बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

वार्षिक ४ लाख युवा रोजगारीका लागि विदेशमा, १० वर्षमा ४० लाख विदेशिए

आइतबार, २७ साउन २०७५, १४ : ०८
आइतबार, २७ साउन २०७५

काठमाडौँ । नीलकण्ठ–५, धादिङका पूर्ण श्रेष्ठ करिब २ महिनाअगाडि मात्रै नेपाल आइपुगे । यसअघि २ पटक साउदी अरब बसिसकेका श्रेष्ठ फेरि पनि विदेश नै जाने तयारी गरिरहेका छन् । २ पटक गरी करिब ६ वर्ष विदेश बसेका श्रेष्ठलाई हामीले सोध्यौँ, ६ वर्षमा पैसा त राम्रै कमाउनुभयो होला, फेरि किन विदेश त ? उनले जवाफ फर्काए, ‘देशमै बसेर कसले जागिर दिन्छ र हामीलाई ?’

यो पूर्णको मात्रै वास्तविकता होइन, करिब ४० लाख युवाहरूको सामूहिक आवाज र नियति हो । देशमा रोजगारीको सम्भावना कम भएपछि वार्षिकरूपमा करिब ४ लाखको हाराहारीमा युवाहरू विदेशिन बाध्य छन् । विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने नेपालबाट सरदरमा वार्षिक ४ लाख युवाहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेशी भूमिमा पसिना बगाउन पुगेका छन् । 

देशमा रोजगारीको प्रशस्त सम्भावना नभएपछि विदेशिनु रहर मात्रै होइन, बाध्यता पनि हो । वर्तमान सरकारले आगामी ५ वर्षमा देशभित्रै ५ लाख रोजगारीको सिर्जना गर्ने भनेको छ । तर विगत १० वर्षमा रोजगारीका लागि नेपालबाट बाहिरिनेको तथ्याङ्क हेर्ने हो भनेचाहिँ यो डरलाग्दो नै छ ।

देश विकासका लागि मुख्य भूमिका खेल्ने बलवान उमेरका युवाहरू (१८ देखि ४५ वर्षसम्म) अहिले पनि विदेशमै छन् । वैदेशिक रोजगार विभागबाट लिइएको तथ्याङ्कमा सामान्य हेरफेर भए पनि त्यसमा खासै परिवर्तन भने भएको छैन । यो त भारतबाहेक अन्य मुलुकमा जाने युवाहरूको सूची हो । अझ भिसा लगाउनु नपर्ने भएकाले भारतमा हाल कति युवाहरू काम गरिरहेका छन्, त्यसको तथ्याङ्क नेपाल सरकारसँग पनि छैन । भनिन्छ, भारतमा पनि करिब १० लाख युवाहरू रोजगारीका लागि पसिना बगाइरहेका छन् ।

भारतसहित अन्य देशमा गएर पसिना बगाइरहेका युवाहरूको तथ्याङ्क हेर्ने हो भने काम गर्ने उमेरका आधा जनसङ्ख्या त रोजगारीका लागि विदेशी भूमिमै पसिना बगाइरहेका छन् । बाँकी झण्डै दोब्बर जनसङ्ख्या त्यही विदेशी भूमिबाट आएको रेमिटेन्सको भरमा जीवन गुजारिरहेका छन् । नेपाली युवा पुस्ताहरू विदेशको विकास गरिरहेका छन्, देशमा भने पुनर्निर्माणका लागि आवश्यक जनशक्ति पाउनसमेत कठिन छ ।

गत वर्ष मात्रै अफगानिस्तानमा १४ सय ४२ नेपाली पुगे

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७५/७६ मा नेपालबाट १ हजार ४ सय ४२ जना युवायुवती रोजगारीका लागि अफगानिस्तानमा पुगेका छन् । पटक पटक आतङ्कावादी गतिविधि भइरहने र केही वर्षअघि मात्रै ८ जना नेपालीहरूको हत्या भएकाले सरकारले अफगानिस्तानमा जान कडाइ गर्ने भनेको थियो । तर गत वर्षको तथ्याङ्क हेर्दा भने त्यसमा कुनै कडाइ भएको देखिँदैन ।

गत वर्ष नेपालबाट रोजगारीका लागि भन्दै जम्मा १ हजार ४ सय ४२ युवाहरू अफगानिस्तान पुगेका छन् । तीमध्ये १ सय ३३ जना रोजगारदाता कम्पनीमार्फत् गएका छन् भने १ हजार २ सय ७५ जना व्यक्तिगत श्रम स्वीकृति बनाएर गएका छन् । व्यक्तिगत श्रम स्वीकृति बनाएर जाने १ हजार २ सय ७५ जनामध्ये १ जना महिला पनि छिन् ।

मलेसियामा सबैभन्दा बढी

नेपालबाट वैदेशिक रोजगारीका लागि बाहिर जानेमध्ये ३० प्रतिशतभन्दा बढी त मलेसिया मात्रै पुग्ने गरेका छन् । गत आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने १ लाख ४ हजार २ सय ९ जना युवाहरू रोजगारीका लागि मलेसिया पुगेका छन् । उनीहरूमध्ये ९९ हजार ९ सय ८३ जना पुरुष र २ हजार ९ सय ९६ जना महिला रोजगारदाता कम्पनीमार्फत् मलेसियामा रोजगारीका लागि पुगेका छन् । त्यसैगरी व्यक्तिगत श्रम स्वीकृति लिई १ हजार २ सय ३० युवा मलेसिया पुगेका छन् । मलेसियामा गत आर्थिक वर्षमा ३ हजार ३७ जना महलिा रोजगारीका लागि पुगेका छन् ।

जोर्डन र पानामासम्म नेपाली कामदार

आर्थिक वर्ष २०७५/७६ को तथ्याङ्क हेर्ने हो भने नेपालबाट रोजगारीका लागि जोर्डन र इजरायलदेखि पनामासम्म युवाहरू पुग्ने गरेको भेटिएको छ । आर्थिक वर्ष २०७५/७६ मा १ हजार ९ सय ४४ जना युवा रोजगारीका लागि भन्दै जोर्डन पुगेका छन् । उनीहरूमध्ये १ हजार ५ सय १ जना महिला र ४ सय ४३ जना पुरुष रहेका छन् ।

त्यसैगरी गत आर्थिक वर्षमा १ सय १८ जना युवाहरू रोजगारीका लागि इजरायल पुगेका छन् । उनीहरूमध्ये ८३ जना महिला छन् भने पुरुषको सङ्ख्या मात्र ३५ जना रहेको छ । इजरायलमा अधिकांश महिला केयरगिभरका रूपमा घरेलु कामदार बनी जाने गरेका छन् ।

त्यसैगरी गत आर्थिक वर्षमा पनामामा पनि नेपाली युवाहरू रोजगारीका लागि पुगेको भेटिएको छ । आर्थिक वर्ष २०७५/७६ मा नेपालबाट ७८ जना युवाहरू रोजगारीका लागि पनामा पुगेका छन् ।

वार्षिक २० हजारभन्दा बढी महिला वैदेशिक रोजगारीमा

नेपालबाट रोजगारीका लागि जाने पुरुषहरूको सङ्ख्या अत्यधिक भए पनि पछिल्ला दिनमा महिलाहरू पनि रोजगारीका लागि विदेशिन थालेका छन् ।

रोजगारीका लागि नेपाली महिलाहरू मलेसिया, दुबई, कतार, साउदी अरब, ओमन, टर्की, रोमानिया, माल्दिभ्सलगायतका देशमा पुग्ने गरेका छन् ।

गत आर्थिक वर्षको तथ्याङ्क हेर्दा अफगानिस्तानमा १ जना, बहराइनमा ३ सय ३२, साइप्रसमा १४ सय १९, जर्मनीमा २ सय ५४ जना, इजरायलमा ८३ जना, जोर्डनमा १ हजार ५ सय १ जना, कुवेतमा १ हजार ६ सय २६ जना, मलेसियामा ३ हजार ३७ जना, मालदिभ्समा ५ सय ५४ जना, माल्टामा २ सय २८, ओमनमा ३ सय ६७, पोल्यान्डमा ४ सय २४, कतारमा ३ हजार ८ सय ६४, साउदी अरबमा १ हजार २४, टर्की ४ सय ७० र दुबईमा ६ हजार ५ सय ६४ जना महिला पुगेका छन् ।

यो तथ्याङ्क हेर्दा नेपाली महिलाहरू पछिल्लो दिनमा दुबईमा बढी जाने गरेको पाइएको छ ।  

कुन आर्थिक वर्षमा कति विदेशिए

हेर्नुहोस् सरकारी तथ्याङ्क

घट्दैछ विदेशिनेको सङ्ख्या

विगत १० वर्षको तथ्याङ्क केलाउँदा विगत ५ वर्षको अवधिमा भने विदेशिने युवाहरूको सङ्ख्यामा केही कमी आएको छ । यद्यपि देशमा रोजगारीको अवस्था मात्रै नभएर यहाँ विविध पाटेले काम गरेको पाइन्छ ।

आर्थिक वर्ष २०६५/६६ मा जम्मा २ लाख १९ हजार ९ सय ६५ जना युवा विदेशिएका थिए । तर त्यसको ५ वर्षपछि अर्थात् आर्थिक वर्ष २०७०/७१ मा नेपालबाट रोजगारीका लागि बाहिरिने युवाको सङ्ख्या ५ लाख २७ हजार ८ सय १४ जना पुग्यो । ५ वर्षको अवधिमा विदेश जाने युवाको सङ्ख्यामा १ सय ४० प्रतिशतले वृद्धि भयो ।

तर आर्थिक वर्ष २०७०/७१ पछि भने बिस्तारै त्यो सङ्ख्यामा कमी आउन थालेको छ । आर्थिक वर्ष २०७१/७२ मा ५ लाख १२ हजार ८ सय ८७ जना नेपाली रोजगारीका लागि विदेश पुगेका छन् ।

त्यसैगरी आर्थिक वर्ष २०७२/७३ मा ४ लाख १८ हजार ७ सय १३ जना, २०७३/७४ मा ३ लाख ८३ हजार ४ सय ९३ जना तथा आर्थिक वर्ष २०७४/७५ मा ३ लाख ५४ हजार ८२ जना युवाहरू विदेशिएका छन् । यो तथ्याङ्क हेर्दा विगत ४ वर्षमा रोजगारीका लागि विदेशिनेको सङ्ख्यामा केही कमी आएको देखिन्छ ।

गत आर्थिक वर्षमा कुन देशमा कति युवाहरू रोजगारीका लागि गए । हेर्नुहोस् विस्तृत विवरण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप