बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘सडक किन बनेन ?’ सांसदको प्रश्न, ‘पानीले डिस्टर्व गर्यो’: सडक विभागको उत्तर

बिहीबार, ३१ साउन २०७५, १६ : ५३
बिहीबार, ३१ साउन २०७५

काठमाडौं– ‘खाल्टाखुल्टी भएको बाटो हिड्न पनि डरमर्दो भयो । एकातिर खाल्टोमा परिएला भन्ने पीर अर्कोतिर सांसद भन्ने चिनेर सर्वसाधारणले आक्रोश भएर खाल्टोमा हालिदेलान् भन्ने पिर ।’ बिहिबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा नेकपाकी सांसद इन्दुकुमारी शर्माले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुविर महासेठलाई गुनासो गरिन् । उनले भनिन– ‘सडकको अवस्थाले जनता नेताहरुसँग आक्रोशित भइरहेका छन् । त्यही सडकमा हिँड्दा जनताले चिन्छन् कि भनेर सांसदको लोगो फुकालेर हिँड्ने गरेको छु ।’

उनले चाबेल जोरपाटी साँखु सडकको अवस्था दयनीय भएको भन्दै जोरपाटीबाट बानेश्वर आउँदा २ घण्टा लाग्ने उल्लेख गर्दै मन्त्रालय र विभागको ध्यानाकर्षण गराईन् ।  शर्मा जस्तै अन्य सांसदहरुले पनि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा सडक विभागको आलोचना गरे । बिहिबार समितिको बैठकमा बोल्दै समितिका अधिकांश सांसदले काठमाडौ उपत्यकासहित देशका विभिन्न भागमा सडकको अवस्था दर्दनाक रहँदा पनि मन्त्रालय र विभागले प्रभावकारी भूमिका नखेलेको भन्दै आलोचना गरे । 

समितिमा आएका थिए भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ, मन्त्रालयका सचिव मधुसुदन अधिकारी, सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ । काठमाडौं उपत्यकाका सडक निर्माण अघि नबढ्नुमा निरन्तरको झरी रहेको सडक विभागका महानिर्देशक श्रेष्ठले बताए । उनले भने– ‘सडकको काम अघि बढाउन पानीले डिस्टर्व गर्यो । पानी निरन्तर नपरेको भए काम अघि बढ्ने थियो । अब पानी रोकिएपछि काम अघि बढ्छ । प्रकृतिलाई जित्न नसकिने रहेछ, हामी निरन्तर लागिरहेका छौँ ।’

यसै विषयमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री महासेठले १२ दिनभित्र काठमाडौंका सडकमा रहेका सबै खाल्टाखुल्टी पुर्ने र ग्राभेलको काम सम्पन्न गर्ने दावी गरे । उनले भने– ‘अब हामी जनताले र सवारी धनीले गुनासो नगर्ने गरी १२ दिनभित्र सडकको अवस्था सुध्रन्छ । सडकमा पानी पोखरी भएर बिग्रिएको हो, त्यसको निकासको व्यवस्था पनि गरिएको छ ।’

मन्त्री महासेठले आगामी कातिकभित्र काठमाडौंको चाबहिल–जोरपाटी–साँखु सडक  र कलंकी नागढुङ्गा सडक कालोपत्रे सक्न निर्देशन गरेको जानकारी दिए । आगामी चैतभित्र उक्त सडक पूर्ण रुपमा कालोपत्रे सक्ने दावी गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप