मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यरातमा राजधानीकाे धोबीखोलामा बाढी, बस्ती डुबानमा

बुधबार, ३० साउन २०७५, ११ : २९
बुधबार, ३० साउन २०७५

काठमाडौं – गएराति धोबीखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजारसम्मका बासिन्दा प्रभावित भएका छन् । डुबानबाट लाखौंको क्षति भएको पीडितहरुले बताएका छन् ।

खोला किनारमा रहेका घर, पसल, कलेज, स्कुल, प्रेस, कार्यालयहरुमा दुई फिटसम्म पाँगो माटो जमेको छ । बाढी पसेपछि सो क्षेत्रका बासिन्दा रातभर जाग्राम बसेका थिए ।

बुधबार बिहानैदेखि पम्पसेट, मोटर र भाँडाकुँडा प्रयोग गरी पानी फाल्न र हिलो माटो पन्छाउन स्थानीयबासी व्यस्त देखिन्थे ।

मदन भण्डारी कलेज नजिकै रहेको एक मसला उद्योग सन्चालकले आफ्नो ८५ लाख मूल्य बराबरको क्षति भएको बताए । बजार पठाउनका लागि प्याकिङ गरेर राखिएको मसला हिलो र पानीमा डुबेर कामै नलाग्ने भएको उनले जानकारी दिए ।

धोबी खोलाको पानीको सतह बढेर खोला निकारको सडक आधासम्म छोपिएको थियो । खोलाबाट झण्डै दुई सय मिटरको दुरीमा रहेको बिजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा समेत बाढी पसेको छ ।

डुबानले अनामनगर, देवीनगर, बिजुली बजार क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । साना गल्लीहरुमा हिँड्नै नसकिने गरी हिलो माटो जमेको छ ।

स्थानीयबासीले बिजुली बजारमा बन्दै गरेको आर्क ब्रिजका कारण आफूहरुको घरमा बाढी पसेको दावी गरेका छन् । पुलमा प्रयोग गरिएका डण्डीहरुमा बाढीले बगाएर ल्याएका बिभिन्न बस्तु अड्किएको र पानी थुनिएर बस्तीमा पसेको उनीहरुको भनाइ छ ।

यसैबीच कांग्रेस नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले डुबान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । उनले पीडितहरुसँग डुबानको अवस्थाबारे जानकारी लिँदै सहयोगको पहल गर्ने बचन दिएका छन् ।

उनले काठमाडौंका प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालयका सचिव, काठमाडौं महानगरपालिकाकी उपप्रमुख लगायतलाई टेलिफोन गरी डुबान पीडितको समस्याबारे जानकारी गराएका थिए ।

साथै उनले समस्याको दीर्घकालीन समाधान खोज्न र पीडितलाई उद्धार तथा राहतको तत्काल व्यवस्था मिलाउन ध्यानाकर्षणसमेत गराएको प्रकाशमानका सहयोगी यूपी लामिछानेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप