बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रोटोकल तोडेर २८ वर्षीया प्रेमिकासँग डेटिङ जाँदा ५७ वर्षेको गुम्यो मन्त्रीपद

शुक्रबार, ०१ भदौ २०७५, ०९ : ४६
शुक्रबार, ०१ भदौ २०७५

नर्वेका फिशरिज मिनिस्टर पेर सेन्डबर्ग, ५८, ले २८ वर्षीया प्रेमिकासँग डेटिङ जाँदा मन्त्रीपद गुमाउनु परेको छ ।

सेन्डबर्ग पूर्व मिस इरानसमेत रहेकी प्रेमिका बहारिह लेटनेस (२८) सँग जुलाईमा छुट्टी मनाउन इरान गएका थिए । त्यतिबेला उनले सुरक्षा प्रोटोकलको उल्लंघन गरेको भन्दै निकै विवाद भएको थियो । खबरका अनुसार सेन्डबर्गले छुट्टीबारे प्रधानमन्त्री कार्यालयमा पनि सूचना नदिएको बताइएको छ ।

सेन्डबर्गले छुट्टीमा जाँदा आफ्नो वर्कफोन पनि आफूसँगै लिएर गएको स्विकार गरे । नर्वेको इन्टेलिजेन्स एजेन्सीले चीन र रुसबाहेक इरानलाई पनि जासुसी गर्ने देशको सूचीमा समावेश गर्दै आएको छ । नर्वेमा प्रोग्रेस पार्टीले कन्जरभेटिव र लिबरल्ससँग मिलेर सरकार बनाएको थियो । प्रोग्रेस पार्टीमा सेन्डबर्ग दोस्रो स्थानमा थिए ।

प्रधानमन्त्री रुष्टः

नर्वेकी प्रधानमन्त्री अरना सोलबर्ग मन्त्रीको यस्तो व्यवहारले रिसाएकी छिन् । उनले भनिन्, ‘सेन्डबर्गलाई राजिनामा दिन निर्देशन दिइएको थियो । मलाई लाग्छ कि यो नै सही निर्णय थियो । उनी एक जिम्मेवार पदमा हुँदाहुँदै पनि सुरक्षाको मुद्दामा उनले सामान्य समझदारी पनि देखाएनन् ।’

सेन्डबर्गको व्यवहारमा नर्वेको सत्तापक्ष र विपक्ष दुबैले आलोचना गरिरहेका थिए ।

निकै कसरतपछि पाएकी थिइन् नर्वेमा बस्ने अनुमतीः

सेन्डबर्गकी प्रेमिका लेटनेसले नर्वेमा नागरिकता पाउनका लागि तीनपटक आवेदन दिएकी थिइन् । तर तीनैपटक खारेज गरिएको थियो । उनलाई देश निकालासमेत गरिएको थियो । तर पछि लेटनेसलाई इरानमा जबर्जस्ती विवाह गराइन सक्ने भन्दै नर्वेमा बस्ने अनुमती दिइएको थियो ।

डेगब्लाट पत्रिकाको रिपोर्ट अनुसार लेटनेसले सन् २०१३ मा मिस इरान, सन् २०१४ मा मिस ग्लोबल इरान र मिस ग्रेट इन्टरनेशनल इरानमा आफ्नो देशको प्रतिनिधित्व गरेकी थिइन् । लेटनेस दुई कम्पनीकी मालिक हुन् । उनको कम्पनीले नर्वे–इरानबीच माछा र ग्याँसको आयात–निर्यातको काम गर्छ ।

नर्वेका गुप्तचरले लेटनेसबारे अनुसन्धान पनि सुरु गरेको छ । यद्यपी, उनले इरान सरकारसँग कुनै प्रकारको सम्बन्धबारे अस्विकार गरेकी छिन् ।

नर्वेको कडा आप्रवासी नीतिः

नर्वेको सत्ताधारी प्रोग्रेस पार्टीको आप्रवासनमा कडा नीति रहेको छ । विदेशीले नर्वेको नागरिकता पाएपछि उनीहरुले आफ्नो देश फर्कन ठूलो समस्याको सामना गर्नुपर्छ ।

सेन्डबर्गले आलोचनाका बीच माफी मागेका छन् तर विभिन्न स्रोतका अनुसार उनले आफ्नो मन्त्रीपदबाट राजिनामा दिने निर्णय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप