शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वार्षिक २ हजारभन्दा बढी उजुरी, साउदीमा सबैभन्दा धेरै समस्या

शुक्रबार, ०१ भदौ २०७५, १० : ३०
शुक्रबार, ०१ भदौ २०७५

काठमाडौँ । वार्षिक करिब ४ लाखको हाराहारीमा नेपाली युवाहरू वैदेशिक रोजगारीका लागि मलेसियालगायतका देशहरूमा पुग्ने गरेका छन् । तर वैदेशिक रोजगारीका क्रममा विदेश पुग्दा विभिन्न म्यानपावर कम्पनी तथा रोजगारी दिने कम्पनीले भनेअनुसारको सेवा तथा सुविधा नदिँदा त्यसको उजुरी वैदेशिक रोजगार विभागमा पर्ने गरेको छ । 

वैदेशिक रोजगार विभागमा आर्थिक वर्ष २०७४/७५ मा मात्रै २ हजार १ सय २९ वटा उजुरी परेका छन् । विभागमा परेका उजुरीहरूमा म्यानपावर कम्पनीले धेरै शुल्क लिएको उजुरी सबैभन्दा बढी पर्ने गरेको छ भने भनेअनुसारको काम र तलब सुविधा नपाएको उजुरी पनि उत्तिकै मात्रामा पर्ने गरेको वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजाल बताउँछन् । 

वैदेशिक रोजगार विभागले हालसम्म १ हजार ४ सय १९ वटा म्यानपावर कम्पनीलाई इजाजातपत्र दिएको छ । १४ सय १९ वटा म्यानपावर कम्पनीलाई वैदेशिक रोजगारीसम्बन्धी काम गर्न अनुमति प्रदान गरिएको भए पनि अहिले भने जम्मा १ हजार १ सय ६१ वटा कम्पनी मात्रै सक्रिय अर्थात् एक्टिभ रहेका छन् ।

१९७ म्यानपावर कम्पनी खारेज
वैदेशिक रोजगार विभागमा पटक पटक उजुरी पर्ने तथा गलत काम र ठगी गर्ने १ सय ५० भन्दा बढी म्यानपावर कम्पनीहरूलाई खारेज गरिएको छ । विभागका प्रवक्ता उद्धव रिजालका अनुसार यस्ता म्यानपावर कम्पनीहरूमध्ये अधिकांशलाई वैदेशिक रोजगार विभाग आफैले खारेज गरिदिएको छ । कतिपय म्यानपावर कम्पनीका मालिकहरू फरार हुने तथा सम्पर्कमै नआउने भएपछि उनीहरूलाई खारेज गरिएको हो । 

५९ म्यानपावर निष्क्रियको सूचीमा
विभागमा दर्ता भएका १ हजार ४ सय १९ वटा म्यानपावर कम्पनीहरूमध्ये ५९ वटा म्यानपावर कम्पनी निष्क्रिय वा अर्थात् इनएक्टिभ रहेका छन् । विभागमा उजुरी परी सम्पर्कमै नआउने, विभागमा उजुरी भई छलफलकै क्रममा रहेका र नक्कली कागजातको प्रयोग, नक्कली माग आदि ल्याउने म्यानपावर कम्पनीहरूमाथि छानबिन भइरहेकाले त्यस्ता म्यानपावर कम्पनीहरूलाई इनएक्टिभ गराइएको छ । इनएक्टिभ म्यानपावर कम्पनीले वैदेशिक रोजगारसम्बन्धी कुनै पनि काम गर्न पाउँदैनन् ।

२ वटा म्यानपावरलाई पूर्व स्वीकृति ल्याउन निषेध

वैदेशिक रोजगार विभागले २ वटा म्यानपावर कम्पनीलाई पूर्वस्वीकृति ल्याउन प्रतिबन्ध लगाएको छ । पहिले पूर्वस्वीकृति लिई विदेश पठाएका कामदारहरूबाट आएको उजुरी तथा उनीहरूको उद्धार नभएको तथा भनेअनुसारको सेवा र सुविधा नपाएको उजुरी आएपछि दुई कम्पनीलाई पूर्वस्वीकृति ल्याउन निषेध गरिएको हो । 

विभागले अल हिरा ओभरसिज र आर एन्ड आर ग्लोबल जब ट्र्याकर कम्पनीलाई पूर्वस्वीकृति ल्याउन प्रतिबन्ध लगाएको हो । 


 
२१२९ उजुरी, १०२३ मात्रै फरफारक
आर्थिक वर्ष २०७४/७५ मा वैदेशिक रोजगार विभागमा जम्मा १२ हजार १ सय २९ वटा उजुरी परेको छ । उजुरीमध्ये १ हजार १ सय ९ वटा उजुरी व्यक्तिगत उजुरी परेका छन् भने १ हजार २० उजुरी संस्थागत उजुरी परेका छन् । 

उजुरीमध्ये व्यक्तिगत उजुरीहरूमा वैदेशिक रोजगारीमा पठाउने भन्दै पैसा लिई ठगी गरेको तर रोजगारीमा नपठाएको उजुरी बढी छन् । पीडितहरूले आईएमई, बैङ्क वा आफै उपस्थित भई पैसा दिएको तर रोजगारीमा नपठाएको उजुरी बढी पर्ने गरेका छन् । यस्ता उजुरीहरूमा म्यानपावर कम्पनीका एजेन्टस्को संलग्नता बढी भएको विभागका निर्देशकसमेत रहेका प्रवक्ता उद्धवप्रसाद रिजालको भनाइ छ । 

गत आर्थिक वर्षमा विभागमा व्यक्तिगततर्फ १ हजार १ सय ९ वटा उजुरी परेको थियो । ती उजुरीमध्ये जम्मा १ सय ९१ वटा उजुरीको मात्रै फरफराक भएको छ । फरफारक भन्नाले ती उजुरीहरूमा दुवै पक्षलाई उपस्थित गराई छलफल गरी रकम फिर्ता गरिएको छ । यद्यपि व्यक्तिगत उजुरीतर्फ ९ सय १८ वटा उजुरी भने अझै मिल्न सकेको छैन । 

अधिकांश संस्थागत उजुरीमा सहमति 
यता विभागमा म्यानपावर कम्पनीविरुद्ध पर्ने उजुरीहरूमा भने सहमति हुने गरेको छ । गत आर्थिक वर्षमा विभागमा विभिन्न म्यानपावर कम्पनीविरुद्ध जम्मा १ हजार २० वटा उजुरी परेको थियो । ती उजुरीउपर छलफ हुँदा ८ सय ३२ वटा मुद्दा फरफारक भएको छ । केही म्यानपावर कम्पनीविरुद्ध पटक पटक उजुरी पर्ने भएकाले म्यानपावर कम्पनीको सङ्ख्या भने १ हजार २० वटा नभएको विभागले बताएको छ । विभागका अनुसार जम्मा १ सय ८८ वटा उजुरीको मात्रै फरफारक हुन बाँकी रहेको छ । 

व्यक्तिगत उजुरी मात्रै अदालतमा
वैदेशिक रोजगारीका क्रममा ठगी गरेको वा ठगीमा परेको भन्दै आएको उजुरीमध्ये गत आर्थिक वर्षमा २ सय ३४ वटा मुद्दा दायर भएको छ । विभागमा छलफल गराउँदा नमिलेको वा सम्पर्कमै नआएका व्यक्तिहरूमाथि सरकारी वकिलले अदालतमा मुद्दा दायर गर्ने गरेका छन् । गत आर्थिक वर्षमा २ सय ३४ वटा मुद्दा अदालतमा दायर भएको र ती मुद्दा विचाराधीन रहेको विभागले बताएको छ । 

१ अर्ब ५२ करोड क्षतिपूर्ति दाबी, २० करोड बिगो भराइयो
 
वैदेशिक रोजगार विभागमा परेका २ हजार १ सय २९ उजुरीबाट १ अर्ब ५२ करोड २० लाख, ७१ हजार २ सय ५५ रुपियाँ बराबरको माग दाबी भएको छ । यो मागदाबीमध्ये व्यक्तिगततर्फ ६६ करोड ९१ लाख, ४१ हजार ५ सय २३ रुपियाँको दाबी छ भने संस्थागततर्फ ७६ करोड, ८३ लाख, ६१ हजार १ सय ८२ रुपियाँ बराबरको मागदाबी भएको छ । 

१ अर्ब ५२ करोडको क्षतिपूर्ति माग गर्दै उजुरी परे पनि गत आर्थिक वर्षमा जम्मा जम्मा २० करोड १९ लाख ९४ हजार ८ सय ७१ रुपियाँ बराबरको मात्रै बिगो भराइएको छ । 

विभागमा छलफलका क्रममा व्यक्तिगततर्फ मागदाबी भएको ६६ करोड ९१ लाखमध्ये १४ करोड १३ लाखको क्षतिपूर्ति भराइएको छ । यता संस्थागत उजुरीमा परेको ७६ करोड ८३ लाख मागदाबीमध्ये ४ करोड ९५ लाख रुपियाँ मात्रै बिगो भराइएको छ । संस्थागततर्फ परेको उजुरीमा विभागमा छलफल गराउँदा नेगोसिएसन भई थोरै मात्रै बिगो देखिएको विभागले जनाएको छ । 

अधिकांश व्यक्तिगत उजुरी ट्राभल एजेन्सी र एजेन्टस्माथि  
विभागमा परेको व्यक्तिगततर्फको अधिकांश उजुरी ट्राभल एजेन्सी र म्यानपावर कम्पनीका एजेन्टस्विरुद्ध हुने गरेको विभागले बताएको छ । विभिन्न ट्राभल एजेन्सीले आकर्षक गन्तव्यमा रोजगारी दिलाइदिन्छु भन्दै पहिले टुरिस्ट भिसामा लैजाने र काम लगाउन नसकेपछि रोजगारीमा जानेहरू बिचल्लीमा पर्ने गरेका छन् । लामो समय बित्दा पनि रोजगारीमा लगाउन नसकेपछि उनीहरूलाई उद्धार गरेर ल्याउनुपरेको विभागले बताएको छ । यसरी उद्धार गरी ल्याइएका पीडित र वैदेशिक रोजगारीमा भन्दै लैजाने ट्राभल एजेन्सीबीच छलफल गराए पनि नेगोसिएसन नमिल्ने गरेको विभागका प्रवक्ता रिजाल बताउँछन् ।

साउदी अरब जानेबाट ८० प्रतिशत उजुरी 
वैदेशिक रोजगारीका लागि विदेश पुग्ने कामदारमध्ये साउदी अरब जाने कामदारको सङ्ख्या कुल सङ्ख्याको ११ प्रतिशत मात्रै छ । यो सङ्ख्या श्रम स्वीकृति लिई जाने कामदारहरूको सङ्ख्या हो । 

तर विभागमा पर्ने उजुरीमध्ये करिब ८० प्रतिशत उजुरी साउदी अरेबियामा जाने वा लैजाने कामदारबाटै आउने गरेको विभागका प्रवक्ता रिजालको भनाइ छ । साउदी अरबमा भनेको जस्तो काम नपाइने, भनेको जस्तो सेवा र सुविधा नहुने तथा एग्रिमेन्ट नै नक्कली बनाएर लैजाने गरिएको विभागको रेकर्डमा देखिएको छ । 

त्यसैगरी आकर्षक रोजगारी दिलाइदिने भन्दै ट्राभल एजेन्सीहरूले पनि साउदी अरबमा युवाहरूलाई लैजाने गरेका छन् । तर साउदी अरबमा वर्किङ भिसा दिलाउन नसक्दा वा काम पाए पनि भनेको जस्तो काम नहुँदा युवाहरू फर्कनुपरेको छ । १ लाख ५० हजारदेखि ३ लाखसम्म तिरेर गएका युवाहरूले भनेको जस्तो नभएपछि विभागमा उजुरी गर्दै नेपाल फर्किएका छन् । विभागमा पर्ने अधिकांश उजुरी साउदी अरबसँग सम्बन्धित हुने गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप