शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साँच्चैको सस्तो समता स्कुल

शनिबार, २६ साउन २०७५, २० : ०८
शनिबार, २६ साउन २०७५

सय रुपैयाँ ।
कत्तिका लागि हातको मयल होला ।

कत्तिका लागि त्यति जुटाउन धौ–धौ पनि हुनसक्छ । 

एकसय रुपैयाँ भयो भने तपाईं के गर्न सक्नुहुन्छ ? 

कतिले भन्नुहोला, ‘मुस्किलले एकपटकको खाजा खान पुग्छ ।’ 

एकपटक खाजा खान पुग्ने रुपैयाँले समता स्कुलमा कक्षा एकदेखि स्नातकोत्तरसम्म अध्ययनरत विद्यार्थीलाई महिना दिनको शुल्क बुझाउन पुग्छ । समतामा अध्ययनरत विद्यार्थीले मासिक सय रुपैयाँमा पढ्न पाउँछन् । 

नेपालका ७७ जिल्लाबाहेक श्रीलंका, बंगलादेश र भारतमा समेत समता स्कुल सञ्चालनमा छन् । ‘निम्नआयस्तर भएकाको छोराछोरी नै समतामा पढ्ने हुन्,’ समता स्कुल संयोजक सुशील अधिकारीले सुनाए, ‘केही समययता सबै खालका विद्यार्थी पढ्न आउँछन् । तर पनि सम्पन्नका छोराछोरी आउँदैनन् । प्रतिष्ठाका लागि पनि सम्पन्नले समतामा पढाउँदैनन् । मेरा छोराछोरी समतामा पढ्छन् भनेर गौरव गर्दैनन् । अपवादबाहेक यहाँ गलैंचा बुन्ने, ज्याला–मजदुरी गर्नेका छोराछोरी पढ्छन् ।’

समता स्कुलमा अध्ययन गर्ने विद्यार्थी सालिन्दा बढिरहेका छन् । यसपटक १० कक्षामा चार सय बढी विद्यार्थी अध्ययनरत छन् । ‘अभिभावकलाई धन्यवाद दिन्छु,’ संयोजक अधिकारीले गौरव गरे, ‘अभिभावकले हामीलाई विश्वास गरेर विद्यार्थी नपठाए डेस्क, बेन्चलाई पढाउन मिल्दैन । बाँसबाट निर्मित कक्षाकोठालाई पढाउनुको अर्थ छैन ।’ 

१० कक्षामा अध्ययनरत समताका विद्यार्थी बिहान सातदेखि बेलुका ६ बजेसम्म स्कुलमै बिताउने गर्छन् । एसईई तयारी गर्नुपर्ने भएकाले उनीहरूले ११ घन्टा विद्यालयमै बिताउँछन् । कक्षा एकदेखि ९ सम्मका विद्यार्थी भने १० देखि ५ बजेसम्म विद्यालयमा रहन्छन् । ‘समतामा अध्ययनरत पढ्ने र नपढ्ने विद्यार्थीलाई एउटै कक्षामा राखिँदैन,’ उनले थपे, ‘पढ्ने र नपढ्ने विद्यार्थी छुट्ट्याउनुहुँदैन भन्छन् । तर, त्यसो गरे अभिशापजस्तै हुन्छ । नपढ्ने विद्यार्थीले पढ्नेलाई डिस्टर्ब गर्छन् । नपढ्नेलाई पढ्नेसँग राखिदिए राम्ररी पढिदिन्छ । तर, त्यसो होइन । नपढ्नेले पढ्नेलाई दुःख दिन पाउँदैन । पढ्नेको काम नपढ्नेलाई सिकाउनु पनि होइन ।’

पढ्ने र नपढ्नेलाई एउटै कक्षामा राख्दा शिक्षकलाई पनि समस्या हुन्छ । शिक्षकले कक्षाकोठा प्रवेश गरिसकेपछि गाह्रो–गाह्रो पढाउने कि सजिलो । सजिलो पढाउँ जान्नेलाई फलदायी हुँदैन । गाह्रो पढाउँ गणितका सूत्रसम्म थाहा नहुने विद्यार्थीलाई ध्यान दिएर पढाउँ जान्नेलाई त्यत्तिकै असजिलो हुन्छ । ‘तर, कक्षा छुट्ट्याइयो भने पठनपाठनका लागि सहज हुन्छ,’ उनले थपे, ‘म त्यस्तो कक्षामा जाँदै छु भनेर प्रस्ट भएपछि शिक्षकलाई पठनपाठनका लागि सजिलो हुन्छ ।’ सम्बन्धित कक्षाका विद्यार्थीको पहिलो परीक्षाको नतिजा सार्वजनिक भएपछि क्षमताअनुसारका विद्यार्थीलाई छुट्टाछुट्टै कक्षामा राखिन्छ ।

यसपटक समता स्कुलबाट १ हजार ५०७ जनाले एसईई उत्तीर्ण गरेका थिए । काठमाडौंबाट मात्रै ४५७ जना उत्तीर्ण भएका हुन् । १ हजार ५०७ जनामध्ये दुई सयजनाभन्दा बढीले ‘ए प्लस’ ल्याएका थिए । 
यो कसरी सम्भव भयो ?

‘विद्यार्थीले नपढी सुखै छैन । उसले लेख्नुपर्छ । नलेखी हुँदैहुँदैन,’ उनी गौरवान्वित देखिए, ‘त्यसपछि शिक्षकशिक्षिकाको हात हुन्छ । अभिभावकको पनि त्यत्तिकै हात हुन्छ । सबै कुरा नमिली हुँदैहुँदैन । सबैभन्दा बढी भूमिका विद्यार्थीको हुन्छ । विद्यार्थीले नलेखी हुँदैहुँदैन । उनीहरूले लेखिदिए त अन्यले जस पाइने हो ।’ 

त्यतिमात्रै कहाँ हो र, विद्यार्थीले भनेका कुरा अभिभावकले नपुर्याइदिने हो भने त्यो पनि सम्भव छैन । आफूसँगैको डेस्क–बेन्चमा बस्नेले राम्रो कापीमा राम्रो कलमले लेख्दा अर्काले त्यस्तो सुविधा पाएन भने पढाइमा ध्यान जाँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप