शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपासँग पार्टी एकता गर्न त्रिपाठीको ‘मधेस कार्ड’

बुधबार, ३० साउन २०७५, १३ : ४१
बुधबार, ३० साउन २०७५

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल छाडेर छुट्टै स्वतन्त्र राजीतिक समूह गठन गरेका प्रतिनिधिसभा सदस्य हृदयश त्रिपाठी नेपाल कम्युनिस्ट पार्टी (ने क पा)  सँग एकीकरण गर्ने तयारीमा जुटेका छन् । 
यसका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसँग उनले छलफल तीव्र पारेको बताइएको छ । तर हालसम्म ठोस सहमति जुटिनसकेको सो समूहका सदस्य एवम् प्रतिनिधिसभा सदस्य वृजेश गुप्ताले रातोपाटीलाई जानकारी दिए । 

उनले भने, ‘नेकपाका नेताहरूसँग पटक–पटक वार्ता र छलफल भए पनि हालसम्म कुनै औपचारिकता लिएको छैन ।’
समूहका संयोजक त्रिपाठीले एकीकरण गर्नका लागि एउटै बटमलाइन राखेका छन्– त्यो हो मधेस । विगतमा तत्कालीन एमालेप्रति मधेसको राम्रो सम्बन्ध नरहेको भन्दै त्यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गर्दै आएका छन् । 

‘एकीकरणमा समस्या छैन तर पहिला मूलभूत सैद्धान्तिक पक्षमा सहमति हुनुपर्यो, समूहका एक नेताले रातोपाटीसँग भने, ‘संविधान संशोधन, मधेसका मुद्दा र मधेसका समस्याभन्दा पनि हाम्रो ‘कन्सर्न’को विषय पहिचान हो । कलर (रङ) देख्ने वित्तिकै भारतीय हुन् भनी जुन सोच ठूला पार्टीमा देखिएको छ, त्यसमा परिवर्तन हुनुपर्ने हाम्रो माग हो ।’

‘संविधान संशोधन राष्ट्रिय समस्या हो, यो मधेसको मात्र समस्या होइन,’ ती नेताले थपे, ‘समावेशी, समानुपातिक, नागरिकताको विषय, सङ्घीय संरचनाको विषयलगायतमा संशोधन भयो भने मधेसलाई मात्र फाइदा हुँदैन पूरै देशलाई फाइदा हुन्छ । त्यसैले संविधान संशोधन अनिवार्य छ तर पहिचानको विषय मधेसको आफ्नो विषय हो । मधेसलाई हेर्ने दृष्टिकोण के हो ? त्यसका बारेमा स्पष्ट हुन भनेका छौं ।’

एकीकरण समूहबाट वृजेश गुप्ता र हृदयश त्रिपाठी वार्ताका लागि सक्रिय हुने गरेका छन् भने नेकपाबाट अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका अर्का अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल सहभागी हुने गरेका छन् । 

आफूहरूले मधेसको बारे उठाएका सवालमा नेकपाका नेताहरू सकारात्मक देखिए पनि स्पष्ट धारणा भने आउन बाँकी रहेको बताए । 

‘उहाँहरू एजेन्डामा सहमत हुनुहुन्छ तर अझै स्पष्ट हुन बाँकी छ,’ गुप्ताले भने, ‘उहाँहरूसँग कुरा गर्दा तपाईंहरूले उठाउनु भएको सबै कुरा ठीक छन् भन्नुभएको छ । अब हेरौं कहिले निष्कर्षमा पुगिन्छ ।’

मधेसमा तत्कालीन एमालेको राम्रो सम्बन्ध नरहेको अवस्थामा त्रिपाठीको समूहसँग एमालेले गठबन्धन बनाएपछि सम्बन्धमा केही सुधार भएको थियो । तत्कालीन एमालेको चुनाव चिन्हबाट नै त्रिपाठीले प्रतिनिधिसभा चुनाव जितेका हुन् । 

मधेस राजनीतिका ठूला हस्ती त्रिपाठी नै एमालेको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएपछि मधेसमा एमाले प्रतिको सोचमा केही परिवर्तन आएको बताइँदै आएको छ । 

हुन त तत्कालीन एमालेले यसबारे प्रचार पनि निकै गरेको थियो ।  तर जब चुनाव सम्पन्न भयो । सरकार गठनको प्रकृया सुरु भएपछि नेकपाले त्रिपाठीको समूहलाई महत्व दिन पनि छाडिसकेको थियो । 

सरकार गठनपछि प्रधानमन्त्री ओलीले सोधखोज समेत नगरेपछि त्रिपाठीसहितका नेता तथा कार्यकर्ताहरू निराश भएका थिए । 

त्यसपछि समूह आफ्नै छुट्टै पार्टी बनाउने तयारीमा लागेको बेला फेरि पार्टी एकताबारे छलफल सुरु भएको हो । 

जबकि एकता हुने सम्भावना नदेखेर त्रिपाठी समूहले जिल्लामा कार्यकर्ताको बैठकलगायत अन्य प्रकृयाहरू सुरु गरिसकेको थियो । सुरुमा प्रदेशस्तरको भेला गर्ने त्यसपछि राष्ट्रिय भेला गर्ने तयारी सो समूहको थियो । 

समूहबाट चारजना प्रतिनिधिसभा र तीनजना प्रदेश सांसदमा सूर्य चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिएका थिए । त्यसमध्ये प्रतिनिधिसभामा दुईजना र प्रदेशसभामा तीनै जनाले चुनाव जितेका हुन् । प्रदेशसभामा चुनाव जितेका तीनजनामध्ये एकजना तत्कालीन एमालेमा प्रवेश गरिसकेका छन् ।

समूहका संयोजक त्रिपाठीले नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट र  वृजेश गुप्ताले कपिलवस्तु २ बाट प्रतिनिधिसभाको चुनाव जितेका हुन् ।  

सम्बन्धित समाचार 

त्रिपाठीले पार्टी बनाउँछन् कि राजपा सिध्याउँछन् ?
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप