शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैङ्गलोर जाने नेपाली विद्यार्थीको बाटो बन्द : सबै नर्सिङ कलेजको सम्बन्धन खारेजीमा

मङ्गलबार, ०३ साउन २०७४, ११ : ००
मङ्गलबार, ०३ साउन २०७४

बैङ्गलोर– बैङ्गलोरमा गएर बीएस्सी नर्सिङ पढ्न खोज्नेहरूलाई दुःखद समाचार बाहिर आएको छ, त्यो हो बैङ्गलोरमा बीएस्सी नर्सिङ पढ्ने बाटो बन्द । किनभने भारतमा नर्सिङ शिक्षासम्बन्धी अनुगमन, नियमन र नियन्त्रण गर्ने सर्वोच्च संस्था इन्डियन नर्सिङ काउन्सिल (आईएनसी)ले कर्नाटक राज्यका सबै नर्सिङ कलेजहरूको सम्बन्धन खारेज गरिदिएको छ ।


बैङ्गलोरमा पढाइ हुने बीएस्सी नर्सिङमा गुणस्तर कायम हुन नसकेको भन्दै यसअघि पटकपटक इन्डियन नर्सिङ काउन्सिलले गुणस्तर कायम गर्न निर्देशन दिएको थियो । तर काउन्सिलको निर्देशन नमानेको र गुणस्तर पनि कायम नगरेको भन्दै काउन्सिलले २०१७ को जुलाई १० तारिखमा सार्वजनिक सूचना जारी गर्दै बैङ्गलोरका कुनै पनि नर्सिङ कलेजलाई सम्बन्धन नदिएको बताएको छ । भारतमा नर्सिङसम्बन्धी नियमन गर्ने सर्वोच्च निकाय आईएनसीले नै सम्बन्धन पाएका बाहेक अन्य कलेजहरूमा भर्ना नगर्न विद्यार्थी र अभिभावकलाई सूचित गरेको छ ।

हेर्नुहोस्, इन्डियन नर्सिङ काउन्सिलले शैक्षिक वर्ष २०१७/१८ का लागि भारतभर मान्यता दिएको नर्सिङ कलेजहरूको लिस्ट । 



इन्डियन नर्सिङ काउन्सिलले भारतभर मान्यता दिइएको कलेजहरूको सूचीमा कर्नाटक राज्यमा पर्ने बैङ्गलोरलगायत सहरका एउटा पनि कलेजहरूलाई मान्यता दिएको छैन । किनभने कर्नाटक राज्यमा पढाइ हुने नर्सिङको गुणस्तर एकदमै कमजोर रहेको भन्दै परेको उजुरी र अनुगमनका क्रममा कलेजको मापदण्ड नपुगेको पाइएपछि शैक्षिक वर्ष २०१७/१८ मा नयाँ भर्ना लिन रोक लगाइएको छ । 


नर्सिङसम्बन्धी सर्वोच्च निकाय आईएनसीले नै बैङ्गलोरलगायत कर्नाटकका सबै नर्सिङ कलेजको सम्बन्धन खारेज गरे पनि बैङ्गलोरका कतिपय नर्सिङ कलेजहरूले भने अहिले पनि विद्यार्थी भर्ना गरिरहेका छन् । बैङ्गलोरमा पढ्नका लागि आईएनसीको अनुमति नचाहिने भन्दै प्रचार गरेर अहिले पनि नेपाललगायतका देशबाट विद्यार्थीहरूलाई बैङ्गलोर लगिँदै छ ।
 
पुराना विद्यार्थीलाई समस्या नपर्ने


आईएनसीले सार्वजनिक गरेको सूचीमा नपरेपनि यसभन्दा अगाडि नै बैङ्गलोरमा आएर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई भने आईएनसीको यस निर्णयले कुनै असर नगर्ने बताइएको छ । नयाँ भर्ना लिन नपाए पनि पहिले नै अध्ययन गरिरहेका विद्यार्थीहरूलाई भने अध्ययन पूरा गराउनुपर्ने आईएनसीले जनाएको छ । 
 
कलेज अदालतमा, नयाँ भर्ना लिइँदै


नर्सिङसम्बन्धी अनुगमन गर्ने सर्वोच्च निकायले बैङ्गलोरलगायत कर्नाटकका सबै कलेजहरूको सम्बन्धन खारेज गरे पनि बैङ्गलोरका कलेजहरूले भने अझै भर्ना लिइरहेका छन् । आफूहरू आईएनसीको निर्णयविरुद्ध अदालतमा गएको र अदालतले स्टे अर्डर दिने भन्दै उनीहरूले नेपाली विद्यार्थीहरूलाई पनि भर्ना लिइरहेका छन् । काठमाडौँमा रहेका कन्सल्टेन्सीहरूले पनि विद्यार्थीलाई बैङ्गलोर पठाउनका लागि प्रयत्न गरिरहेका छन् । तर भोलि के हुने भन्ने विषय स्पष्ट नभएकाले समस्या ल्याउन सक्ने देखिन्छ । 
 
के छ आईएनसीको नीतिमा ?


भारतमा नर्सिङसम्बन्धी काम गर्ने सर्वोच्च निकाय भारतीय उपचार्य परिषद् अर्थात् इन्डियन नर्सिङ काउन्सिलको नीतिअनुसार देशभर पढाइ हुने सबै नर्सिङ कलेजले अनिवार्य रूपमा आईएनसीबाट स्वीकृति लिएको हुनुपर्नेछ । आईएनसीले मान्यता नदिएको कलेजमा पढेका विद्यार्थीलाई भारतमा दर्ता निषेध छ भने बाहिर जान पनि मान्यता छैन । यस अर्थमा आईएनसीले सम्बन्धन नदिएका वा सम्बन्धन खारेज गरेका कलेजहरूमा विद्यार्थीले पढे भोलि प्रमाणपत्रहरू कागजका खोस्टा मात्रै बन्न सक्छन् । 
 
बैङ्गलोरमा नर्सिङ नपढ्न केरलाको सार्वजनिक सूचना
यसैबीच केरला नर्सिङ काउन्सिलले बैङ्गलोरमा नर्सिङ नपढ्न प्रान्तबासीलाई चेतावानी दिएको छ । हेर्नुहोस्, टाइम्स अफ इन्डियामा प्रकाशित यस समाचारको अनलाइन संस्करण

केरलाको इन्डियन नर्सिङ काउन्सिलले केही दिनअघि पत्रकार स्म्मेलन नै गरेर कर्नाटकमा पढ्ने नयाँ विद्यार्थीलाई काम दिन नसक्ने बताएको हो । बैङ्गलोरको पढाइमा गुणस्तर नभएको भन्दै त्यहाँका अस्पताल सञ्चालकहरूले काममा नराख्ने बताइसकेका थिए ।
 
नेपाल नर्सिङ परिषद् किन चुपचाप ?


इन्डियन नर्सिङ काउन्सिलले कर्नाटक राज्यमा पर्ने बैङ्गलोरलगायत सहरका नर्सिङ कलेजको सम्बन्धन खारेज गरेपछि पनि नेपालबाट विद्यार्थीको निर्यात भइरहेकै छ । तर विद्यार्थीहरू भविष्यमा समस्यामा पर्न सक्ने खतरा भएपछि हामीले यसै विषयमा नेपाल नर्सिङ परिषद्को धारणा बुझ्ने प्रयास गर्यौँ । हामीले परिषद्का अध्यक्ष चन्द्रकला शर्मालाई आईएनसीले बैङ्गलोरका नर्सिङ कलेजको सम्बन्धन खारेज गरेकाबारे तपाईँको धारणा के हो भनेर सोध्यौँ । उहाँले आफूहरूलाई पूर्ण जानकारी नभएको भन्दै यसबारे बुझेर सार्वजनिक सूचना जारी गर्ने बताउनुभयो । उहाँका अनुसार इन्डियन नर्सिङ काउन्सिलले सम्बन्धन वा स्वीकृति नदिएको कलेजमा पढेका विद्यार्थीलाई नेपालमा दर्ता गर्न नसकिने र बेकामे बन्नेबारे भने उहाँले स्पष्ट पार्नुभएको छ । साथै आईएनसीले स्वीकृति नदिएको कलेजमा पढ्न गए विद्यार्थी आफै जिम्मेवार हुने पनि उहाँले स्पष्ट पार्नुभएको छ ।
 
यसरी अहिले इन्डियन नर्सिङ काउन्सिलले कर्नाटक राज्यका सबै नर्सिङ कलेजको सम्बन्धन खारेज गर्दै मान्यता दिन नसकिने स्पष्ट पारेको छ । यस्तो अवस्थामा नेपालबाट विद्यार्थी बैङ्गलोरमा गएर पढ्दा भविष्य अन्धकार बन्ने खतरा बढिरहेको छ । यस्तो अवस्थामा तत्कालै नेपाल सरकार र सरोकारवाला निकायले सार्वजनिक सूचना जारी गर्दै बैङ्गलोरमा नर्सिङ अध्ययनमा जानेहरूलाई रोक्नैपर्ने बेला आएको छ ।  

बैङ्गलोरमा बिजोगसम्बन्धी अन्य समाचार पढ्नुहोस्

नेपाली विद्यार्थीको सुझाव : बैङ्गलोरमा पढ्न आउँदै नआउनुस्

बैङ्गलोरमा बीएस्सी नर्सिङ : भारतमै हुन्न गुणस्तरप्रति विश्वास, नेपाली विद्यार्थीको रजिस्ट्रेसनमा रोक

बैङ्गलोरमा नेपाली विद्यार्थीको प्रश्न : कुभिण्डोको झोल खाएर कसरी बाँच्नु ?

बैङ्गलोरमा नर्सिङका विद्यार्थीको बिजोग : पढाइ बैङ्गलोरमा, प्रयोगशाला चाहिँ नेपालमा

बैङ्गलोरमा बीएस्सी नर्सिङ : सुनौलो सपना, दर्दनाक यथार्थ

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप