बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको मधेसमा नयाँ ‘इनिङ्ग’

बिहीबार, ३१ साउन २०७५, १३ : ४८
बिहीबार, ३१ साउन २०७५

–एसके यादव

काठमाडौँ, साउन ३१– प्रधानमन्त्री केपी शर्मा ओली मधेस जाने भएपछि उनकै पार्टी नेपाल कम्युनिस्ट पार्टी (ने क पा) धनुषाले त्यसको तयारी पूरा गरेको छ । 

प्रधानमन्त्री ओलीले भदौ २ गते प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्नुका साथै बरमझियामा सहिद रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि  रहेको छ । नेकपाका अध्यक्ष समेत रहेका ओलीका साथमा अर्का अध्यक्ष प्रचण्ड पनि बरमझिया जाने तयारी रहेको छ । 

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको आगमनलाई भव्य र सफल बनाउनका लागि नेकपा धनुषाले गाउँ, नगर र प्रदेशसम्मका कार्यकर्तालाई परिचालन गरेको छ । 

प्रधानमन्त्री ओलीको यो पहिलो मधेस भ्रमण हो । २०७० पछि औपचारिक रूपमा भदौ २ गते मधेस जाने भएपछि त्यसलाई विशेष बनाउनका लागि पार्टी पङ्क्ति लागिपरेका छन् । 

तत्कालीन माओवादी केन्द्रका प्रदेश २ का इन्चार्ज विश्वनाथ साहले पार्टी एकतापछि  मधेसमा पहिलो पटक ओली र प्रचण्ड एउटै मञ्चबाट विशेष सम्बोधन गर्ने भएकाले त्यसलाई सफल पार्नका लागि तयारीमा लागेका बताए । 

उनले भने– ‘कार्यक्रमलाई सफल बनाउनका लागि हामीले २० हजारभन्दा बढ़ी जनतालाई बरमझियामा उतार्ने तयारी गरेका छौँ ।

यता प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधनका लागि तयारी पूरा भएको प्रदेशसभाका सभामुख सरोज राय यादवले जानकारी दिए । 

मधेसप्रति तीखो टीका टिप्प्णीका कारण उनी त्यहाँ विवादमा परेका थिए । विवादमा परेकै कारण उनी मधेस प्रदेशका ८ वटा जिल्लामा कहिल्यै प्रवेश गर्न सकेका थिएनन् । 

आन्दोलनको बेला पनि उनी मधेसमा गएर कार्यक्रम गर्ने तयारी नगरेको होइन । त्यसका लागि निकै प्रचार प्रसार पनि भएको थियो । तर मधेसवादी दलका नेता तथा कार्यकर्ताको चेतावनीका कारण उनी कहिल्यै मधेस छिर्न सकेका थिएनन् । 

२०७३ फागुन २३ गते मेची–महाकाली अभियान लिएर केपी शर्मा ओली जबर्जस्ती सप्तरी पसेका थिए । सुरक्षा निकायदेखि हरेक क्षेत्रबाट ओलीलाई सप्तरी नजान आग्रह गर्दागर्दै जबर्जस्ती गएपछि त्यहाँ पाँचजनाको ज्यान गएको थियो । 

२०७० पछि २०७५ वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आएको बेला स्वागतका लागि प्रधानमन्त्री जनकपुर पुगेका थिए । 

त्यो दिन पनि ओलीको विरोध हुने तयारी थियो । स्थानीय केही सङ्घ संस्थाले विरोध गर्ने तयारी गरेका थिए तर उनी उच्च सुरक्षा घेरामा रहेर हेलिकप्टरबाट जानकी मन्दिर पुगेका थिए । 

मोदीसँग जानकी मन्दिरमा समय विताएका ओली जानकी मन्दिरबाट नै काठमाडौँ फर्केका थिए । जबकि जनकपुरको बाह्र बिघामा हुने नागरिक अभिनन्दन कार्यक्रममा स्वागत मन्तव्य दिने ओलीको तयारी थियो ।

बाह्र बिघाको कार्यक्रममा ओलीको विरोध हुने थाह पाएर उनी आफ्नो सट्टा रक्षामन्त्री ईश्वर पोखरेललाई सम्बोधन गर्न पठाएर उनी काठमाडाँै फर्केका थिए ।

ओलीप्रति किन चिढियो मधेस ?

२०७१ पुस २१ गते बालुवाटारमा सरकार र तत्कालीन मधेसी मोर्चाको वार्ता चलिरहेको थियो । संविधान निर्माणको विषयमा सीमाङ्कनलाई लिएर सरकार र मधेसी मोर्चाबीच वार्ता चलिरहेका थिए । त्यतिबेला काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री थिए ।

त्यो दिनको वार्तामा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन माओवादी केन्द्रका प्रचण्डलाई पनि बोलाइएको थियो । 

तत्कालीन प्रधानमन्त्री कोइरालाले वार्ता सकारात्मकतर्फ गइरहेको छ । अब यसलाई सहमतिमा टुङ्ग्याउनुपर्छ भनेका थिए । 

त्यसको जवाफमा तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस प्रदेशमा झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई पनि राख्नुपर्ने धारणा राखेका थिए । 

महतोको कुरा सुनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले तपाईंहरूले समथर भूभाग हेर्नै नहुने । यदि समथर भूभाग राख्ने हो भने भारतको यूपी र विहारलाई पनि मधेसमा मिलानुउस् भनी प्रतिवाद गरेका थिए ।
यी कुराहरू भइरहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हिँडिसकेका थिए । 

ओलीले यो कुरा राख्ने वित्तिकै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव रिसाएर बैठकबाट निस्केका थिए । ओली र महतोबीच एकछिन चर्काचर्की भएको थियो ।

बालुवाटारको कुरा एकछिनमै मधेसभरी फैलियो । काठमाडौँलगायत मधेसभरी सद्भावना पार्टीका कार्यकर्ताले ओलीको पुतला दहन गरेका थिए ।

त्यसको भोलिपल्ट बसेको मधेसी मोर्चाको बैठकले ओलीले माफी नमागेसम्म उनको उपस्थितिमा हुने कुनै पनि बैठकमा नजाने निर्णय नै गरेको थियो ।

भनेको जस्तो ओलीले माफी नमागे पनि विस्तारै विस्तारै मधेसी मोर्चाका नेताहरू बैठकहरूमा जान थाले तर त्यही बेलादेखि मधेस र ओली बीचको दूरी बढ्न थालेको थियो, जो अहिलेसम्म निरन्तर छ  ।

ओलीका लागि मधेस निषेधित क्षेत्र नै भयो । ओलीका लागि मात्र नभएर मधेसमा एमालेका नेता र उसका पार्टी कार्यालयहरू पनि मधेसी नेता तथा कार्यकर्ताका ‘टार्गेट’मा परे । 

तर ओली पनि के कम । ओलीले पनि मधेसको बारेमा आफ्नो उखान टुक्कामार्फत जिस्क्याइरहे । ओलीले २०७२ असोज १७ गते अर्का अभिव्यक्ति दिए ‘माखे साङ्लो’ । 

आन्दोलनका क्रममा मधेसी मोर्चाले पूर्वपश्चिम राजमार्गमा मानवसाङ्लो बनाएर प्रदर्शन गरेपछि ओलीले त्यसलाई ‘माखे साङ्लो’को संज्ञा दिएका थिए । 

मधेस आन्दोलनका क्रममा ५४ जनाभन्दा बढीको मृत्यु हुँदा ओलीले ‘दुई चारवटा आँप झरेर केही हँुदैन’ भन्ने अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्ति त्यो बेला दिनुभएको थियो जुनबेला मधेसमा प्रहरीको गोलीबाट मान्छे मारिरहेका थिए । ओलीको त्यो अभिव्यक्तिले मधेसी जनता झन् आक्रोशित भयो ।  

ओलीले मात्र होइन, सो पार्टीका अन्य नेताहरूले पनि मधेसका बारेमा नराम्रा टिप्पणीहरू गरेका थिए । 

तत्कालीन एमालेका नेता र अहिलेका प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो ट्विटमा ‘जस्ता काला मान्छे, त्यस्तै कालो दिवस मनाउँदै छन्’ भनी लेखेका थिए ।

यस ट्विटले उनको निकै आलोचना भएको थियो । शङ्कर पोखरेलको पुतला जलाउनेसम्मको काम भएको थियो । पछि पोखरेलले आफ्नो ट्विट डिलिट गरेका थिए । 

तत्कालीन एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि ‘आफूले लगाउने धोती जस्तै प्रदेश मागेको’ भनी अभिव्यक्ति दिएका थिए । त्यसको पनि निकै आलोचना भएको थियो ।

यसरी तत्कालीन एमालेका नेताहरूबाट मधेसको बारेमा एकपछि अर्को अभिव्यक्ति आउन थालेपछि मधेस झन् उत्तेजित भएको थियो । ओलीको बोलीले मधेस आन्दोलनमा घिउ थप्ने काम गरेको थियो । 

मधेसी नेतालाई मासुभात

केन्द्रमा संविधान निर्माणको काम भइरहेको थियो भने मधेसमा आन्दोलन चर्किरहेको थियो । ओली विरोधी नारा लागिरहेका थिए । 

त्यस अवस्थामा पनि ओलीले मधेसी नेताहरूलाई ‘कन्भिन्स’ गरेर बालकोटसम्म आउन बाध्य पारे । सुशील कोइराला प्रधानमन्त्री भएको बेला आफू कसरी चाँडो प्रधानमन्त्री बन्न सकिन्छ भन्दै ओलीले मधेसी नेतालाई गुहारेका थिए । यसको सूत्रधार भए तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार । गच्छदारले उक्त सूत्र प्रयोग गरेपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तत्कालीन तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रानी शर्मा, तत्कालीन तमलोपाका उपाध्यक्ष हृदयश त्रिपाठी ओलीको घर बालकोटसम्म पुगेका थिए ।

संविधान निर्माणमा सहमतिका लागि ओलीले छलफल गर्न चाहेको भन्दै गच्छदारले सबैलाई बालकोटसम्म पुर्याउने काम गरेका थिए । 

मधेसी नेताहरू बालकोटसम्म जान थालेपछि ओलीले दिनदिनै नयाँ नयाँ पकवान (खानाकुरा) बनाउन लगाएर खुवाउँथे । भेराइटी भेराइटीका मिठाईदखि लिएर मासुभात खुवाउँथे । 

संविधान निर्माणका विषयमा कुराकानी कम र अन्य कुराहरू बढी गरेर ओलीले मधेसी नेताहरूलाई तीन दिनसम्म अल्झाएर राखे । तीन दिनसम्म त्यही खानपिन गरेका मधेसी नेताहरू समक्ष ओलीले जब सरकार निर्माणमा सहयोग गर्न प्रस्ताव गरे । त्यसपछि सबैभन्दा पहिले उपेन्द्र यादव त्यहाँबाट उम्किए ।

राजेन्द्र महतोलगायतका नेताहरू त्यसपछि पनि दुई दिनसम्म धाइरहे तर अन्त्यमा राजेन्द्र महतोले संविधान निर्माणमा कुरा नमिलेसम्म सरकार बनाउन सहयोग नगर्ने जवाफ दिएपछि ओलीले मधेसी नेतालाई महत्व दिन छाडेका थिए र उनीहरूको बारेमा नकारात्मक टिप्पणी गर्न थालेका थिए । 

त्यसपछि ओली मधेसी दल र मधेस आन्दोलनप्रति झन आक्रामक भए । जे कुरामा पनि ओलीले अडान लिन थाले । त्यति बेलासम्म माओवादी मधेसवादी दलको साथमा थियो । 

मधेसी दलले साथ नदिएसम्म प्रधानमन्त्री बन्न नसक्ने निष्कर्षमा ओली पुगेका थिए । उता, काँग्रेसले पनि सरकार छाड्न आलटाल गरिरहेको थियो । त्यसपछि झन उनी चिढिएका थिए । 

मधेस आन्दोलन ‘मधेस भर्सेज ओली’ भएको थियो ।

१६ बुँदे सम्झौता ‘टर्निङप्वाइन्ट’

मधेसवादी दललाई साथमा लिएर ओलीलाई प्रधानमन्त्री बनाउनुपर्छ भनी अभियानमा लागेका गच्छदार मधेसी मोर्चाको पकडबाट प्रचण्डलाई निकाल्न सफल भए ।

तीनवटा दललाई एकै ठाउँमा नल्याएसम्म ओली प्रधानमन्त्री बन्न सक्दैनन् बुझेका गच्छदारले त्यसका लागि दिनरात मिहिनेत गरेका थिए । 

अन्ततः प्रचण्डलाई मधेसी मोर्चाको चङ्गुलबाट अलग गराएर १६ बुँदे सम्झौता गराए र तीनवटै दललाई एकै ठाउँमा ल्याउन सफल भए । त्यही १६ बुँदाको आधारमा संविधान निर्माण भयो र केपी शर्मा ओली प्रधानमन्त्री भए । 

त्यसबेला प्रधानमन्त्रीका लागि ओलीलाई माओवादीले मात्र साथ दिएको थियो । काँग्रेस र मधेसवादी दल विपक्षमा उभिएका थिए । ओलीका विरुद्धमा सुशील कोइरालाले पनि प्रधानमन्त्रीमा उम्मेदवारी दिएका थिए तर उनलाई के थाह थियो भने प्रधानमन्त्री बन्न सक्दिनँ । मधेसवादी दल र भारतको आशा भरोसामा प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएका थिए । 

आफ्नो विपक्षमा मधेसवादी दल उभियो भन्दै ओली त्यतिबेला निकै मुरमुरिएका थिए । ओली नेतृत्वको सरकारमा गच्छदार पनि सहभागी भएका थिए । 

त्यसले गर्दा उनको पार्टीले निकै ठूलो क्षति बेहोर्यो र त्यसैको परिणाम आज त्यो पार्टीको नाम निशान पनि छैन ।

नाकाबन्दी र मधेस

ओली प्रधानमन्त्री नियुक्त भएको बेला नेपाल–भारत सीमा नाकामा नाकाबन्दी थियो । मधेसी नेताहरू सीमामा धर्ना बसेका थिए र आन्दोलन चर्केको थियो । 

ती मधेसी नेताहरूलाई फकाउनका लागि ओलीले निकै प्रयास गरे । त्यति नै बेला ओलीले राजेन्द्र महतोलाई फोन गरेर बोलाउँदा आन्दोलन छाडेर उनलाई भेट्न रातारात बालुवाटार छिरेका थिए । त्यसबेला मधेसमा महतोको निकै टीकाटिप्पणी पनि भएको थियो ।

मधेससँग कुरा मिलाइदिनका लागि ओलीले प्रदीप ज्ञवालीलाई विशेष दूतका रूपमा दिल्ली पठाएका थिए । त्यति मात्रले नपुगेपछि आफ्नो क्याबिनेटका मन्त्री कमल थापालाई चारबुँदे समझौतापत्रको खाका दिएर मधेसी नेतालाई सहमति गराइदिन दिल्ली पठाएका थिए ।

पछि दिल्लीले मधेसी नेतालाई उतै बोलाएर कुराकानी गरे पनि सहमति हुन सकेको थिएन । त्यसपछि ओली झन चिढिएका थिए । 

केही गर्दा नभएपछि आखिर मधेसवादी दलले चाहेका के छन् भनी दिल्ली गएर सीधै कुरा गर्न ओलीले भारत भ्रमणको बाहाना बनाए । 

भारत भ्रमणको तयारी सुरु भएपछि मधेसी नेताले नाकाबन्दीलगायत सबै आन्दोलन स्थगित गरे । आन्दोलन स्थगित गर्नु तस्करी बढेको बाहना बनायो । नाकाबन्दीका करण तस्कारी बढेको र आन्दोलन स्थगित गर्नुुपरेको प्रतिक्रिया उनीहरूले दिएका थिए । 

प्रधानमन्त्रीका रूपमा दिल्ली गए पनि ओली र मधेसको सम्बन्धमा सुधार आएन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसको माग पूरा गर्न दबाब दिएका थिए । तर ओलीले नचाहिने मागका लागि आफू झुक्दिनँ भन्दै भारत भ्रमण सकेर फर्केका थिए ।

मधेसकै कारण ओली र भारतबीचको सम्बन्धमा चिसियो । दिल्लीबाट फर्केको ठीक एक महिनापछि ओली चीन गएका थिए । चीन गएर विभिन्न विकास कार्यका लागि सम्झौता गरे, जसले गर्दा भारत ओलीप्रति झन कडा भयो । 

ओलीले प्रधानमन्त्री हुँदा मधेसवादी दलसँग ३६ पटक वार्ता गरेका थिए । तर सहमति हुन सकेको थिएन । वार्ताका प्रकृया चलिरहेकै बेला ओली नेतृत्वको सरकार ढल्यो र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने ।

मधेसवादी दलले नै आफ्नो नेतृत्वको सरकार ढालेको भन्दै ओली मधेसप्रति झन् कडा भए । संविधान संशोधनको मुद्दा लिएर आन्दोलन गरिरहेका मधेसी दल र एमाले आमनेसामने भयो ।

प्रचण्ड नेतृत्वको सरकारले संविधान संशोधनको मस्यौदा तयार गरेपछि एमालेले त्यसको खुलेर विरोध गर्यो । ती मस्यौदालाई राष्ट्रिय अखण्डतासँग जोडेर विश्लेषण पनि गर्यो । संविधान संशोधन कुनै पनि हालतमा हुन नदिने एमालेले घोषणा नै गर्यो । 

संशोधनका लागि पटक पटक प्रयास भयो । अन्ततः स्थानीय चुनावको समयमा आएर संसदमा लगेर संशोधन विधेयकलाई विसाउने काम भयो । यसमा तत्कालीन एमालेको मुख्य भूमिका थियो भन्ने कुरा मधेसी नेताहरूले निष्कर्ष निकाले । 

त्यसपछि मधेसमा ओलीको विरोध झन् हुन थाल्यो । ओलीका कारण संविधान संशोधन भएन भन्दै मधेसी नेताहरूले चुनावको मुख्य एजेन्डा नै बनायो । मधेसमा त्यही अनुसारको प्रचार प्रसार पनि उनीहरूले गरे । त्यसैकोे नतिजा स्वरूप दुई नम्बर प्रदेशमा तत्कालीन एमाले कमजोर भयो ।

प्रदेश २ मा मधेसवादी दल बलियो बनेपछि प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसँग एकीकरणको प्रकृया आगाडि बढाएको मधेसवादी दलका नेताहरूको दाबी छ । 

एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको छ । नेकपाका अध्यक्ष र प्रधानमन्त्री भएपछि पनि उनी हतपत मधेस जाने आँट गरेका थिएनन् । 

अहिले माहोल अलि सुध्रिएपछि उनी मधेस पस्न लागेका हुन् । 

कसरी बन्यो माहोल

राजपा नेपालले माग गरेबमोजिम प्रदेश २ का सामाजिक व्यवस्था राज्यमन्त्री अभिराम शर्मालाई अदालतबाट साधारण तोरखमा रिहाय गर्न लगाएका थिए भने केही दिन पहिले जनकपुरका केही उद्योगी व्यवसायीलाई पार्टीमा प्रवेश गराएका छन् । 

प्रधानमन्त्री ओली जनकपुर आउने भएपछि त्यहाँको सुरक्षा अवस्था कडा बनाउँदै गएको छ । त्यहाँ युवा तथा मधेसवादी दलका नेताहरूलाई प्रहरीले निगरानीमा राखेको छ । 

प्रधानमन्त्री ओली जनकपुर जाँदैछन् । त्यसको विरोध होला कि नहोला भनी जिज्ञासा राजाप नेपालका अध्यक्षमण्डलका एकजना सदस्यलाई सोधेका थियौं । त्यसको जवाफमा उनले जसले विरोधका ठूला ठूला कुरा गथ्र्यो त्यो नै अहिले सरकारमा भएपछि विरोध गर्न नहुने कुरा बताए ।

उनले भने, सङ्घीय समाजवादी फोरम नेपाल केन्द्रको सरकारमा सहभागी छ भने दुई नम्बर प्रदेशका सरकारको नेतृत्व पनि उसैले गरेको छ । अनि आफ्नै प्रधानमन्त्रीको विरोध कसले गर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप