बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

४३ वर्ष पछि भारतीय सत्ता समीकरणनै बदल्न सक्ने प्रधानमन्त्री मोदीको एउटा भाषण

बिहीबार, ३१ साउन २०७५, २० : १५
बिहीबार, ३१ साउन २०७५

–पुन्यप्रसुन बाजपेयी 
एजेन्सी– पूर्वप्रधानमन्त्री स्व.इन्दिरा गान्धीले आजभन्दा ४३ वर्षअघि संकट लगाउने तरखर गरिरहँदा नयाँ भारतको उद्घोष गरेकी थिइन् । त्यसको ४ दशकपछि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सोही शैलीमा ‘न्यू इन्डिया’ निर्माणको उद्घोष गरेका छन् ।

यी दुई उद्घोषले १५ अगष्ट १९७५ र १५ अगष्ट २०१८ मिति र समय फरक भएपनि केही समानता देखाएको छ । ४३ वर्ष पहिले १५ अगष्ट १९७५ मा भारतमा संकटकाल लागेकै बेला भारतीय स्वतन्त्रता दिवसकै अवसरमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लालकिल्लामा उभिएर नयाँ भारतको उद्घोष गरेकी थिइन् । संकटकाल लगाएर नागरिकको संवैधानिक अधिकारमाथि प्रतिबन्ध लगाएपछिको गान्धीको भाषणको तात्पर्य के थियो ? त्यसबेलाको हिन्दुस्तानको राजनीतिक परिस्थिति अनुसार त्यो सहजै बुझ्न सकिन्छ ।

त्यस्तै ४३ वर्षपछि अगष्ट १५,२०१८ (बुधबार) मा लालकिल्लामै उभिएर वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ‘न्यू इन्डिया’ को उद्घोष गरेका छन् । भारतको स्वतन्त्रताको दिवसको अवसरमा गरिएको प्रधानमन्त्री मोदीको यो उद्घोषले फेरि एकपटक भारतीय जनताले लोकतन्त्रको नाममा लालकिल्लाबाट के सुन्दैछन् ? प्रधानमन्त्री मोदीले पनि ‘न्यू इन्डिया’को नाराभित्र के बोल्दैछन् ? 

केही दिन पहिलेमात्र भारतीय उच्च अदालतका चारजना न्यायाधीशले एकैपटक सार्वजनिक रुपमा भनेका प्रसंगलाई यहाँ स्मरण गर्न उपयुक्त हुन्छ । उनीहरुले भारतीय लोकतन्त्र खतरामा रहेको टिप्पणी गरेका थिए । त्यस्तै केही दिन पहिले नै सीबीआईका निर्देशकले त्यहाँभित्र भएको उच्च अधिकारी नियुक्तिको विषयलाई लिएर पनि भारतमा लोकतन्त्रमाथिको खतराबारे टिप्पणी गरेका थिए ।

त्यस्तै एक केन्द्रीय सुचना आयुक्तले पनि भारतमा सुचनाको अधिकार समाप्त पार्ने षडयन्त्र भैरहेको आरोप सरकारमाथि लगाएका थिए । केही समय अघिदेखिको मुद्धाको रुपमा रहेको लोकपाल नियुक्तिको विषय सर्वोच्च अदालतमा पाँच–पाँच पटक उठ्दा पनि सरकारले त्यसलाई चार वर्षयता आलटाल गरेर टारिरहेको छ । केही दिनअघि सरकारले विनाकारण एउटा समाचार च्यानल बन्द गरेको छ ।

मुलुकमा लोकतन्त्र होइन, भीडतन्त्र बढ्न थालेपछि उच्च अदालतले कानुनी राज्यलाई नभुल्न चेतावनी दिँदै आएको छ । पछिल्ला दिन मुलुकको सत्ता व्यापारिक कम्पनीले चलाउन थालेका छन् । जो सत्ताको नजिक छ, उसलाई फाइदा मिल्ने र जो नजिक छैन उसलाई नोक्सान हुने अवस्था सिर्जना भएको छ । यो वर्तमान भारतको यथार्थता हो । यस्तो अवस्थामा मुलुकको ७१ औं स्वतन्त्रता दिवसको मौका पारेर प्रधानमन्त्री मोदीले के भन्न खोजेका हुन् ? यसलाई केहीले विकासको नाराका रुपमा मुलुकको समृद्धितर्फ उन्मुख हुने संकेतका रुपमा लिएका छन् भने एकातर्फ ४३ वर्षअघि तत्कालीन प्रधानमन्त्री गान्धीको स्वतन्त्रताको परिभाषासँग तुलना गरिरहेका छन् । ४३ वर्षअघि मुलुकको २८ औं स्वतन्त्रता दिवस मनाइरहँदा तत्कालीन प्रधानमन्त्री स्व.इन्दिरा गान्धीले लालकिल्लाबाट के संकेत दिएकी थिइन् ।

गान्धीले त्यसबेला दिएको लामो भाषणको बीचमा भनेकी थिइन्, ‘संकटकालको घोषणा गरे पनि हामी कोही खुसी छैनौ, त्यो त तत्कालीन परिस्थितिका कारण चाल्नुपरेको बाध्यात्मक कदम थियो । हामीले कडा कदम किन उठायौं भने जसरी एउटा डाक्टरले कुनै पनि रोगीको स्वास्थ्य लाभ गर्न चाहान्छ भने त्यहाँ कडा औषधी दिइएको हुन्छ ।  त्यसपछि मात्र रोगीले स्वास्थ्य लाभ गर्न सक्छ । त्यस्तै हो हाम्रो कदम पनि ।’

त्यस्तै सोही सम्बोधनका क्रममा प्रधानमन्त्री गान्धीले भनेकी थिइन्ः ‘हाम्रो अत्याधिक मूल्यवान सम्पति भनेको हाम्रो साहास, हाम्रो मनोबल, हाम्रो आत्मविश्वास । जब यी गुण अटल रहन्छन्, तब हामी आफ्नो सपनाअनुसारको भारत निर्माण गर्न सक्छौ । तब हामी गरिब जनताका लागि केही गर्न सक्छौ । हामी अर्को वर्गको रुपमा रहेको बेरोजगारहरुलाई रोजगार दिलाउन सक्छौ । म सबैलाई अनुरोध गर्दछु कि तपाईहरु सबैले आफ्नो देश र आफ्नो भविष्यमा आस्था राख्नुपर्छ । हाम्रो बाटो सरल छैन । हाम्रो सामु निकै कठिनाईहरु रहेका छन् ।’

जसरी त्यसबेला लालकिल्लाबाट तत्कालीन प्रधानमन्त्री गान्धीको भाषण सार्वजनिक भएको थियो, त्यसैगरी वर्तमान प्रधानमन्त्री मोदीले पनि देशका सामू निकै मुस्किल अवस्था रहेको संकेत गर्दै सन् २०२२ सम्म केही गर्ने भन्दै नयाँ दृष्टिकोण पस्किएका छन् । यहाँ स्मरणयोग्य विषय के छ भने जब देशको सामुन्ने स्वतन्त्रताको सवाल उठ्छ, स्वतन्त्रताको नारा लाग्छ । चाहे त्यो अभिव्यक्ति स्वतन्त्रता होस् वा संवैधानिक संस्थाको सवाल होस् त्यसका लागि प्रधानमन्त्रीले स्वतन्त्रता दिवसकै दिन लालकिल्लाबाट स्वतन्त्रताको उद्घोष गरेकै हुन्छन्  ।

त्यसका लागि प्रधानमन्त्रीको हिम्मत चाहिने गरेको छ । स्वतन्त्रता दिवसका दिन हिम्मतको प्रसंग जोड्दा तत्कालीन प्रधानमन्त्री स्व.इन्दिरा गान्धीसँग संकटकाल पछिको साहस र हिम्मत त्यहाँ प्रतिबिम्बन भएको थियो तर वर्तमान प्रधानमन्त्री मोदीले के भन्न खोजेका हुन् ? गान्धीको जस्तो हिम्मत र कदम त उनका लागि निकै टाढाको कौडी जस्तै हो । किनकि ४३ वर्ष पहिले इन्दिरा गान्धीले स्वतन्त्रताको सवाल किन उठाएकी थिइन्, त्यो गहिराईमा गएर बुझ्नुपर्छ । 

उनले भनेकी थिइन्ः ‘स्वतन्त्रता कुनै जादु होइन्, जो गरिबका लागि छु मन्तर गरेर दिन सकियोस् । स्वतन्त्रता त्यो विषय होइन्, जसमा हामीले मनोमानी गर्न पाइयोस् र धेरै छुट मिलोस् । यसका विपरित हामी मौका दिन चाहान्छौ कि हाम्रो आफ्नो मिसन पुरा होस् । यसको अर्थ यो होकि सरकारले साहासका साथ निर्णय लिन चाहोस्  । हामी स्वतन्त्रतालाई यसरी लिन सक्छौकि हाम्रा नागरिकहरुको जिन्दगी बृहत बन्न सकोस् । हाम्रो कमजोरी सामन्तवाद, जाति प्रथा र अनधविश्वासका कारण पैदा हुने गरेका छन् । जसका कारण हामी पछाडि परेका थियौ ।’ 

त्यस्तै, वुधबार लालकिल्लाको सम्बोधनमा वर्तमान प्रधानन्त्री मोदीले स्वतन्त्रताको व्याख्या गर्दा दलित शब्दलाई सम्बोधन गरे । आदिवासी शब्द र आरक्षणको सवालमा नयाँ परिभाषा दिन खोजेका छन् । यही विन्दुमा आएर सम्झन् जरुरी छ कि स्वतन्त्रता शब्दले देशका प्रत्येक नागरिकभित्र तरंग पैदा गरिदिन सक्छ । फेरि स्वतन्त्रताका लागि राष्ट्रवाद अर्थात सीमा सुरक्षाका लागि तैनाथ फौजले समेत बलिदान दिएका हुन्छन् । वर्तमान मोदी सरकारको पालामा त शान्तिका लागि भन्दै सीमानामा सर्जिकल स्ट्राइकलको अभियान सबैले देखेकै छन् । यही बीचमा प्रधानमन्त्री मोदीले लालकिल्लाबाट विपक्षीहरुका विरुद्ध हमला बोल्दै राष्ट्रवादको जिकिर गरेका छन्, तर मोदीले ४३ वर्षअघि त्यसबेलाका प्रधानमन्त्री गान्धीले कसरी विपक्षीको निशाना उपर राष्ट्रवादको परिभाषा दिएकी थिइन् । त्यो स्मरण गर्न जरुरी छ । 

गान्धीले लालकिलाबाटै भनेकी थिइन्ः ‘हाम्रो आज यहाँ राष्ट्रको झण्डा फहराएको छ । हामी यसलाई प्रत्येक साल फहराउन चाहान्छौ । हामीलाई स्वतन्त्रताको बाटोमा आउनुभन्दा पहिलेनै गहिरो इच्छा थियो कि हामी भारतको  झण्डा लालकिल्लामा फहराएरै छोड्छौ ।’ 

विपक्षका एक नेताले पनि गान्धीको राष्ट्रवादसँग मिल्ने प्रसंगमा कुनै दिन भनेका थिए, ‘यो झण्डा आखिर कपडाको एक टुक्रा बाहेक अरु केही हो र ? निश्चय नै यो कपडाको एक टुक्रा हो, तर यो एक यस्तो कपडाको टुक्रा हो, जसका लागि हज्जारौ स्वतन्त्रताका लागि लड्ने महापुरुषहरुले आफ्नो ज्यानको कुर्वानी गरेका छन् । कपडाको यस टुक्राका लागि हाम्रा बहादुर जवानहरुले हिमालयको बरफमा आफ्नो रगत बगाएका छन् । कपडाको यही टुक्रा भारतको एकता र ताकतको निशानी हो । यसलाई कदापी झुक्न दिनुहुँदैन । यसमा चाहे त्यो धनी होस् वा गरिब, स्त्री होस् वा पुरुष, बच्चा होस् वा युवा अथवा बुढा जसले पनि याद राख्ने गर्छन् । यो कपडाको टुक्रा हो तर यो हाम्रो प्राणभन्दा प्यारो छ ।’

४३ वर्ष पहिले जब इन्दिरा गान्धीले देशको लागि मरिमेट्ने कसम खाइरहेकी थिइन्,  लालकिलाको आफ्नो भाषणमार्फत त्यसलाई खत्तमा पारिदिएकी थिइन् ।  त्यसपछि उनले भनेकी थिइन्ः ‘यो आराम गर्ने समय होइन् । यो कठोर परिश्रम गर्ने समय हो । म जुन बाटोबाट अघि बढ्दैछु, त्यसका लागि नयाँ दुनियाँ अगाडि आएको छ । मलाई एक नयाँ सन्तुष्टि प्राप्त भएको छ । मलाई यो महसुस भएको छ कि हामीले एक नयाँ भारतको एक नयाँ इतिहास निर्माण गरेका छौ, जय हिन्द ।’

यही सिलसिलामा १५ अगष्ट (बुधबार) फेरि एकपटक लालकिल्लाबाटै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले भाषण गरेका छन् । ४३ वर्ष पहिले संकटकाल लगाएर इन्दिरा गान्धीले नयाँ भारतको सपना देखाएकी थिइन् । अहिले मोदीले ४३ वर्षपछि लोकतन्त्रको मित्र बनेर लोकतन्त्र खत्तम गर्ने सोचका साथ न्यु इन्डियाको सपना देखाएका छन् । जुन दिन ४३ वर्षपछिको अगष्ट १५ नै जुरेको छ । 
–लेखक भारतका वरिष्ठ पत्रकार हुन् ।    
     
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप