शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् नेपाली चलचित्र क्षेत्र हाँक्न सक्ने १० कलाकार

आइतबार, २७ साउन २०७५, १३ : ५८
आइतबार, २७ साउन २०७५

आज ‘१९औँ अन्तर्राष्ट्रिय युवा दिवस’ आजको दिन प्रायः तिनै युवाहरूको चर्चा गर्ने गरिन्छ, जसको सङ्घर्ष र सफलताको कथाले धेरैलाई प्रेरणा मिल्छ । युवा दिवसकै अवसर पारेर हामीले चलचित्र क्षेत्रका ती युवा कलाकारको चर्चा गर्न खोजेका छौँ, जो चलचित्र क्षेत्रमा राम्रो सम्भावनासहित भित्रिएका छन् र जसले भोलिका दिन अभिनयमार्फत चलचित्र क्षेत्रको लिड गर्न सक्ने सम्भावना छ । 

हिरो
अनमोल केसी 

अनमोल पछिल्लो समयका एक त्यस्तो स्टार हुन् जसको चलचित्र निर्माण घोषणा समयदेखि दर्शकले चासो देखाउने गर्दछन् । ‘होस्टल’ चलचित्रबाट अभिनयमा डेब्यु गरेका केसी युवायुवतीका डुकढुकी पनि हुन् । युवापुस्ताका कलाकारमध्ये बिकाउ अभिनेता पनि हुन् अनमोल । वर्षमा एक मात्र चलचित्र अभिनय गर्ने उनको ‘गाजलु’, ‘ड्रिम्स’लगायतका हिट छन् । गत वर्ष प्रदर्शनमा आएको ‘कृ’ले भने दर्शकको मन छुन सकेन । उनी अहिले ‘क्याप्टेन’ अभिनयरत छन् । उनकै बुबा भुवन केसीको निर्माण रहेको ‘क्याप्टेन’पछि उनले अभिनेत्री झरना थापाको ‘ए मेरो हजुर ३’ अभिनय गर्नेछन् । यो चलचित्र अभिनयका लागि उनले ५० लाख पारिश्रमिक लिएको चर्चा केही पहिले चलेको थियो ।

प्रदीप खड्का 
चकलेटी अनुहारका अभिनेता प्रदीप पनि युवा युवतीको ढुकढुकी हुन् । लगातार हिट चलचित्र दिइरहेका प्रदीपका लागि निर्माता निर्देशकप्रति चलचित्र ४० लाख तिर्नसमेत तयार देखिएका छन् । ‘प्रेम गीत, ‘प्रेम गीत २’ र ‘लिलिबिली’ जस्ता लगातार सफल चलचित्र दिएका प्रदीपको अर्काे चलचित्र ‘रोजी’ २२ भदौबाट प्रदर्शनमा आउँदैछ । उनी नायक निर्माता तथा वितरक गोविन्द शाहीसँग मिलेर एक चलचित्र ‘लभ स्टेसन’ बनाउने तयारीमा छन् । यस चलचित्रमा पनि उनले ‘लिलिबिली’ अभिनेत्री जसितासँग रोमान्स गर्ने छन् । यस अगाडि उनले ‘भैरवी’ चलचित्र अभिनय गर्ने चर्चा छ ।

सलिमान बाँनिया 
सलिमान चलचित्र क्षेत्रले आस गरेका अर्काे हिरो हुन् । ‘ए मेरोे हजुर–२’ बाट अभिनयमा डेब्यु गरेका सलिमानको पहिलो चलचित्र नै हिट सावित भयो । चलचित्र चलेपछि उनी रातारात चर्चित मात्र बनेन्, डिमान्डका हिरोसमेत भए । पहिलो चलचित्रबाटै दर्शकमा धेरै क्रेज बनाउन सफल उनी युवायुवतीका मनपर्ने हिरो पनि हुन् । उनी अहिले निर्माता केशव भट्टराईको चलचित्र ‘यात्रा’ अभिनयरत छन् । उनका लागि पनि निर्माता निर्देशक भनेजति रकम खन्याउन तयार देखिन्छन् । 

पल शाह  
पल पनि धेरै फ्यान फलोअर्स भएका हिरो हुन् । म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेका पलले चलचित्रमा भने त्यति कमाल देखाउन सकेका छैनन् । ‘नाइँ न भन्नु ल–४’ बाट अभिनयमा डेब्यु गरेका पलका ‘म यस्तो गीत गाउँछु’, ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ लगायत चलचित्रसमेत बाहिर आए । तर भनेजस्तो सफलता उनको हात लाग्न सकेन । अहिले पनि लगातार भ्युजिक भिडियो अभिनय गरिरहेका पल पारिश्रमिकको रेट उच्च बनाएर बसिरहेका छन् । चलचित्र हात पर्न बाँकी छ ।
आकाश श्रेष्ठ 
आकाश पनि युवापुस्ता मध्येमा आस गरिएका कलाकार हुन् । मोडलिङ हँुदै अभिनयमा डेब्यु गरेका उनको पहिलो चलचित्र ‘म त तिम्रै हुँ’ हो । राम्रो लुक्स भएका कारण पनि उनी लगातार चलचित्र पाउन सफल छन् । उनको अभिनय रहेको ‘तिमीसँग’ केही पहिले प्रदर्शनमा आएको थियो तर सफल हुन सकेन । उनी अभिनित तीन चलचित्र ‘ब्ल्याक’, ‘रामकहानी’ र ‘ड्रिम गर्ल’ प्रदर्शनको तयारीमा छ । ‘ब्ल्याक’ त आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । 

हिरोइन  
साम्राज्ञी राज्यलक्ष्मी शाह :

पछिल्लो समयकी सबैभन्दा डिमान्डकी हिरोइन् हुन् साम्रज्ञी । उनको अहिले प्रदर्शनरत चलचित्र ‘कायारा’का लागि १० लाख पारिश्रमिक लिएकी थिइन् । यसको आधारमा उनलाई महँगी अभिनेत्रीको रूपमा पनि चर्चा गर्न थालिएको छ । ‘ड्रिम्स’ चलचित्रबाट अभिनयमा डेब्यु’ गरेकी साम्राज्ञीको  ‘ड्रिम्स’पछि अर्काे सफल चलचित्र ‘एक मेरो हजुर २’ हो । उनले ‘तिमीसँग’ चलचित्रबाट भने सफलता हात पार्न सकिनन् । प्रदर्शनको तयारीमा रहेको ‘इन्टु मिन्टु लन्डनमा’की समेत अभिनेत्री साम्राज्ञीका लागि निर्माता १५ लाखसम्म दिन तयार देखिएका छन् ।्

दीपिका प्रसाईं :
दीपिका ‘ऐश्वर्या’ चलचित्रकी अभिनेत्री हुन् । यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेकी उनी दर्शकको रोजाइमा पर्नसमेत सफल भइन् । उनी पछिल्लो समय उदाएकामध्ये आस गरिएकी अभिनेत्री पनि हुन् । ‘ऐश्वर्या’बाट सफलताको झण्डा गाड्न सफल उनी अहिले सर्वाधिक चर्चामा रहेको चलचित्र ‘छक्का पन्जा ३’मा देखिँदै छिन् ।
 
आँचल शर्मा :
आँचल पनि धेरै फ्यान फलोअर्स भएकी अभिनेत्री हुन् । म्युजिक भिडियो हँुदै ‘नाइँ न भन्नु ४’ बाट अभिनय डेब्यु गरेकी उनको डेब्यु चलचित्र भने सफल हुन सकेन । त्यसपछि ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’मा उनी देखिएकी थिइन् । आँचल अभिनित सफल चलचित्र ‘शत्रु गते’ हो । तर सफलताको श्रेय भने उनले पाइनन् । उनको अर्काे चलचित्र ‘ब्ल्याक’ आगामी शुक्रबार देशभर प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा उनले आकाश श्रेष्ठसँग रोमान्स गरेकी छन् । अभिनेता पल शाहसँग चलचित्र र म्युजिक भिडियो जोडी बाँधिएर देखिने गरेकी आँचल प्रायः पलसँगको सम्बन्धका कारण चर्चामा छाउँने गर्दछिन् । 

सारा सिर्पाली :
सारा पछिल्लो समय अभिनयमा भित्रिएकी अभिनेत्री हुन् । धेरै चलचित्र त अभिनय गरेकी छैनन् साराले । तर उनी दर्शकको नोटिसमा भने पर्न सफल छिन् । एक्सनस्टार निखिल उप्रेती अभिनित ‘रुन्द्र’ चलचित्रबाट अभिनयमा भित्रिएकी साराले पहिलो चलचित्रबाट राम्रो चर्चा पाइन् । तर ‘रुन्द्र’ व्यावसायिक सफल हुन सकेन । त्यसपछि निखिलकै अर्काे चलचित्र ‘पीडा ब्याक अगेनमा’ देखिएकी उनले यसबाट पनि सफलता हात पर्न सकिनन् । उनको अभिनयको भने चौतर्फी तारिफ भयो । सारा अहिले पत्रकार निर्देशक सुब्रत आचार्यको चलचित्र ‘सुश्री सम्पत्ति’मा देखिँदै छिन् । केही म्युजिक भिडियोसमेत अभिनय गरेकी साराको ‘सुश्री सम्पत्ति’ लुकको अहिले चलचित्र क्षेत्रमा चर्चा छ । 

जसिता गुरुङ :
जसिता केही पहिले प्रदर्शित अभिनेता प्रदीप खड्का अभिनित ‘लिलिबिली’बाट चलचित्र क्षेत्र भित्रिएकी हुन् । पोखरामा जन्मिए पनि यूकेमा हुर्के बढेकी उनको ‘लिलिबिली’ अभिनय दर्शकले निकै रुचाए । पहिलो चलचित्रबाटै दर्शकको रोजाइमा पर्न सफल उनी अहिले यूकेमै छिन् । केही पहिले घोषणा भएको काफिया फिल्मसले निर्माण गर्न लागेको चलचित्र ‘लभ स्टेसन’मा समेत उनको अभिनय रहने छ । अमेरिका र नेपालका विभिन्न स्थानमा छायाङ्कन हुने, उज्ज्वल घिमिरेको निर्देशन रहने ‘लभ स्टेसन’मा उनको प्रदीपसँगै रोमान्स रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप