बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युवा निर्देशक धर्मेन्द्र यादवको उपचारको क्रममा मृत्यु

बुधबार, ३० साउन २०७५, २० : २५
बुधबार, ३० साउन २०७५

सिरहा । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–७ मोहनपुर निवासी चर्चित फिल्म निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को मंगलवार बिहान उपचारको क्रममा निधन भएको छ ।

विगत केही महिनादेखि बिरामी भई उपचारार्थ रहँदै आएका उनको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारको क्रममा २७ वर्षको अल्पायुमा निधन भएको हो । उनी मधुमेह, ब्लड प्रेसरसहित विभिन्न रोगबाट ग्रसित भई विरामी रहँदै आएका थिए ।

विगत एक दशकदेखि मैथिली कला क्षेत्रमा सक्रिय रहँदै आएका उनले एक दर्जन भन्दा बढी मैथिली फिल्महरुको निर्देशन एवम् अभिनय गरिसकेका छन् ।  

छोटो समयमै मैथिली कलाक्षेत्रमा पहिचान बनाउन सफल धर्मात्माले धर्मेन्द्र धर्मात्मा फिल्म प्रोडक्सन प्रा.लि.को व्यानरमा राधासँग मोहन, जानसन, हिरो तोहर दिवाना, प्रेमरोग जस्ता फिल्महरुको निर्माण गरेका छन् । 

पछिःल्लो समय ‘कलंक’ नामक मैथिली फिल्म छायांकनमा व्यस्त रहेका उनी अचानक गम्भिर रुपमा बिरामी परेका थिए । 

यस अतिरिक्त मैथिली कलाक्षेत्रको विकासका साथै कलाकारलाई व्यवसायिकतातर्फ उन्मुख गराउने अभियानमा जुटेका धर्मात्माले ‘मैथिली खुशी’ युट्युब च्यानलमार्फत मैथिली हास्यव्यंग्यमा विभिन्न विषयवस्तुलाई आधार बनाएर सर्वाधिक करिब दुई सय भन्दा कमेडी श्रृंखला निर्माण गरिसकेका छन् । 

मैथिलीमा सर्वाधिक लोकप्रिय रहेको उनको च्यानलमा सम्भवतः हालसम्मकै सर्वाधिक ३ लाख ५४ हजार ७ सय १४ सब्सक्राइबर रहेको छ भने मैथिलीमा सर्वाधिक हेरिने च्यानलको रुपमा समेत स्थापित छन् ।

उनका च्यानलमा रामलाल, फूलमतीया र जनकपुरवाली पात्रको नाम मैथिलीभाषी दर्शकहरु बिच निक्कै चर्चित छन् ।

काठमाडौंमा सघन उपचारका क्रममा मृत्यु भएका धर्मात्माको शव मङ्गलवार रातीसम्म सप्तरी आईपुग्ने जानकारी उनका सहकर्मी समेत रहेका चर्चित कलाकार भूपेन्द्र कुमार मण्डलले जानकारी दिएका छन् ।

मानसरोवर यादव एवम् मिनादेवी यादवका सुपुत्र धर्मात्माका पत्नी रेखा यादव, ६ वर्षका छोरा शंकर र डेढ वर्षको छोरी रहेका छन् । समान्य परिवारमा जन्मिएका उनी सानैदेखि कलाक्षेत्रतर्फ आकर्शित हुँदै मैथिली कलाक्षेत्रमा समर्पित भएका थिए ।

उनको निधनमा सिङ्गो मिथिला क्षेत्रका कलाकर्मीहरु स्तब्ध भएका छन् । मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवले तत्कालै समाजिक सञ्जालमार्फत गहिरो शोक व्यक्त गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप