मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेकपा लोकतन्त्रको जन्मदाता हो, लोकतन्त्रलाई खतरामा पर्न दिन्नः प्रधानमन्त्री ओली

आइतबार, २७ साउन २०७५, १८ : ३०
आइतबार, २७ साउन २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकारप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । 

नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्यसमितिलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै उनले सरकार मर्यादित, स्वतन्त्र प्रेस स्वतन्त्रता र मानव अधिकारप्रति संवेदनशील रहेको बताए । 

प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ वर्ष जेल बसेको, पार्टीको कैयौँ नेता, कार्यकर्ता सहिद भएकाले वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने स्पष्ट पारे । 

माइतीघर मण्डलाको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । 

‘माइतीघर मण्डला के आमसभा, जुलुस गर्न उपयुक्त ठाउँ हो त ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे– ‘अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने ?’ 

‘नेकपा लोकतन्त्रको जन्मदाता हो । यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकार हनन हुने कुरा कल्पनासम्म हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुरा मिडियाले बुझ्नुपर्छ ।’ 

प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन सञ्चारमाध्यमको ठूलो भूमिका हुने उल्लेख गरे । 

केही सञ्चारमाध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकामा प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले भने, ‘अहिले लेखिएका विषय २० वर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले १० वर्षमा नेपालको कायापलट गर्न सकिने दावी गरे । कृषिमा आश्रित जनसंख्यालाई दुई वर्षमा २० प्रतिशतमा झार्ने तर यसको उत्पादकत्व हालकोभन्दा कैयौँ गुणा बढाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । 

प्रधानमन्त्री ओलीले सोसाइटीका अध्यक्ष शुभशंकर कँडेललगायत कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप