बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कीर्तिपुर नगरपालिकाले ल्याउने भो एकीकृत पर्यटन परियोजना

बुधबार, ३० साउन २०७५, १३ : २८
बुधबार, ३० साउन २०७५

– कृष्णराज गौतम 

काठमाडौँ– कीर्तिपुर नगरपालिकाले स्थानीय पर्यटन क्षेत्रको विकास गर्न चाँडै ‘कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना’ सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले त्यस क्षेत्रको पर्यटकीय एकीकृत गुरुयोजनाको तयारी तथा आधारभूत नीति निर्माणका लागि उक्त परियोजना शुरु गर्ने निर्णय गरेको हो । 

आगामी भदौभित्र चालू आवको प्रथम चौमासिकभित्र परियोजना कार्यान्वयनमा ल्याउने योजना छ । शहरी भेगमा नेवार जाति तथा समुदायको मुख्य बसोबास रहेको भए पनि गाउँगाउँमा क्षेत्री, मगर समुदायका मानिस बस्छन् । उनीहरुको भाषा, धर्म र संस्कृतिमा पनि विविधता रहेको छ । पछिल्लो समय बसाइँसराइका कारणले बाहिरी जिल्लाबाट आएर घर घडेरी जोडेर बस्नेको सङ्ख्या बढ्दै गएको छ । 

नगरमा मल्लकालीन समयदेखि विकास भएका विभिन्न कला र संस्कृतिको प्रभाव पाइन्छ । यहाँका प्राचीन महत्वका सम्पदास्थललाई प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रका रुपमा व्यवस्थित गर्ने नीति परियोजनामा लिइएको नगरपालिका उपप्रमुख सरस्वती खडकाले जानकारी दिए । 

परियोजनाअन्तर्गत पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक उद्योग, होटललगायत पूर्वाधारको विकास तथा नयाँ पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययनसमेत पर्दछन् ।  वि.सं २०५३ चैत १४ गते नगरपालिका ऐन २०५३ अनुसार गठन भएको उक्त नगरपालिकामभित्र पाँगा, चोभार, भाजङ्गल, ट्याङ्ला फाँट, चम्पादेवी, नगाउँ, सल्यानस्थान, नयाँबजार र भत्केपाटीसमेत प्रमुख स्थान छ । नगरपालिकाका अनुसार त्यस क्षेत्रमा कालोपत्रे सडक ३५ किमी, ग्राभेल सडक ४० किमी, कच्ची सडक ३५ किमी छ । 

कीर्तिपुर शहरको उत्तरमा काठमाडौँ महानगरपालिका, दक्षिणमा दक्षिणकाली नगरपालिका पूर्वमा वाग्मती नदी, पश्चिममा चन्द्रागिरि नगरपालिका पर्दछ । नगरपालिकाको कूल क्षेत्रफल १४ दशमलब ७६ वर्ग किमी छ । विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार कीर्तिपुरको कूल जनसङ्ख्या ६५ हजार ६०२ छ । यहाँका अधिकांश स्थानीय बासिन्दा कृषि पेशामा निर्भर छन् । 

स्थानीय पर्यटनको विकासमा लामो समयदेखि क्रियाशील विजयकुमार महर्जनले करीब एक दशकदेखि कीर्तिपुर हिल साइड रिसोर्ट सञ्चालन गर्दै आउनुभएको छ । रिसोर्टका प्रबन्ध निर्देशक महर्जनका अनुसार यस क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न राम्रो तारे होटलको विकास नभएका कारण पर्यटकीयस्थल ओझेलमा परेका छन् । पर्यटन क्षेत्रको विकास गरी स्थानीय सम्पदा तथा संस्कृतिलाई पर्यटकसँग जोड्न सकेमा स्थानीय क्षेत्रको बहुआयामिक विकास हुने  उनले बताए । 

अधिकांश भाग कृषि क्षेत्र र जङ्गलले ओगटेको नगर क्षेत्र वरपरका भागमा राम्रो र व्यवस्थित सडक यातायातको सुविधा विस्तार हुन सकेको छैन । शहरी क्षेत्रमा औद्योगिक कलकारखानाका साथै बजारको व्यवस्था, खानेपानी, बिजुली, टेलिफोनको सुविधा छ । 

जलविनायक, आदिनाथ मन्दिर, पोखरी, चिलन्चो विहार, उमामहेश्वर, कर्कोटक नागको वासस्थान टौदह धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने सम्पदास्थल छन् । यिनलाई नै पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक रहेको स्थानीय महेश श्रेष्ठले बताए । 

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको आधुनिक नेपाल निर्माणका क्रममा कीर्तिपुरलाई तीन पटक आक्रमण गरेको इतिहास पाइन्छ । मुलुकको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालय वि.सं २०१६ मा यहाँ स्थापना भएको भए पनि स्थानीयवासी अपेक्षाकृत रुपमा शिक्षित हुन सकेका छैनन् । विभिन्न समयमा देशमा भएका राजनीतिक परिवर्तन तथा प्रजातान्त्रिक आन्दोलनमा कीर्तिपुरवासीको अग्रणि भूमिका रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप