शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई मानवअधिकारमैत्री बनाउन तालीम

मङ्गलबार, ०३ साउन २०७४, ११ : ४१
मङ्गलबार, ०३ साउन २०७४

रोल्पा - मानवअधिकार संरक्षणमा सुरक्षाकर्मीको महत्वपूर्ण भूमिका हुने भन्दै रोल्पाको लिवाङमा सुरक्षाकर्मीका लागि मानवअधिकार र संक्रमणकालीन न्यायसम्वन्धी तालीम दिइएको छ । 

मानवअधिकारमैत्री अनुसन्धान, संक्रमणकालीन न्याय, द्वन्द्वको पहिचान तथा द्वन्द्व न्यूनीकरणलगायतका विषयमा प्रहरी कर्मचारीको क्षमता विकास गर्ने उद्देश्यका साथ सो तीनदिने तालीम आयोजना गरिएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय, रोल्पाअन्तर्गत महिला तथा बालबालिका सेल, मुद्दा फाँट तथा कारागार शाखामा कार्यरत पाँच महिला र २० पुरुष गरी २५ जना प्रहरी कर्मचारीलाई उक्त तालीम दिइएको मानवअधिकार तथा कानूनी सेवा केन्द्र, रोल्पाले जानकारी दिएको छ । 

तालीमले मानवअधिकारमैत्री अनुसन्धान पद्धतिका साथै सेवाग्राही जनतासँग गर्नुपर्ने व्यवहारबारे धारणा परिवर्तनमा सहयोग पुगेको तालीममा सहभागी महिला तथा बालबालिका सेलकी इन्चार्ज दिलकुमारी बुढामगरले जानकारी दिनुभयो । तालीमले विगतमा गरिने व्यवहार र कार्यशैलीमा परिवर्तन गर्न मद्दत गर्ने उहाँले बताउनुभयो । 

बदलिँदो परिवेशसँगै प्रहरी कर्मचारीलाई मानवअधिकारमैत्री बनाउन आवश्यक रहेको हुँदा तालीम प्रभावकारी हुने मानवअधिकारकर्मी खेम बुढामगरले बताउनुभयो । 

जिल्लाका सबै प्रहरी युनिटमा तालीम सञ्चालन गर्नसके जिल्लाको मानवअधिकारको अवस्था सुधारमा टेवा पुग्ने बुढाको अपेक्षा रहेको छ । 

आइतबार सुरु भएको तालीम सहजीकरण प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराई, अधिवक्ता वसन्त गौतम र मानवअधिकारकर्मी खेम बुढामगरले गरिरहनुभएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप