शङ्खघोष

person explore access_timeभदौ १, २०७५ chat_bubble_outline0

यही श्रावण २९ गते पूर्वमाओवादी पार्टीको मुख्यालय पेरिस डाँडा स्रष्टामय थियो । पूर्वएमाले र माओवादी प्रतिबद्ध, आबद्ध, समर्थक शुभचिन्तक साहित्यकार, गायक, सङ्गीतकार, नृत्यकार, सिनेकर्मी, भाषा तथा लोकसाहित्य पक्षधर विभिन्न विधा, विज्ञता, सङ्घ, प्रदेशका स्थापित, साधनारत तथा सिर्जनशील सर्जकहरूको बृहत् उपस्थिति थियो । 

पार्टीहरूका बीच अभूतपूर्व एकताको प्रक्रिया सुरु हुँदै गर्दाको एउटा अर्को उत्साह यस भेलामा प्रकट भएको थियो । संस्कृतिकर्मीहरूको संयुक्त विस्तारित बैठकमा  वरिष्ठ गीतकार, कलाकार तथा पार्टी पोलिटब्युरो सदस्य मणि थापाले  सारगर्भित शङ्घोष गरेका थिए । 

 थापाले दक्षिण एसियामा नै कम्युनिस्ट आन्दोलन कमजोर रहेको र नेपालमा समेत विगत लामो कालखण्डमा एकअर्कालाई नै सिध्याउने खालका आपसी खेलबाट प्रतिक्रियावादीले देश र जनताकाविरुद्ध धमिलो पानीमा माछा मार्न  सफल भएको यथार्थ सत्य तथ्यको परिघटनासहित बेलिबिस्तार लगाएका थिए ।

 यिनै कारणले हामी मूल लक्ष प्राप्त गर्ने अभियानमा सदा असफल भयौँ भन्दै  अहिले दुई प्रमुख  कम्युनिस्ट पार्टीका बीच भएको एकतामा मूलतः पार्टीका शीर्षस्थ नेताद्वयको अगुवाइमा पार्टी नेताहरूले सुझबुझपूर्ण जुन भूमिका निर्वाह भयो । त्यसको उच्च प्रशंसा गर्दै  अब त्यसलाई सकार र सफल पार्ने गम्भीर चुनौती नेता, पार्टी र अझ हामी संस्कृतिकर्मीमा आएको  थापाले बताए ।   

यही परिप्रेक्षमा अहिले जनसांस्कृतिक महासङ्घ सम्बद्ध दुई सङ्गठनको एउटै, नाम, विधान र  १५१ सदस्यीय केन्द्रीय समिति बनाएर एकीकृत तथा सुसङ्गठित जनवादी सांस्कृतिक अभियानको सुरुवात गरिएको उनले बताए । थापाले जनसंस्कृतिकर्मीहरूको अबको भूमिका आफैलाई समेत रूपान्तरित गर्दै सामाजिक सांस्कृतिक रूपान्तरणको महाअभियानमा लाग्नुपर्ने अनुकूल विशिष्ट पक्षलाई भरपुर उपयोग गर्नुपर्ने कुरा बताए ।  

 दुई तिहाईको यो सरकारका सकारात्मक काम, पार्टी नेता र मन्त्रीका पनि जनहितका सार्थक र जनउपयोगी कामलाई सकार्दै त्यहाँभित्र कहीँ पनि विकृति र विसङ्गति देखापरे तिनलाई सुधार्ने र सच्याउने गरी भूमिका खेल्नुपर्ने र आवश्यक परे कलात्मक हस्तक्षेप वा दबाबकारी भूमिका निर्वाह गर्न हिच्किचाउन नहुने थापाले उद्घोष गरे । 

 थापाका अभिव्यक्तिमा सर्जकको उच्च उदात्त  तथा देश र जनताको सेवा भाव अभिव्यक्त हुन्थ्यो । उनका अनुसार सकारभित्र नकार र नकारभित्र सकार पनि हुन्छ ।  उनकै भाषामा सजातीय मात्रै होइन,  विजातीय तत्व पनि एकीकरणमा आबद्ध भएको हुनसक्छ ।  तर पार्टी र  सरकारको सजातीय तत्वका बल, शक्ति, सिर्जना र सामथ्र्यले आफैभित्रका नकारहरू परिवर्तित गर्नुपर्छ, उनले जोड दिएर उल्लेख गरे । 
थापाले अब नेपालको प्रगतिशील तथा बाम शक्तिका लागि सबै देश, जनता र जनजीविकाका लागि ठोस तथा प्रभावकारी काम गरेर देखाउने सबैभन्दा  ठूलो चुनौती रहेको उल्लेख गरे । 
किनभने अब दुई तिहाइको सरकार भएपछि पनि काम गर्न सकिएन भनेर  कसैलाई पनि दोषारोपण गरेर पन्छिन नसकिने बताए । थापाले एकातिर कलाकर्मीहरूले जनतामा आशा जगाउने हो भने अर्कातिर विसङ्गतिविरुद्ध खबरदारी गर्ने  आजको अहं सवाल हो र प्रमुख जिम्मेवारी पनि हो भने  । 

यस्तो विसङ्गति संस्कृतिकर्मीमा होस् वा पार्टी र नेतृत्वमा होस् तिनका विरुद्ध आन्तरिक र बाह्य रूपमा लागि पर्नु अपरिहार्य रहेको थापाले बताए । उनले अब रूपान्तरणको सवाल प्रमुख हुनुपर्छ भन्दै हामी संस्कृतिकर्मीहरूले आफैबाट नै यो अभियान सुरु गर्नुपर्ने र पार्टी, नेतृत्व, सरकार, मन्त्रीहरूमा पनि रूपान्तरणको प्रक्रिया यथाशीघ्र प्ररम्भ हुनुपर्छ भन्ने हाम्रो आग्रह र अनुरोध हो तर आवश्यक परे यस काममा संस्थागत रूपमा संस्कृतिकर्मी लाग्नुपर्छ  उनले भने । 

यसो भयो भने मात्र संस्कृतिकर्मीहरूको यो गहन जिम्मेवारी पूरा हुनसक्ने थापाले बताए । उनले गलत कामको विरोध हुनु र गर्नु युनिभर्सल कुरा हो भनेका थिए । 

हुन पनि जनताको बहुदलीय जनवादले प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गरेको छ र यस्ता विषयमा जननेता मदन भण्डारी अत्यन्त सचेत थिए । भण्डारीले नेपाल बुद्धिजीवीपरिषद् नामको बौद्धिक प्राज्ञिक संस्था स्थापना गरेको विषयलाई स्पष्ट पार्दै पार्टी, पार्टीले सञ्चालन गरेको सरकारका तमाम कामहरूका निस्पक्ष मूल्याङ्कन गर्ने संस्थाका रूपमा पनि विकसित गर्न खोजेका  थिए । 

द्वन्द्ववादले आफैभित्रको बहस, छलफल र अन्तक्र्रियालाई सापेक्ष रूपमा स्वीकार, समर्थन र पक्षपोषण गर्छ । ओली सरकारका राम्रा काम पनि ओझेल पार्ने प्रपञ्च सुरु भएको उल्लेख गर्दै थापाले देशी तथा विदेशी प्रतिक्रियावादी शक्ति नेपालको बाम सरकारका विरुद्ध विभिन्न जोणकोणका साथ मिही र सूक्ष्म रूपमा मरिमेटेर लागिपरिरहेको उल्लेख गरे । 

उनले यी प्रतिक्रियावादी शक्तिहरू सडकको एउटा खाल्टोलाई चार खाल्टा भएको भनेर दुष्प्रचार गर्छन् । प्रमुख अतिथि थापाले परम्परागत संस्कृति र मनोवृत्तिको सरकारी संयन्त्रबाट देश र जनताको हितमा अन्तर्हृदयदेखि सेवा भावसहित काममा सरिक  गराउने र हुने कुरा पनि पनि एउटा चुनौतीको विषय रहेको बताए । 

हुन पनि बाम बहुमतको सरकार आउने सुनिश्चितजस्तै भएका अवस्थामा विगतको सरकारले अत्यन्त प्रतिकूल र जटिल स्थिति निर्माण गरेको सर्वविर्दितै छ । एक त विगत सरकारले सरकारी धन फुक्काफाल खर्च गरी कर्मचारीहरूलाई संसार घुम्ने अवसर प्रदान गरेर अर्बांै सरकारी धन स्वाहा पा¥यो । अर्को आर्थिक सहायताका नाममा फेरि करौडौँ धन वितरण गरियो । त्यतिले मात्र नपुगेर सरकारले अनुभव, योग्यता र क्षमता भएका तमाम कर्मचारीलाई भारी आर्थिक सहुलियतका साथ सेवा निवृत्त हुन सक्ने सहुलियतको घोषण गरिदियो । आफ्नो मन्त्रिपरिषद्ले गर्नैपर्ने वा बनाउनुपर्ने नियम कानुनहरू एकजात नबनाई आउने सरकारका लागि समस्याको र कामको पहाड छोडेर गयो । 

एउटा विशेष ध्यान दिनुपर्ने कुरा के हो भने जनताको सरकारको समर्थन आम जनता र जनपक्षीय मिडियाले नै गर्ने हो । तसर्थ गोयबल्स शैलीमा एक खाल्टोलाई चार खाल्टो भनेर दुष्प्रचार गर्ने भ्रमलाई समाप्त पार्न पार्टी र मोर्चा सङ्गठनहरूले सङ्गठन सुदृढीकरण अभियानसँगै प्रचार अभियान सुरु गर्न ढिला गर्नु हुँदैन । यसो भयो भने मात्र राम्रा कामहरू जनताका बीचमा जाँदा भ्रमित हुँदैनन् ।    

देशको ढिकुटी हेर्दा विगत सरकारले आर्थिक अवस्था ढुट्टोमाटो बनाएको देखेर ओली सरकारले श्वेतपत्र नै जारी गर्नुपर्ने  अवस्था आइप¥यो । यसैले गर्दा घोषणा पत्रमा उल्लेख भएको ज्येष्ठ नागरिक भत्ता वृद्धिसमेत गर्न नसकिने अवस्था रह्यो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले केही समयअघि एक टिभी अन्तरवार्तामा नयाँ सरकार सिंहदरबार प्रवेश गर्दा भित्रको अस्तव्यस्त अवस्था बताउँदै थिए । 

उनका अनुसार मन्त्रालयहरू, मन्त्रिपरिषद्, मन्त्री क्वाटरलगायत  सबै सङ्घ सरकारका कार्यालय, निकाय र निवासको अवस्था कवाडखाना जस्तो लथालिङ्ग र भताभुङ्ग रहेको बताएका थिए । पोखरेलका अनुसार मन्त्रालयहरूमा फर्निचर, पङ्खा र विद्युत जडान आदि हर विषय अस्तव्यस्त रहेको थिए । पञ्चायत कालमा मन्त्रीबाट खोसुवा वा निष्काशन हुँदा कतिपय मन्त्रीहरूले क्वाटरको कार्पेट सोफासेट समेत घर लान्थे भन्ने सुनिन्थ्यो । हुन पनि बेहोरा हेर्दा त्यहाँसम्म गरे होलान् र भन्ने नलाग्न सक्छ । 

तर कम्युनिस्टको सरकार आयो भने बुढाबुढी मार्छन्, अछोरीचेली भन्दैनन् भारतबाट नुन तेल र चिनी आउँदैन आदि नानाभाँती गरेको दुष्प्रचारबाट तिनको बेहोरा अवगत हुन्छ । 

अहिले बाम सरकार आउनुभन्दा अघिदेखि नै अधिनायकवादको कोकोहोलो सुरु गरियो । यो हौवा अन्तर्राष्ट्रिय खपतका लागि गरिएको हो भन्ने कुरा विज्ञ व्यक्तित्वहरूबाट विभिन्न लेखहरूमार्फत् आएकै छ । 

नेपाल जस्तो सामरिक दृष्टिले अत्यन्त संवेदनशील मुलुकलाई रणभूमि बनाएर तिब्बत हुँदै चीनलाई कमजोर र धराशायी पार्ने पश्चिमा शक्तिका लागि यो सरकार र यसले गर्ने देश र जनताको हित ठूलो अवरोध बन्ने हुँदा पनि भूसको आगोेसरी कम्युनिस्ट पार्टी र सरकारविरुद्ध नानाथरी फरेब फैलाउन खोजेर जनतालाई भड्काउन खोजिएको देखिन्छ ।

सन् २०१७ मा मात्र पूर्वी नेपालमा २३ अरब रुपियाँ नेपाल र नेपाली जनतालाई जात, भात, नाक, नश्ल, भाषा, धर्म र संस्कृतिका नाममा विखण्डित गर्नका लागि पश्चिमा शक्तिले अन्तर्राष्ट्रिय गैरसरकारी  संस्थामार्फत् लगानी गरेको एक पत्रिकामा सार्वजनिक भएको विषय हो ।

संस्कृति र साहित्यका क्षेत्रमा लामो समय तीन सको सिद्धान्तअनुसार अर्थात् सिद्धान्त, सिर्जना र सङ्गठनका माध्यमबाट काम गर्दाका अनुभवले सिकेको जानेको विषय के हो भने कला, साहित्य र संस्कृतिको उत्थान र विकासको काम मूलतः संस्कृतिकर्मी र यसको संस्थागत क्रियाशीलतामा निर्भर हुन्छ । 

जनसांस्कृतिक महासङ्घको नेतृत्वमा रहने, बहुआमिक काम नगर्ने  अनि कमजोरी अरू कसैका थाप्लामा थोपर्ने विगतका बेहोरा अब हटाउनै पर्छ ।

संस्कृतिकर्मीहरूमा रहेको प्रायः कमजोरी पठन संस्कृति र विषय र विधागत साधनाको कमी हो । मनको मैलो साबुनले धोएर जाँदैन । यसका लागि कला, साहित्य, सङ्गीतलगायत विषयगत उपयोगी शैक्षिक तथा ज्ञानवर्धक ज्ञान गङ्गामा डुबुल्की मार्नैपर्छ । 

पार्टीको कतिपय केन्द्रीय  नेतृत्वमा सांस्कृति, सांस्कृतिक रूपान्तरण र यसको अपरिहार्य पक्षबारेको चिन्तन कमजोर र अत्यन्त कमजोर देखिन्छ । कतिपय नेता र मन्त्रीले कतिपय स्रष्टा, सर्जक र सांस्कृतिक कर्मीहरूलाई अनावश्यक काखी च्यापेर पनि रूपान्तरण प्रक्रियालाई स्खलित तुल्याएका छन् । 

कार्यक्रममा वरिष्ठ बौद्धिक कलाकार, जनसांंस्कृतिक महासङ्घका पूर्वअध्यक्ष  तथा एकीकृत कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य खगेन्द्र राईले हामी नयाँ युगमा प्रवेश गर्दै गरेको युग अवस्थामा नवीन सोच, चिन्तन र सिर्जनात्मक कामका साथ सक्रिय हुनुपर्ने बताए । राईले जनसंस्कृतिको क्षेत्र भनेको समाजको गुणात्मक परिवर्तनकारी विशिष्ट क्षेत्र भएकाले पार्टी र सरकारले यस क्षेत्रका राजनीतिक, कला साहित्यिक तथा सांस्कृतिक सक्षम र कुशल व्यक्तित्वहरूलाई आगामी दिनमा उपयुक्त जिम्मेवारी, स्थान र मान दिन कन्जुस्याइँ गरे गम्भीर समस्या उत्पन्न हुनसक्ने बताए । 

महासङ्घका पूर्वमहासचिव तथा एकता वार्ता समितिका सदस्य तथा कलाकार प्रेम अधिकारीले हनुमानलाई उनकै शक्ति र क्षमता अरू कसैले बताइदिएर शक्तिशाली भएको रोचक दृष्टान्त  प्रस्तुत गर्दै हामी संस्कृतिकर्मीहरूले पनि  आफ्नै गुणवत्ता, क्षमता र प्रतिभा बुझेर तदनुसार सिर्जनात्मक उचाइ छुने गरी क्रियाशील हुनुपर्ने अबको दायित्व रहेको उल्लेख गरे ।  

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष सरल सहयात्रीले जनसांस्कृतिक महासङ्घ विशिष्ट सिर्जनात्मक मोर्चा भएकाले संस्कृतिककर्मीहरू आफै पनि जनवादी नैतिक बलका साथ सामाजिक रूपान्तरणमा सिर्जनात्मक रूपमा सक्रिय रहनुपर्ने उद्घोष गरेका थिए ।

एउटा विशेष ध्यान दिनुपर्ने कुरा के हो भने जनताको सरकारको समर्थन आम जनता र जनपक्षीय मिडियाले नै गर्ने हो । तसर्थ गोयबल्स शैलीमा एक खाल्टोलाई चार खाल्टो भनेर दुष्प्रचार गर्ने भ्रमलाई समाप्त पार्न पार्टी र मोर्चा सङ्गठनहरूले सङ्गठन सुदृढीकरण अभियानसँगै प्रचार अभियान सुरु गर्न ढिला गर्नु हुँदैन । यसो भयो भने मात्र राम्रा कामहरू जनताका बीचमा जाँदा भ्रमित हुँदैनन् ।    
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...