शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनुशासित भएर प्रतिस्पर्धा गर्न राष्ट्रपति भण्डारीको आह्वान

बुधबार, ३० साउन २०७५, १९ : २०
बुधबार, ३० साउन २०७५

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियामा हुने एशियाली खेलकूद प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रको प्रतिष्ठा उच्च राख्दै पूर्ण अनुशासित भएर स्पर्धा गर्न आह्वान गरेकी छन् । 

उक्त प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रपति कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रममा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले खेलकूदको मर्म र भावनाअनुरुप प्रतिस्पर्धामा खरो उत्रन आग्रह गरिन् । 

उनले देशभित्रै खेलकूदका पूर्वाधार निर्माण गर्न सकेमा अन्तर्राष्ट्रियस्तरका खेलकूद प्रतियोगिता नेपालमा आयोजना गर्न सकिने बताउँदै त्यसतर्फ सम्बन्धित निकायको ध्यान आकर्षित हुने विश्वास व्यक्त गरिन् । 

राष्ट्रपति भण्डारीले खेलाडीलाई जीवन निर्वाहका साथै उनीहरुको स्वास्थ्यका बारेमा पनि आवश्यक व्यवस्था गर्न सरकारले सोच्नुपर्ने विचार व्यक्त गरिन् । 

उनले राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव एवम् ‘सेफ द मिसन’ केशवकुमार बुढाथोकीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिन् । 

सेफ द मिसन बुढाथोकीले १८औँ एशियाली खेलकूद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीको परिचय प्रस्तुत गर्दै नेपालको गौरव र गरिमा खेलकूदका माध्यमबाट उच्च राख्न खेलाडीले हरसम्भव प्रयास गर्ने बताए । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आधा शताब्दी लामो नेपालको खेलकूद इतिहासको चर्चा गर्दै सीमित स्रोतसाधन तथा खेलाडीको मिहिनेतबाट प्राप्त उपलब्धिको सराहना गरे । 

उक्त प्रतियोगितामा नेपालसहित ४५ देशले भाग लिँदैछन् भने नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्नेछ । एशियाडमा सरकारी टोली, प्रशिक्षक तथा खेलाडी गरी ३०० जनाको सहभागिता हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप