शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्यानमारा बालकुमारी–ग्वार्को सडक, दैनिक कम्तिमा तीन दुर्घटना

बुधबार, ३० साउन २०७५, १० : १५
बुधबार, ३० साउन २०७५

ललितपुर । बालकुमारीदेखि ग्वार्कोसम्मको सडक दुरीको हिसाबले मात्र ६ सय मिटर रहेको छ । तर, यही सडक यतिबेला ट्राफिक प्रहरीको लागि टाउको दुखाई बनेको छ । कारण यहाँ हुने दैनिक दुर्घटना ।

ललितपुर ट्राफिक प्रहरीका अनुसार स–साना दुर्घटनालाई जोड्ने हो भने यस सडक खण्डमा दैनिक सरदर तीनवटा दुर्घटना हुने गरेका छन् । 

गत साउन १ गतेदेखि २९ गतेसम्म गम्भिर प्रकृतिका १९ दुर्घटना भएका छन् जसमा दुई जनाले ज्यान गुमाएका छन् भने २२ जना घाइते भएका छन् ।

केही घटना हेरौँः
२०७५/४/१
को २ प ९४८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भिर घाइते भए भने पछाडि बस्ने २१ वर्षीया रुपा श्रेष्ठको मृत्यु भयो ।

२०७५//
बा ९३ प ६०८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय प्रतिक दासको मृत्यु भयो ।

२०७५/४/२७
बा ७९ प ९८३१ नम्बरको मोटरसाइकल ट्रकसँग जुध्दा २१ वर्षीय सनम अधिकारीको दाहिने हात काम नलाग्ने भएको छ । उनी हालसम्म अस्पतालमा रहेको र होस पनि आएको छैन । पछाडि बस्ने राजेश यादवको खुट्टामा चोट लागेको छ ।

ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार रिङरोडको सडकलाई फराकिलो बनाएर ६० फिटको बनाइएको छ । तर, हालसम्म जेब्रा क्रसिङ, लेन संकेतलगातका ट्राफिक संकेतहरु बनाइएका छैनन् । पैदलयात्रुका लागि बाटो काट्नका लागि आकाशे पुल पनि छैन ।

‘आवश्यक ट्राफिक संकेत नहुँदा जथाभावी सवारी चलाउने गरिएको छ । त्यस्तै, पैदलयात्रुले पनि जथाभावी बाटो काट्दा दुर्घटना बढेको छ,’ हाछेथुले रातोपाटीसँग भने ।

सडक निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले उक्त सडक आगामी पुसमा हस्तान्तरण गर्ने तयारी गरेको छ । हस्तान्तरण गर्ने बेलासम्म सबै ट्राफिक संकेतहरु राखिने उसले प्रतिबद्धता पनि जनाएको छ ।

‘तर, अहिलेको दुर्घटनाको दर हेर्दा पुससम्म त यहाँ धेरैले ज्यान गुमाइसक्ने देखियो,’ हाछेथुले भने, ‘त्यही भएर ट्राफिक प्रहरीले नै दुर्घटना कम गराउन अग्रसरता लिएका छौँ ।’

आवश्यक पुर्वाधार तयार नभएसम्म ट्राफिक प्रहरीले अहिले सो क्षेत्रमा प्लास्टिकको डिभाइडर र कोन राखेर लेन छुट्याएको छ । यो अस्थायी उपायले दुर्घटना केही कम हुने विश्वास प्रहरीले लिएको छ ।

‘डिभाइडरले लेन मिचेर चलाउने र जथाभावी ओभरटेक गर्ने संख्यामा कमी आउने हामीले विश्वास लिएका छौँ,’ हाछेथुले भने, ‘यसले सडक पार गर्दा पैदलयात्रुलाई पनि केही सहजता प्रदान गर्नेछ ।’

सडक निर्माणका क्रममा आवश्यक पूर्वाधार निर्माणमा भएको ढिलाइका कारण पछिल्लो समय कोटेश्वर–कलंकी सडक खण्डमा दुर्घटनाको संख्यामा उल्लेख्य बृद्धि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप