शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ सम्झौता तोड्दै मलेसियाका प्रधानमन्त्री महाथिर

सोमबार, २८ साउन २०७५, १३ : २१
सोमबार, २८ साउन २०७५

पुत्रजया– मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनियाँको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई ऋणको बोझबाट मुक्त राख्ने प्रयासमा महाथिर रहेका छन् ।

एसोसिएटेड प्रेस (एपी) का संवाददातालाई दिएको एक अन्तर्वार्तामा ९३ वर्षीय प्रधानमन्त्री महाथिरले रोहिङ्ग्या मुस्लिम समुदायमाथि म्यान्मारले गरेको व्यवहार अन्यायपूर्ण रहेको बताए । तीन महिनाअघि निर्वाचित भएर सत्तामा पुनरागमन गर्नुभएका महाथिरले चीन भ्रमणमा जानुअघि यस्तो धारणा सार्वजनिक गरेका हुन् । 

महाथिरले भने, ‘म चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न चाहन्छु र चीनको लगानीलाई पनि स्वागत गर्दछु, तर यस्ता परियोजना मलेसियाका निम्ति हितकर हुनु पर्दछ ।’  पूर्व प्रधानमन्त्री नजिब रजाकले सम्झौता गरेको चिनियाँ लगानीको ऊर्जा पाइपलाइन र एउटा रेल परियोजनामाथि महाथिर मोहमदले विशेष ध्यान दिएका छन् । ‘मेरो विचारमा यी दुई परियोजना मलेसियाका लागि त्यति आवश्यक छैनन् । ती परियोजना उपयुक्त पनि होइनन् । त्यसर्थ हामीले सकेसम्म ती दुवै परियोजना रोक्नेछौं ।’ 

नजिबले मलेसियालाई चीनको निकटमा राखेका थिए । चीनले मलेसियालाई पनि चीनको महत्वाकाँक्षी ‘वान बेल्ट वान रोड’ (ओबीओआर) को साझेदार मुलुकका रुपमा महत्व दिँदै आएको छ । नजिबले ६८८ किमी लामो पूर्वी तटीय रेल निर्माण गर्न तथा दुई वटा ग्यास पाइपलाइन बिछ्याउन सन् २०१६ मा सम्झौता गरेका थिए । 

चीनको राज्य नियन्त्रित कम्पनीले निर्माण गरिरहेका यी दुवै परियोजनाका कामहरु मलेसियाको नयाँ सरकारले रोकेको छ । परियोजनाको ठूलो लगानीमा कमी ल्याएको छ । यी दुबै परियोजनाको कूल लागत करिब २२ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको थियो । उक्त लागतमध्ये केही रकम मलेसियाले भुक्तानी गरिसकेको छ र यसलाई उठाउन मुस्किल छ । 

यदि सम्पूर्ण परियोजना खारेज गर्न नसकिए पनि मलेसियाले लामो अवधिसम्म रोकेर राख्न सक्नेछ, र ‘आवश्यकता परेपछि मात्र अघि बढ्नेछ,’ महाथिरले भनेका छन् ।  महाथिरले दक्षिण चीन सागरमा मलेसियाली जहाजलाई निर्वाध रुपमा हिँडडूल गर्न दिनुपर्ने पनि बताए । यी क्षेत्रमा चीन र दक्षिण पूर्वी एसियाका धेरैवटा देशले दाबी गरिरहेका छन् । यस सागर क्षेत्रमा माछा मार्ने र खनिज तेलको ठूलो भण्डार रहेको छ । 

चीनले सागरको अधिकांश हिस्सा आफ्नो रहेको दाबी गरिरहेको छ र यहाँ चीनले स–साना मानव निर्मित टापुहरु निर्माण गरेको छ जहाँ हवाई मैदान, ह्यान्गर, राडार र क्षेप्यास्त्र स्टेशनहरु तैनाथ गरिएको छ । यहाँ अमेरिकाले समेत नियमित रुपमा अरु लडाकू युद्धपोत र हवाईजहाज पठाउने गरेको छ । चिनियाँ जहाजहरुले पनि यहाँ निगरानी तिब्र बनाइ आएका छन् । 

प्रधानमन्त्री महाथिरले म्यान्मारले रोहिङ्ग्या समुदायमाथि गरेको अमानवीय व्यवहारको कटु आलोचना गरे । ‘उनीहरुले जे गरिरहेका छन् त्यो बिल्कुलै अक्षम्य हो । त्यहाँ मानिसहरुको खुलेआम हत्या भइरहेको छ, र त्यो एउटा सभ्य मुलुकले गर्न सुहाउने काम होइन,’ उनले भने । 

मुस्लिम मलेसियाले विगतमा रोहिङ्ग्या समुदायको पक्षमा जोडदार आवाज उठाएको छ । गत वर्ष लाखौं रोहिङ्ग्या समुदाय म्यान्मारको दमनबाट बच्न भागेर बंगलादेश प्रवेश गरेका थिए । मलेसियाको सरकारले रोहिङ्ग्या समुदायको विस्थापन म्यान्मारको मात्र विषय नरहेको जनाइसकेको छ । 

महाथिरले भने, ‘म्यान्मारकी नेतृ आङ सान सू कीले रोहिङ्ग्यामाथि भएको अत्याचार रोक्न नसकेकोमा म असाध्यै दुःखी भएको छु । रोहिङ्ग्या समुदायमाथि अत्याचार हुँदा उहाँ नै सरकारमा हुनुहुन्छ । यो न्याय र मानवअधिकारको प्रश्न हो । तपाईंलाई जथाभावी यस्तो गर्ने छुट छैन ।’ 

अरु थप रोहिङ्ग्या शरणार्थी मलेसियाले स्वीकार्छ त भन्ने प्रश्नमा प्रधानमन्त्री महाथिरले यसअघि नै ठूलो संख्यामा कानुनी र कागजातविहीन विदेशी व्यक्तिहरु रहेकाले अहिल्यै भन्न नसकिने बताए । –एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप